Friday, December 30, 2011

गजल - 'हो बहुमुल्य...'

हो बहुमुल्य सत्कर्मबाट खारेको जिन्दगी ।
बेकम्मा हुन्छ आफु आफैमा हारेको जिन्दगी ।

कस्ले देख्यो र स्वर्ग र नर्क? मान्य हुन केवल
धन्य त्यो हुन्छ दैत्य चरित्र बारेको जिन्दगी ।

रगत रातो आत्मा छ उस्तै हो जात मनुस्य
हुन्छ चिरायु सबैको साथ नारेको जिन्दगी ।

काटेर प्राणी हत्याइ देह नबनौं भक्षक
प्रकृतिलेनै उच्च वर्गमा पारेको जिन्दगी ।

हुन्छ सार्थक खडेरी पर्दा   व्युँताइ जिवन
निर्वल माथी शीत भै' तप्प झारेको जिन्दगी ।



आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Sunday, December 25, 2011

गजल - 'स्वार्थी भगवान्...'

भोकै बसी तिम्रो पूजा गर्नु पर्ने स्वार्थी भगवान् ।
धर्मै पिच्छे अनेकौं रुप धर्नु पर्ने स्वार्थी भगवान् ।
 
जे जे सोच्यो हुन्छ भने किन खोज्छौ आफ्नो महीमा
पाऊ परि संधै तिम्रो मर्नु पर्ने स्वार्थी भगवान् ।
 
सक्छौ भने दुस्टका ती मनलाई पगाली देउ
किन तीनको निसानामा पर्नु पर्ने स्वार्थी भगवान् ।
 
तिमिलाई पुकारेर पूर्ण आयु खेर फ्याँकी यो
आफूलाई धर्मातिमा दर्नु पर्ने स्वार्थी भगवान् ।
 
अशक्तको लौरी बन्नु धर्म हो की तिम्रो पूजा पाठ
धुप हाली तिम्रो उदर भर्नु पर्ने स्वार्थी भगवान् ।
 
उदर:-  पेट
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Friday, December 16, 2011

गजल - 'बनचरीको जालमा परी...'

बनचरीको जालमा परी मनचरी फुकाएँ ।
आफै भित्र रै'छ विश्व नियाल्न चुकाएँ ।
 
खोले सिस्नु खाए पनि पुर्ख्यौली हाँसो थ्यो 
भित्र रोइ आज आँशु गहमै सुकाएँ ।
 
शिशिर पनि टार्न सक्थ्यो टालेको दौराले
नयाँ खोज्दै विदेशिंदा ठाडो शिर झुकाएँ ।
 
मेरो छुट्टै वेग थियो प्रकृतिले दिएको
पत्थर् बनी आज हेर आफैले रुकाएँ ।
 
घर छोडी छानो चुह्यो भत्कियो चौघेरो
यहाँ बसी सम्झिएर व्यर्थै मन दुखाएँ ।
 
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Friday, December 9, 2011

गीत - 'मेरो नयाँ बसन्त...'

मेरो नयाँ बसन्त अतित बोकी आएछ ।
सँग सङ्गै बुढ्यौलीको रङ्ग घोली आएछ ।
 
 
सिउँडी र सुनाखरी कैयौं पल्ट फुल्दा पनि
के हो जीवन् चिनिएन जवानी यो ढल्दा पनि
प्राण प्यारी धर्ती माता पुर्खौं देखि बचायौ
मलाइ नी' जन्माएर यै छातीमा नचायौ
विधाताको विधान कस्तो? आएपछि जानै पर्ने
आँशु हाँसो घोली संधै बाँच्नलाई खानै पर्ने
मेरो नयाँ बसन्त.....................................
 
 
ए पहाडका भित्ताहरु एक चोटि हाँसन
म त एसै डुब्न लागें थोरै माया गाँसन
साउने झरीको चुटाइमा नी' मौन छौ
चैत मासे हुरीको सेकाइमा नी' मौन छौ
कति युग बाँच्ने हो? एक चोटि बोलन
म डुब्नु अगाबै मनको कुरा खोलन
 
 
मेरो नयाँ बसन्त अतित बोकी आएछ ।
सँग सङ्गै बुढ्यौलीको रङ्ग घोली आएछ ।
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Tuesday, November 29, 2011

गजल - 'पूर्ण समर्पण...'

पूर्ण समर्पण आज दर्शायो तिम्रो चिठ्ठीले ।
हर्षको प्याला साँच्चै बर्सायो तिम्रो चिठ्ठीले ।
 
विछोडिदाको वेदना खपी दुखेको मेरो
घाइते मुटु सद्दे बनायो तिम्रो चिठ्ठीले ।
 
कोपिला थियौ फुलेछौ ऐले बास्ना फैलाई
कता हो कता उमङ्ग छायो तिम्रो चिठ्ठीले ।
 
जवानी साँची मायाले डाक्दा यो र्हिदयमा
आशाको नयाँ दियो सल्कायो तिम्रो चिठ्ठीले ।
 
आउँछु फर्की सजाइ राख हाम्रो चौतारी
नौलो बिहानी बाटो खुलायो तिम्रो चिठ्ठीले ।
 
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ

गजल - 'प्रभातको आकाशझैँ...'

प्रभातको आकाशझैँ खुलेको छ मेरो जवानी ।
मार्सी धान झुले जस्तै झुलेको छ मेरो जवानी ।
 
धेरै भयो प्रवाशमा फर्की आउ मेरो पियारा
तिमी गा'को क्षितिजमै घुलेको छ मेरो जवानी ।
 
तिमी बिना अपुरो छ रागे ढुङ्गा हाम्रो चौतारी
विरहमै लेक बेंसी डुलेको छ मेरो जवानी ।
 
अध्यारो यो जिन्दगीमा रश्मी बनी आउ चुमेर
उजेलीको रहरमै भुलेको छ मेरो जवानी ।
 
कोपिलामै छाडी गयौ उपरान्त आइ समाल
सयपत्री फुले जस्तै फुलेको छ मेरो जवानी ।
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Sunday, November 27, 2011

गजल - 'प्रयोग बिना...'

प्रगोग बिना सिद्दान्तको पढाई के हुन्छ र ।
कलमको युगमा खुकुरीको लडाइँ के हुन्छ र ।
 
प्रतिपादन गर्नेले नै गरे पछि उल्लङ्घन्
जनतामा प्रणालीको कडाइ के हुन्छ र ।
 
कर्म गरे सुख मिल्ने बिर्सिएर यथार्थ
जन्तु मारी रगत बली चढाइ के हुन्छ र ।
 
यात्रा गर्नु भन्दा पै'ले नतोकिनै गन्तव्य
बेसुरैमा यात्रा अघि बढाइ के हुन्छ र ।
 
अजम्बरी भैसकेको राष्ट्र पाले शहिदको
प्रतिमामा अगरबत्ती डढाइ के हुन्छ र ।
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ
 
नोट:-  घायलको तरही मुसायरा भाग २५ को आधारमा रचित गजल ।

Saturday, November 19, 2011

गजल - "माया बुन्ने शिल्पी हात..."

माया बुन्ने शिल्पी हात माग्या थिएँ तिमीसँग ।
जवानीको थोरै मात माग्या थिएँ तिमीसँग ।
 
सामिप्यमा रहि अब बाँकी यात्रा गरौं भन्दा
"हुन्छ" भन्ने एकै बात माग्या थिएँ तिमीसँग ।
 
हिमालको सेरोफेरो दौँतरीको रस घोली
रमौं भनि तिम्रो साथ माग्या थिएँ तिमीसँग ।
 
बनावटी हाँसो हैन प्रकृतिले सिर्जिएको
चाँदनीको नौलो रात माग्या थिएँ तिमीसँग ।
 
आज एक्लै छोडी जाँदा भन्न बाध्य भएको छु
जिन्दगीमा घातै घात माग्या थिएँ तिमीसँग ।
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ 
 
नोट:- घायलको तरही मुसायरा भाग २४ को आधारमा रचित गजल । 

Sunday, November 13, 2011

गजल - "दिन रात के कुरा..."

दिन रात के कुरा भो आखिर दुवै ढल्नु पर्छ ।
ढलेका ती दिन रात सँगै मान्छे चल्नु पर्छ ।

जिन्दगीको पखेरोमा ऐसेलुको बोट जस्तै
रमाएर रस हाली काँडा बीच फल्नु पर्छ ।

बाँचुन्जेल लुछा छाडी द्रव्य माथी सुते पनि
मरे पछि खाली हात चीता माथी जल्नु पर्छ ।

हात पर्ने फुत्की जाने दौलतको के भरोसा
सन्ततीले गरि खान्छन् बरु राष्ट्र मल्नु पर्छ ।

एक मरे हजारले देख्छन् भने सत्य मार्ग
ज्योति दिन आँफै जली दियो जस्तै बल्नु पर्छ ।

पसिनाको खेती गरे अजम्बरी बाली पाक्छ
साहशले संघर्षमा आँधी हुरी छल्नु पर्छ ।


आनन्द भट्टराई "गाउँले"

गजल - "बाचा गरी..."

बाचा गरी मेल भयो ।
फेरि आज झेल भयो ।

तिम्रो माया पिना यहाँ
अरु तिर तेल भयो ।

स्वतन्त्रता पुज्य प्रेम
यथार्थमा नेल भयो ।

त्यो बैंश त मेरो लागि
कागलाई बेल भयो ।

जुनी काट्न भनि ला'को
माया आज खेल भयो ।


आनन्द भट्टराई "गाउँले"

नोट:- घायलको तरही मुसायरा भाग २३ को आधारमा रचित गजल । 

Sunday, November 6, 2011

गजल - "नशालु त्यो मधुरिमा..."

नशालु त्यो मधुरिमा तोडे हुन्छ अब ।
संजीवनी भेटे पनि छोडे हुन्छ अब ।

जवानीको पुष्पकुन्ज हराभरा देख्छु
विधिमान्य घुम्टो तिम्ले ओडे हुन्छ अब ।

सदिच्छाको भकारी छ आफन्तको मेरा
नगरिमा आइ नाता जोडे हुन्छ अब ।

कालगती रोकिंदैन बुझ्नु पर्छ संधै
र्हिदयका दुविधा ती गोडे हुन्छ अब ।

बिस्कुन सरी सुकेपछी बौरिंदैन बैंश
तिम्रो सोच विचार त्यो मोडे हुन्छ अब ।

 कालगती = समयको गती 

आनन्द भट्टराई "गाउँले"


नोट:- घायलको तरही मुसायरा भाग २२ को आधारमा रचित गजल । 

Saturday, October 22, 2011

गजल - "भाइटीका पर्खुँ भने..."

भाइटीका पर्खुँ भने छुट्टी मेरो छोटो थियो ।
वर्सै पिच्छे यस्तो खेप्ने कर्मै मेरो खोटो थियो ।
 
मखमली सयपत्री फुलबारिमा हाँस्दा पनि
टुलु टुलु हेर्न विवश मैले छाड्या भोटो थियो ।
 
सप्त रङ्गी टीका मेरो निधारमा हुने बेला
दिदीको त्यो उपहार सम्झनामा फोटो थियो ।
 
बाहिर म हाँसे पनि भित्र बसी पोलिर'ने
साहुको त्यो बोली अनी ऋणको रकम मोटो थियो ।
 
प्रवासमा नजाउँ त वर्स दिनमा आर्जिएर
आधा वर्स खान पुग्ने ढिंडो अनी रोटो थियो ।
 
 
नोट:- घायलको तरही मुसयरा भाग २१ को आधारमा रचित गजल ।
 
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ       

Sunday, October 16, 2011

गजल - "एकान्तको फूलबारीमा"

 
एकान्तको फूलबारिमा फुली रहेछु ।
कै'ले लाग्छ तिम्रै छेउ भुमी रहेछु ।
 
भावनामा आँचल पक्री प्रेम दर्शाइ
गाजल बनी नयन तिम्रा चुमी रहेछु ।
 
हिंडेथें म बादलुको घुम्टो ओढाइ
आज फेरि सामिप्य दिन गुनी रहेछु ।
 
भञ्ज्याङ पनि हाँस्दैन नी तिमी नहुँदा
एक्लै बसी मनको बाढी थुनी रहेछु ।
 
सागर भेट्न बगी जाने गंगा बगेझैं
फाटेको मन विरहमा तुनी रहेछु ।
 
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ

Saturday, October 15, 2011

गजल - "सँधै नै खुशी हौ"

 
पालेर तिमी इच्छाको पोको सँधै नै खुशी हौ ।
म हुँदा पनि मायाको भोको सँधै नै खुशी हौ ।
 
कल्पिंदै तिम्रो नाग्वेली मैले साउने झरीमा
प्रितीको भारी बोक्दा'नी डोको सँधै नै खुशी हौ ।
 
चाहान्छौ जहाँ त्यहींनै फुल्ने बैंसालु फूल हुँ
स्वीकारी अब जवानी चोखो सँधै नै खुशी हौ ।
 
मिर्मिरमै झुल्की आउँछु पर्ख रश्मी भै' चुम्न म
पुर्याइ दिन्छु मायाको धोको सँधै नै खुशी हौ ।
 
नभए स्वीकार सिङ्गार्न तिम्रो प्रितीको आलय
म बनी दिएँ बलीको बोको सँधै नै खुशी हौ ।
 
नोट:-  घायलको तरही मुसयरा भाग २० को आधारमा रचित गजल ।       
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ

Saturday, October 8, 2011

गजल - 'अधुरो यात्राको'

अधुरो यात्राको भएँ म यात्री ।
आशा छ अझै'नी मिल्छ की दात्री ।

अद्रिश्य पवन पक्कै छ साथमा
बढ्नेछु अघाडी भए'नी रात्री ।

यो भूमी बाटनै नास्नेछु अब
जन्मने छैनन वैरिका भात्री ।

अर्पेर जिन्दगी राष्ट्रमा मेरो
गर्नेछु सेवा म भएर धात्री ।

सपुत हुनेछु परन्तु हेर
मरेर यहाँ म बाँच्नेछ मात्री ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

Monday, October 3, 2011

गजल - "बहुरुपी जिन्दगीको"

बहुरुपी जिन्दगीको धेरै कथा सुने मैले ।
छानी छानी त्यहींबाट  संघर्षनै चुने मैले ।

लाज ढाक्ने जाडो छेक्ने वश्त्र विना शिशिरमा
टुक्रा टुक्रा टालाहरु बटुलेर तुने मैले ।

कहालिंदो भाग्य देखि मुटु मेरो भक्कानिदा
टिलपिल आँशुहरु बल गरि थुने मैले ।

दैव पनि मेरै थाप्लो टेकी सधैं हाँसीदिंदा
व्याथाहरु टुक्रा पारि झीरभरी उने मैले ।

बज्रिएका बज्रहरु आँखा चिम्ली सहेरनै
बल्ल आज दु:ख छेक्ने तार जाली बुने मैले ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "चाहान्छौ"

दौँतरीको मुना तिमी छास्न चाहान्छौ ।
मायालाई धुलो सँग जाँच्न चाहान्छौ ।

भुलेर यो यथार्थता मर्ने चोलाको
सानो गल्ती जुनिभरी साँच्न चाहान्छौ ।

परेवीझैँ बाचौँ भनि माया लाएथें
फेरि आज माया व्रिक्ष भाँच्न चाहान्छौ ।

वेदनाले मुर्छा पर्दा तिम्रै सामुन्ने
पछि फर्की खित्का छोडी हाँस्न चाहान्छौ ।

सोधुँ सोधुँ लाग्न थाल्यो अब करैले
म बिना के तिमी एक्लै बाँच्न चाहान्छौ ?

नोट:- 'घायल'को तरही मुसयरा भाग १९ को आधारमा रचित गजल ।


आनन्द भट्टराई "गाउँले"
    

गजल - 'जिन्दगी'

दु:खको पहाड फेदैमा कप्न सक्ने पो जिन्दगी ।
घाम र पानी पत्थरझैँ खप्न सक्ने पो जिन्दगी ।

जन्जिरको बाटो जतिनै लामो भए'नी के भो र
नखाइ हरेस साहश थप्न सक्ने पो जिन्दगी ।

पाउन पुण्य अर्को जुनिमा नगरी कोटी होम
कर्तव्य विधी युक्तीले जप्न सक्ने पो जिन्दगी ।

सिरेटो खाइ शिशिर यामको औंशीको रातमा
पिपलुबाट दुबोमा तप्न सक्ने पो जिन्दगी ।

पसिना विवेक छरेर यहाँ कर्मको रेखामा
फुलाई फूल यो विश्व टप्न सक्ने पो जिन्दगी ।

आनन्द भट्टराई "गाउँले"

Wednesday, August 31, 2011

गजल - "सकुँ म"

यो देशमा भाइचारा छर्न सकुँ म ।
खडेरिमा वर्सा बनी पर्न सकुँ म ।

पोलिएका घाउ माथी मलम लगाइ
अशक्तको भोको पेट भर्न सकुँ म ।

 फाटेका ती दौरा फेरि हली दाईको
गरि खाने माटो दीइ टर्न सकुँ म ।

राष्ट्र सिँच्ने दायित्वको भारी बोकेर
सफलताको महासागर तर्न सकुँ म ।

रगत हैन विवेकको खोली बगाइ
राष्ट्र सेवी सपुत भै' मर्न सकुँ म ।

आनन्द भट्टराई "गाउँले"
खोटाङ

Wednesday, August 24, 2011

गजल - "भएँ"

आफ्नो लागि आफै आज ईतिहास भएँ ।
अरु जस्तै समयको एक गाँस भएँ ।

युगलाई जन्म दिन सकिन क्यै गरि
युगले पो जन्माएर सर्वनास भएँ ।

छैन भनुँ मक्किएको हड्डी छ जीउमा
आफै टेक्न नसकेर ज्युँदो लास भएँ ।

कस्तो दीन भोग्नु पर्‍यो सडक पेटिमा
फ्याँकिएको फोहोरझैँ एक र्हास भएँ ।

बन्धुत्वको खडेरीले सुके साहशको
शीत पीइ बाँच्छु भन्ने झिनो आश भएँ ।
 
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ

Wednesday, August 17, 2011

गजल - "गोधूलिमा गल्ली हुँदै...."

गोधूलिमा गल्ली हुँदै तर्केर आउ ।
र्हिदयमा चोखो प्रेम छर्केर आउ ।

जवानिमा बल्ने मेरो हुर्हुरे आगो
निभाउँने झरी बनि दर्केर आउ ।

प्रतिक्षामा बसुँला म बालेर दियो
दन्तलहर देखाउँदै लर्केर आउ ।

तिमी बिना कठ्याङ्ग्रिदा शिशिर याममा
घाम बनि मेघ चिर्दै चर्केर आउ ।

आज जहाँ भए पनि अतितको हाम्रो
माया फुल्ने चौतारीमा फर्केर आउ ।

आनन्द भट्टराई "गाउँले"

Thursday, August 11, 2011

गजल - "ला'ने बेलामा....."

ला'ने बेलामा ठुलो र सानो दैवले दाँज्दैन ।
दिएको आयु पूरा नगरी एक्कासी गाँज्दैन ।
 
पला'को मुना कर्दले तिमी छासेर हेर न
झन दर्हो बन्छ परन्तु रुख कसैले भाँच्दैन ।
 
मान्छे भित्रको मनकामना कोटिनै भए'नी
यथार्थ यस्तो खाने यो चरी आशिसले बाँच्दैन ।
 
जोगाइ बीउ उमारौं केही बनेर मानव
नभए कस्तो? पशु हेरौं न खान त्यो साँच्दैन ।
 
पालेर सर्प के भलो हुन्छ गुण तिर्छ डसेर
मौकामा उस्ले आफ्नो पराई कहिल्यै जाँच्दैन ।
 
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ

Sunday, August 7, 2011

गजल - "रुवायो"

यो मुटु चिरी छोडेर जाने पापीले रुवायो ।
नहुने पुरा इच्छाको मेरो ताँतीले रुवायो ।

रमाइ संगै ऐसेलु खा'को सम्झना ताजै छ
हिँजोको आजै बिरानो हुने साथिले रुवायो ।

लुटेर लाँदै खुशी उ संगै डुबाइ आँशुमा
क्षितिज काट्ने अधर्मी उस्को छातीले रुवायो ।

म बिना पनि पुग्यो की कुन्नी मलाइ पुगेन
बिचैमा छुट्या मायाको हाम्रो थाँतीले रुवायो ।

रगत थियो समान हाम्रो प्राणी थ्यौँ मान्छेनै
न छुन सक्ने न देख्न सक्ने जातीले रुवायो ।


आनन्द भट्टराई "गाउँले"

Friday, August 5, 2011

गजल - "चौबन्दी चोलीमा"

नयन मेरा अडिए सानी चौबन्दी चोलीमा ।
नशा छ कस्तो भुतुक्कै पार्ने मोहनी बोलीमा ।

हिमाली चिसो पानीमा खेल्दै हुर्केकी अबला
हेर्दैमा लाग्छ अप्सरा हौ की दौंतरी टोलीमा ।

ग्यान्था र चुवा चम्पा चमेली लाग्दछ तिमी हौ
स्वीकार भए आग्रह मेरो लान्थेंनी डोलीमा ।

प्रकृतिलेनै सिँचेर हो की सदैव रसिली
लाँदैछु आज सम्झना मिठो यो मनको झोलीमा ।

भाग्यमा भए आउँला फर्की सम्झेर अर्को साल
नभन्नु बरै लाहुरे जीवन छ एकै गोलीमा ।
 
 
आनन्द भट्टराई "गाउँले"

Sunday, July 31, 2011

गजल - "किन?"

सधैं मेरो झुपडीमा गीठ्ठा मात्रै पाक्छ किन ?
देखि देखि मेरै पेट मिठो मात्रै माग्छ किन ?

हर दिन पाखुरा यी बजाएर काम गर्छु
फेरि सधैं दुखियाको सुख छेउ लाग्छ किन ?

गरिबीको कुहिरोमा सामन्तीको धुइरोले
मरी मरी बाँचोस् भनी मेरै शीर ताक्छ किन ?

श्रम गर्ने मैले यहाँ फल मिल्छ अर्कोलाई
दैवले'नी मेरै भाग्य अङ्कुशेमा जाक्छ किन ?

आँशु पोखी यो धर्तिमा बाँच्ने चाह छैन अब
बोलाउँछु मृत्‍युलाई फेरि टाढा भाग्छ किन ?

आनन्द भट्टराई "गाउँले"

* मैले वास्तविक जीवनमा देखेका केही मानिसको दु:ख र अरुबाट पाउँने थिचोमिचोको पराकास्टालाई आधार मानी यो गजल लेख्ने प्रयास गरेको हुँ, यध्धपी म जस्तै दु:खमा पनि मेहनत र साहशलाई आत्मसाथ गर्ने मान्छे हुँ ।

Monday, July 25, 2011

गजल - "ए हौ कान्छी'


बस्नु हुन्न भित्र भित्रै आफै जली ए हौ कान्छी ।
भोलि जान्छ आँखै अघि जोवन ढली ए हौ कान्छी ।

चौबन्दीको फेरो तानी टोलाउँदा विरहले
बगी दिन्छ पिरतीको आँशु गली ए हौ कान्छी ।

खुशी दीइ दोर्याएर साथै लीइ जानेलाई
नदेखेझैँ किन हिंड्छौ आँखा छली ए हौ कान्छी ।

प्रित ज्योति दिउँला म अध्यारोमा तिमिलाई
एकनास दियो जस्तै आफै बली ए हौ कान्छी ।

सधैं तिम्रो मौनताले खुल्दुली भै' मन भित्र
लानै आँट्यो उडाएर हुरी चली ए हौ कान्छी ।

आनन्द भट्टराई "गाउँले"

Thursday, July 21, 2011

गजल - "देश कठै!"

कर्तव्यनै भुलेपछी के बन्थ्यो र देश कठै ।
वैरी यहाँ फुलेपछी के बन्थ्यो र देश कठै ।
 
उदाउँदा उन्नतिका रश्मी पनि हेर्दा हेर्दै
क्षितिजमा घुलेपछी के बन्थ्यो र देश कठै ।
 
सेवा भनि आमा लुट्ने वहानाका गृहहरु
यत्रतत्र खुलेपछी के बन्थ्यो र देश कठै ।
 
राष्ट्र हाँक्ने युवाहरु आफु खुशी उन्मादको
निदरीमा झुलेपछी के बन्थ्यो र देश कठै ।
 
पसिनाले माटो सिंची गलाउँनु पर्ने बेला
भजन गाइ डुलेपछी के बन्थ्यो र देश कठै ।
 

आनन्द भट्टराई "गाउँले"

Monday, July 18, 2011

गजल - 'मुटु मेरो'

मुटु मेरो भए पनि धड्कन तिमी ठानेको थें ।
मेरो त्याग बुझिदिने जीवन साथि मानेको थें ।
 
रुपवती गुणवती अरुपनी कैयौं थिए
तर पनि तिमी सम्झि आफुलाइ धानेको थें ।
 
झुटो बोल्दै तिमिले त रोजिछौनी अर्कैलाई
इश भाकी मैले चाँही तिमिलाइ छानेको थें ।
 
चन्द्रको'नी दाग हुन्छ त्यसैले त स्वीकारेको
भित्रै देखि मैले सबै तिम्रो खोट जानेको थें ।
 
माया भनि पछ्याएको फसेंछु पो छायाँ भित्र
आउ भनि तिमिलाइ सकेसम्म तानेको थें ।
 
 
आनन्द भट्टराई "गाउँले"

Wednesday, July 13, 2011

कविता - "जीवन"

जीवन !
के हो जीवन ?
'आँशु' हो की 'हाँसो' जीवन ?
'कर्म' हो की 'धर्म' जीवन ?
'उदय' हो की 'अस्त' जीवन ?
अहँ,
यती मात्र हैन ।
आज किन जीवनको परिभासामा अल्झिएँ ?
किन भित्र भित्रै जीवन सँग सल्किएँ ?
वित्यो नी 
साँढे दुई दशक !
आफैले जीवन पाएको ।
तर किन अझै अपरिचित छु म
वास्तविक जीवन देखि ?

Sunday, July 10, 2011

गजल - "कस्तो आयो"

कस्तो आयो जमाना खै!आफैलाई डस्दो छ ।
सत्य छोडी असत्यमा यो दुनियाँ फस्दो छ ।
 
छिटो बढी आखिरमा नुहिएको बाँसझैँ
युवा पुस्ता लक्ष्य विना सुस्ताएर बस्दो छ ।
 
असारको सिमसिमे मङ्सिरको बयेली
बाढी अनी `आँधी बन्दै गाउँ वस्ती पस्दो छ ।
 
लेकबेँसी सजाउँने गुराँस र प्याउली
ओइलिंदै दिनदिनै भुइँभरी खस्दो छ ।
 
हाँसी खेली हुर्किएको मात्रिस्नेह बिर्सेर
राष्ट्रपाले सपुत'नी उल्टै छुरा धस्दो छ ।
 

आनन्द भट्टराई "गाउँले"

Wednesday, July 6, 2011

गजल - "बानि गजबको"


घाम जस्तै चर्की दिने बानि तिम्रो गजबको । 
पानी जस्तै दर्की दिने बानि तिम्रो गजबको । 

गोधुली र प्रभातमा भेट हुँदा दोबाटोमा 
लजाएर लर्किदिने बानि तिम्रो गजबको ।

आवेगमा हुरी जस्तै वहि जाँदा पत्थरमा 
ठोक्किएर फर्की दिने बानि तिम्रो गजबको । 

जल्दा जल्दै आँत मेरो तड्पाएर तिमिलेनै 
फेरि जल छर्की दिने बानी तिम्रो गजबको ।

तिमी भित्र मेरो चन्द्र झलमल्ल लाग्दा पनि 
बोलाउँदा झर्की दिने बानि तिम्रो गजबको । 


आनन्द भट्टराई "गाउँले" 
खोटाङ

Friday, July 1, 2011

गजल - "लेखा छैन"


लेखा छैन आफ्नै मन कति ठाउँ टालेको छु ? 
नक्षत्र ती टिप्न भनि एक लिस्नु हालेको छु । 

फुलाउँन जिन्दगीको खोरिया र घरबारी 
आत्मा साक्षी राखी मेरै पसिनाले गालेको छु । 

अघि बढ्न खोज्दा सधैं आफै भित्र बसि बसि 
अल्झाउँने अल्छी रुपी नागफनी फालेको छु । 

चेतना र सभ्यताको वास्ना छरी सकेसम्म 
अन्यायको चीता मैले दनदनी बालेको छु । 

समेटेर सबैलाई र्हिदयमा राखेपनी 
थाहा छैन आफै भित्र ब्वाँसा कति पालेको छु ? 


आनन्द भट्टराई "गाउँले" 


नोट:- 'घायल'को तरही मुसायरा भाग १७ को आधारमा रचित गजल ।   
     :- "ब्वाँसा" भनेर "डाहा गर्नेहरु"लाई इङ्गित गरिएको छ । 

Thursday, June 30, 2011

गजल - "परेली नचाई"



परेली नचाई भुतुक्कै पार्यौ । 
मोहनी बोलीले वाचा'नी टार्यौ । 

भन्यौ जूनी जूनी म तिम्रै हुँ नी 
फेरि दिलको बाटो अहिल्यै बार्यौ । 

फेरेर मायाको मुलबाटो हाम्रो 
काँधी अर्कैलाई समुन्द्र तार्यौ । 

पानी की जवानी लागेको तिर्खा 
गाउँ वस्ती सारा निस्फिक्री चार्यौ । 

आँशुको उजुरी नसुनी मेरो 
बैंसको ताउमा पारेर मार्यौ । 


आनन्द भट्टराई गाउँले 
खोटाङ 

Sunday, June 26, 2011

गजल - "जिन्दगीको गोरेटोमा"

जीवन हो फुलबारी जिन्दगीको गोरेटोमा ।
युक्ती भए हुन्न भारी जिन्दगीको गोरेटोमा । 

पसिना र विवेकको संगम हो जिन्दगी यो 
साथ लिए तार्छ पारी जिन्दगीको गोरेटोमा । 

अघिल्तिर छरिएका काँडाहरु नपन्साए 
हुन्न जित आँशु झारी जिन्दगीको गोरेटोमा । 

विधाताको विधान हो सङ्गै अघि बढ्नु पर्छ 
सहयात्री नरनारी जिन्दगीको गोरेटोमा । 

यात्रा हाम्रो टुङ्गिन्छनै तर बाटो नटुङ्गे'नी 
रुक्नु हुन्न आफै हारी जिन्दगीको गोरेटोमा ।  


आनन्द भट्टराई "गाउँले" 
खोटाङ
    
नोट:-  'घायल'को तरही मुसायरा भाग १६ को आधारमा रचित गजल ।

Friday, June 24, 2011

गजल - "मेरो सार"


सुन्दर त्यो एक फूल, वरिपरि झार थियो । 
गोड्न जाउँ बाटो छेक्ने, धेरै अग्लो बार थियो । 

इच्छाएको काम गर्न, चाहाने त्यो किसानको 
समाजका भनाउँदा, ठालुहरु भार थियो । 

पिंजडामा कोचिएका, निर्दोस ती पंक्षि सामु 
केही पछि भोग लिने, चुलेसीको धार थियो । 

श्रम सीप युक्त थिए, दर्जिएका तल्लो जाति 
जित्ने खाली ठुलाहरु, तीनको सधैं हार थियो । 

मौलाएका झार बार, हार अनी धार भार
तोडें सबै किनकी म, जिउनुको सार थियो । 


आनन्द भट्टराई "गाउँले"

Monday, June 20, 2011

गजल - "विदेशमा"

यो विरानो वस्ती भित्र पसिनामा गलियो ।
मातृभूमी छोडी आज परभूमी मलियो ।

कर्मभूमी भएपनि कर्म कुनै नहुँदा
निच भई सधैं अर्को इशारामा चलियो । 

तारा चुम्ने लक्ष्य थियो जिन्दगीको यात्रामा
आधा बाटो नपुगिनै निराशाले जलियो ।

प्रियसीको जवानी त्यो ढकमक्क फुल्यो की
यहाँ मेरो फुल्ने दिन भाग्य बाटै छलियो ।

चौगरेमा लहलह जूनेलो र कागुनी
नहुने भो कल्पिदैमा बडेमान खलियो ।

सबै सामु उँचो हुने नेपाली शिर भए'नी
दासी भइ पराईको सामुन्नेमा ढलियो ।

घरबारी सिंची मेरै मार्शीधान झुल्थ्यो नी
पौरखले गर्या भए मासी रै'छ बलियो ।

आनन्द भट्टराई "गाउँले"
खोटाङ

Sunday, June 19, 2011

गजल - "मानेन मन"

 
अनगिन्ती पीडा बोकी हाँस्न पनि मानेन मन ।
भोलि पोख्ने प्रीत प्याला साँच्न पनि मानेन मन ।

हेर्दा हेर्दै फुल्न थाल्यौ पराईको फुलबारिमा
पहिलेनै तिम्रो बोट भाँच्न पनि मानेन मन ।

विश्वासले अङ्गालेथें तर रै'छौ स्वार्थी भमरा
त्यो बेलामा तिम्रो माया जाँच्न पनि मानेन मन ।

लाली देख्छु ओठै पिच्छे जगतमा म चैं अभागी
पराईको खुशी संगै नाच्न पनि मानेन मन ।

चोट लीइ बाँचिराथें उही तिमी छोडी जानेको
उपरान्त रोइ रोइ बाँच्न पनि मनेन मन ।
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ

नोट:- 'घायल'को तरही मुसायरा भाग १५ को आधारमा रचित गजल ।

Wednesday, June 15, 2011

गजल - "सपनि"

सपना'नी कस्तो देखें त्यो दीलमा आउँदै थिएँ ।
एकान्तमा दील खोलि तिम्रो गीत गाउँदै थिएँ ।
 
मेरो साथ तिमी हुँदा रङ्गीचङ्गी देखें फुलैफूल
एक थुङ्गो टिपी तिम्रो चुल्ठो माथी लाउँदै थिएँ ।
 
कुनै बेला थियो सारा चकमन्न जुनेली रात
भावनामा उही पल तिम्रो वस्ती धाउँदै थिएँ ।
 
सिमसिमे पानी पर्दा वर्सा याम हुँदो हो की त
कल्पनाको संसारमा प्रीत छानो छाउँदै थिएँ ।
 
कस्तो मिठो सपनि हो व्युँतिएर नआउँ जस्तो
परेली यो खुल्दा सम्म तिम्रो साथ पाउँदै थिएँ ।
 

आनन्द भट्टराई "गाउँले"

Sunday, June 12, 2011

गजल - 'नेपाल आमा'

नेपाल आमा बोल्छिन् उठी मेरो रचनामा ।
सन्ततीलाई बन्छिन् गुठी मेरो रचनामा ।

भोक लाग्दा माटो दिन्छिन् गरि खानलाई
नेपाली माझ आँफै जुटी मेरो रचनामा ।

निरङ्कुशको पक्षपाती पोल्ने राँको बल्दा
शीतल दिन्छिन् वैरी भुटी मेरो रचनामा ।

पानी नपाई धाँजा फाट्दा चैते खडेरिमा
बग्दै आउँछिन् मूल फुटी मेरो रचनामा ।

"गाउँले"माझ मात्रित्वको स्नेह फैलाउन
नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा ।

आनन्द भट्टराई "गाउँले"
खोटाङ
 
नोट:- घायलको तरही मुसायरा श्रिङ्खला भाग १४ को आधारमा रचित गजल ।

Monday, June 6, 2011

गजल - "गोधूलि"

जवानीको वहार बोकी आउँछ गोधूलि ।
शुन्यतामा प्रेमको गीत गाउँछ गोधूलि ।
 
दु:खी दिन विदाइ गरि क्षितिज नाघेर
उमङ्ग यो साथमा लीइ छाउँछ गोधूलि ।
 
हाँसी हाँसी अप्सरा आइ अङ्गाले जसरी
प्रेम रोप्न यो दिल भित्रै साउँछ गोधूलि ।

मधुमय पवन छरी धर्तीका प्राणीमा
चुमी चुमी पिरती सधैं लाउँछ गोधूलि ।

लखेटे'नी रातले सधैं नखाइ हरेस
हाँस्दै फेरि हरेक दिन धाउँछ गोधूलि ।


आनन्द भट्टराई "गाउँले"

Sunday, June 5, 2011

गजल - "फल्दै गा'को"

फल्दै गा'को जनताको क्रान्तिलाई गलाउनु हुन्न ।
सपुतको नेत्रित्वले राष्ट्रियता जलाउनु हुन्न ।
 
देशवासी हेर्दैछन सुशासन उन्नतीको बाटो
स्वाभिमानी नेत्रित्वको आस्थालाई ढलाउनु हुन्न ।
 
पुण्य भूमी हाम्रो देश फले यहाँ सीता बुद्ध धेरै
लत्याएर यस्तो भूमी व्यभिचार फलाउनु हुन्न ।
 
रोपौँ मिली दिगो शान्ति यो राष्ट्रमा रिस राग त्यागी
वन्दुकको खेल खेली रक्त राँको बलाउनु हुन्न ।
 
घर हो यो डाँफे चरी गुराँस र सगरमाथाको
सुन्दरता, वैभवता चिनारी यो छलाउनु हुन्न ।
 
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ,
 
नोट:- 'घायल'को तरही मुसायरा श्रिङ्खला भाग १३ को आधारमा रचित गजल । 

Thursday, June 2, 2011

गजल - "फूल देख्दा"

फूल देख्दा वगैंचामा भमरा'नि भुल्दो रै'छ ।
प्रियसीको नजरमा जवानी यो फुल्दो रै'छ ।

अविरल छहराझैँ झरिर'ने मायाप्रिती
पवन भै मायालुको वरिपरी डुल्दो रै'छ ।

चाह बोकी पिरतीको उनी आइ सामिप्यमा
चिहाउन खोज्दा पनि दिलको ढोका खुल्दो रै'छ ।

टुसाएका इक्ष्छाहरु उनी सामु पर्‍यो की त
धपक्कै त्यो चन्द्रमुखी अधरमा घुल्दो रै'छ ।

कस्तो हो यो माया भन्ने? वेमौसमी बाली जस्तो
बार्हैमास पाकेसरी लहलह झुल्दो रै'छ ।


आनन्द भट्टराई "गाउँले"

Sunday, May 29, 2011

गजल - 'ख्याल ख्यालै'

ख्याल ख्यालै यो आँखाको नानी भयौ तिमी आज ।
जवानी यो रुझाउँने पानी भयौ तिमी आज ।

गोरेटोमा सुरु भा'को सुक्ष्म थियो तिम्रो प्रेम
सयौँ जूनी माया दिने दानी भयौ तिमी आज ।

मेरो लागि लोक भन्दा हितकारी गुणकारी
नरित्तिने अनन्त यो खानी भयौ तिमी आज ।

भावनाको कुरा गर्दा लजाएर मुख छोप्थ्यौ
हिंजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज ।

छरिएका नयन यी एकोहोरो पारिकन
यो मनको मझेरिमा रानी भयौ तिमी आज ।

आनन्द भट्टराई "गाउँले"
Note:- Created on the basis of GHAYAL's Tarahi Musayara Part 12.

Tuesday, May 24, 2011

गजल - 'किन ?'


किन मान्छे आफै भित्र खिएर मर्छन ?
किन मान्छे सधैं आँशु पिएर मर्छन ?

सृस्‍टिको यो खुशीलाई नदेखी किन हो
दुखी मन सँग सधैं जिएर मर्छन ?

विधाताको विधान यो बुझेर'नी किन
जिन्दगीमा गर्व मात्रै सिएर मर्छन ?

थाहा छ नी आफ्नै प्राण लिन्छन दैवले
किन फेरि परप्राण लिएर मर्छन ?

दुखाइका दर्दहरु भोगेर'नी सबै
किन फेरि चोट मात्रै दिएर मर्छन ?


आनन्द भट्टराई "गाउँले"

Sunday, May 22, 2011

गजल - 'के को चासो'

तिर्खाएर आँत मेरो जलेपछी के को चासो ।
भञ्ज्याङमा एक्लै पारी छलेपछी के को चासो ।

प्रित रोपी सजाएको फुलबारी डढेपनी
तिम्रो प्रित उतै तिर फलेपछी के को चासो ।

एकान्तमा आँशु झर्दा क्षितिजमा लुक्यौ सधैं
विना साथ यो जिन्दगी ढलेपछी के को चासो ।

तिमी गयौ डाँडा काटी म एक्लै छु डाँडा वारी
सम्बन्धमा शितहुरी चलेपछी के को चासो ।

हेर्दाहेर्दै खुशीहरु रित्तिएर भित्रभित्रै
आँशु बगी पिडाहरु गलेपछी के को चासो ।


आनन्द भट्टराई "गाउँले"

Note :- This creation is created on the basis of GHAYAL's Tarahi Musayara part 11 .

Friday, May 20, 2011

'नेपालमा धार्मिक र जातिय सहिष्णुता'

आज भन्दा निकै समय पहिले नेपालको एकिकरण कर्ता पृथ्वीनारायण शाहले एक दिव्य बोली बोलेका थिए, "नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो" भनेर । तर नेपाल अब यसैमा मात्र सिमित रहेन । यो उक्ती कुन दृष्‍टिकोण र विचारबाट बोलेका थिय ती एक महान राष्ट्र निर्माताले जसले त्यो बेलाको नेपाललाई आजको नेपाल सम्म ल्याइपुर्याउन आफ्नो सम्पुर्ण जिवनकाल युद्दमै समर्पण गरेका थिय । नेपाल अहिले त्यहि अनुरुप अघि बढिरहेको छ तर ठीक विपरित उद्देस्य लिएर अर्थात एकिकरण पूर्वको अवस्था तिर ।
            जात एक पहिचान हो तर विभेदको जड भने हैन । यसलाई आफ्नो परिचय, संस्क्रिती र चिनारीको रुपमा लिनुपर्ने हो । तर यो शताब्दी सम्म आइपुग्दा पनि जातिय मतभिन्नताले नेपालमा गहिरो छाप पारिरहेकै छ जसको अनुययी बन्न छोडेका छैनौ हामि आम् नेपाली । पृथ्वीनारायण शाहले "नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो" भनेर यो अर्थमा भनेका थिएकी उनले विभिन्न भागमा छरिएर रहेका जातिय राज्यहरु जस्तै लिम्बुवान, खुम्बुवान, नेवा, तम्सालिङ इत्यादी सवैलाई एकिकरण गरि एक सिङ्गो नेपालको निर्माण गरेर तत पश्चात सवै जातजाती र अनेकौँ धर्म संस्क्रिती भएका नेपालीहरु अव एक सिङ्गो नेपालमा समावेश भए है भन्ने अर्थ स्वरुप यो उक्ती बोलेका थिए ।
         उसोत एक फुलबारीमा सवै प्रजातिका फूलहरु स्वतन्त्र रुपमा फुल्न पाउँछन र फुल्न सक्छन पनि । तर 'नेपाल' फुलबारिका यी विभिन्न जातका फूलहरु बीच किन यत्रो चरम मतभेद ? जसभित्र एकले छोएको पानी अर्कोलाई चल्दैन । एकको घरमा अर्को पस्न सम्म पनि पाउँदैन । त्यसैले उनले सोचे अनुरुपको नेपाल रहेन अब र त्यस्तो बाटोमा पनि लागेन ।
         वर्तमान अवश्थामा विश्व समुदायबाट हेरेर, सिकेर वा स्व-चिन्तनले पनि अब यस्तो कुपरम्परा त्याग्नु पर्ने बेलामा अझ जातिय विभेद चरम अवस्थामा पुगेको छ । जस अनुरुप विभिन्न जातका देशवासीहरुले आफ्नै जातिय राज्यको माग गरिरहेका छन् । पछिल्लो अवस्थामा राजनैतिक दलहरुले पनि जातको आधारमा नेपाललाई सङ्घियतामा लैजाने मुद्दा उठाएका छन् । यसले झन यो विभेदलाई विकराल अवश्थामा पुर्याउने लगभग निश्चित देखिन्छ । यसको अलवा भौगोलिक वनावटको आधरमा वा अन्य क्षेत्रगत आधारमा सङ्घियतामा परिवर्तन गरि जातलाई शिर्फ आफ्नो चिनारीको रुपमा मात्र प्रयोग गर्नु पर्ने अहिलेका आम् नेपाली र राजनैतिक दलहरुको मुख्य दायित्व भएको छ ।
              यी यावत कुराहरु सवैले बुझ्नु जरुरी छ की जात, धर्म र चलिआएका प्राचिन परम्परा बीच घनिभुत वैचारिक सम्बन्ध स्थापित हुनुपर्छ जसमा सानो र ठुलो वा त्यो जात र यो जात भनि विभेद गरिनुहुन्न ।


आनन्द भट्टराई "गाउँले"

गजल - 'म टुहुरो'

म माथिनै त्यो आकाश झारिदिए हुन्थ्यो बरु ।
त्यो नभए एकै बज्र पारिदिए हुन्थ्यो बरु ।
 
टुहुरो म हुनु रै'छ सानिमाको हेला खप्न
आँशु कति ? श्वासनली बारिदिए हुन्थ्यो बरु ।
 
बाहिरको वास मेरो मान्छे फेरि जात मेरो
घर न'भा गोठ तिरै सारिदिए हुन्थ्यो बरु ।
 
पल पल आँशु किन ? म पनि त मानव हुँ
हरे दैव! मर्त्यलोक तारिदिए हुन्थ्यो बरु ।
 
ढाकिएको आङ छैन वटुकामा माम छैन
रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बरु ।
 

आनन्द भट्टराई "गाउँले" 
 
नोट:-  'घायल'को तरही मुसायरा भाग १० को आधारमा रचित गजल ।            
      :-  सानिमा भनेर सौतेनी आमालाई सम्बोधन गरिएको छ ।

Monday, May 16, 2011

कविता - 'स्मरण'

भनिन्छ अतितलाई नसम्झनु,
मात्र वर्तमान अनी भविस्य ।
तर व्यस्तताले रन्थनियको वर्तमानबाट
केही क्षण शुन्यतामा चुसुक्क बसेको बखत
अतितका रश्मीहरुले खप्पर छेडी मगज चुमे आज ।
 
लाग्छ म चिउरी पाखामा कालेगोरुलाई
अँगेरीको काँचो लठ्ठीले कुटिरहेको छु ।
झ्याप्ली बाख्राले डाँडा बारीको कोदो सखाप पार्दा
आक्रोसले खोरमा थुनेर चोट लाग्ने गरि चुटिरहेको छु ।
कठै काले, कठै झ्याप्ली
आजत स्वर्गको रानिवनमा चर्दै हौला,
क्षमा देउ है,
मैले होनहार गल्ति गरेँछु ।
 
साउनको सिम्सिमे वर्शा संगै
कुइभिरबाट उकालो लागेको हुस्सुले घरबारी ढपक्कै ढाक्दा
मौका छोपी सेतो ढेडु मकै चोर्न आएको पल
म मकै रुङ्ने मकै गोठालो
अनी,
ढेडुद्वरा आफै लखेटिएको क्षण ।
आहा कस्तो अचम्म !
त्यो परिस्थिती
त्यो वाल्यकाल ।
 
प्रभातको मिर्मिरे अगावै चकमन्न रातमा
आमा सखारै उठी मुठी मुठी गरि ओइरो लगाउँदै
कोदो पिसेर छाक पुग्दा,
बाबाले खुट्टामा पोया लगाइ बाटेको काले गोरु बाँध्ने
दाम्लोको गलामे गाँठो परिसक्थ्यो ।
लाग्छ म अहिले पनि त्यहि मिर्मिरेमा
मस्त निदाइरहेछु
आमाले कोदो पिसेको सङितमय ध्वनी संगै ।
 
गोधुलीले जवानी रुप नलिँदै
मन्द टुकीको उज्यालो भित्र
मिर्मिरेमा पिसेको पिठोले
विस्तारै ढींडोको रुप लिंदै हुन्थ्यो
एक फलामे दाविलो बाट मस्की मस्की ।
जसको सहयात्री गुन्द्रुक फाँडो,
लाग्छ म त्यहि ढींडो खोर्सानी मिचेको गुन्द्रुक फाँडोमा चोपेर
नचपाइ निलिरहेछु मुली थामको फेदमा बसेर
जिब्रो पट्काउँदै ।
 
पँधेरामा भेट्ने पल्लो गाउँकी च्यान्टी सँगको कर्के नजर होस्
वा
पिँधबाट पानी चुहुँदै ल्याएको हरियो खरुकीको भारी,
आहा ! लाग्छ म लालेको बारिमा सिम्सिमे वर्सासंगै
कोदो रोपिरहेछु घुम ओढेर ।
 
त्यस यता कैयौं वसन्त विदेशमै विते
साथै वितेछन सवै जिन्दगिका वहारहरु ।
न आउँछ त्यो वालापन फर्केर अव
नत देखिनेछन ती फुलबारिमा फुलेका मखमली, ग्यान्था र गोदावरीहरु,
नत टेकिनेछन ती नसा गल्ने उकाली र घुँडा दुख्ने ओरालीहरु । 
केवल सम्झनामा अनेकौं तरेलिहरु
आइरहन्छन ।
छाइरहन्छन ।
वर्तमान मस्तिस्कमा ।
 
 
आनन्द भट्टराई "गाउँले"

Sunday, May 15, 2011

गजल - 'वित्यो जिन्दगी'

गोधुली र प्रभातमा रुएरै वित्यो जिन्दगी ।
बार्हैमास खडेरीमा सुकेरै वित्यो जिन्दगी ।
 
लक्ष्यहरु फुलाउने सपना टुटी सारा ती
प्रयासको चाल्नोबाट चुहेरै वित्यो जिन्दगी ।
 
तारा टिप्नु थियो मैले उक्लेर अलिक माथी
उठ्न खोज्दा सेपभित्र कुहेरै वित्यो जिन्दगी ।
 
गाँस वास खोज्दा खोज्दै नपाई भोकमरीले
अनन्त यो सागरमा डुबेरै वित्यो जिन्दगी ।
 
शिर उँचो पारी सधैं हाँसेर जिउँछु भन्दा
बाध्यतामा परपाउ छुएरै वित्यो जिन्दगी ।
 

आनन्द भट्टराई 'गाउँले'

Monday, May 9, 2011

'चट्कनको चटारो सम्बिधानको झटारो'

वर्तमान नेपाल एक संकटग्रस्त राजतितिक अवस्थामा गुज्रिरहेको कुरा आम जनतामा दुई मत नहोला । उसोत इतिहासका विभिन्न कालखण्डमा पनि नेपालले यस्तै नियती भोग्दै आइरहेको छ । कहीले राजनैतिक, कहीले सामाजिक, कहीले धार्मिक इत्यादी । अझ भन्दापनी सवैभन्दा पछिल्लो नेपालको राजनैतिक अवस्था गन्तव्य विनाको यात्रा जस्तै भएको छ । हुनत गन्तव्य सम्विधान बनाउने र शान्ति प्रक्रिया टुङ्गो लगाउने हो । तर हरेक पटक तोकिएको मिती सारिन्छ भने यस्को गन्तव्य कस्ले ठोकुवा गर्न सक्छ ? यहि अवस्थाले गर्दा देशको अर्थतन्त्र नाजुक बन्दै गैरहेको छ भने शक्ति भन्दा बाहिरको शक्तिले शक्तिवालाको शक्ति हत्याउने प्रयत्न गरिरहेको छ । सम्विधान सभाको आयु सकिन थोरै दिन मात्र बाँकी हुँदा पनि राजनैतिक दलहरु आपसी सत्ताको लुछाछाडीमै अल्झिरहेका छन् भने भर्खर मात्र पूर्व पञ्चहरुले उनिहरुको पक्षबाट २०४७ सालको सम्विधान पुन:स्थापना भएको घोषणा गरे । यसले के देखिन्छ भने पूर्व राजसँस्थाका लाउकेहरुको दर्हो साँठ गाँठ वर्तमान राष्ट्रका टाउकेहरु सँग रहेको अनुमान गर्न सकिन्छ ।
          देशमा रहेको अती धनी र अती गरीब बीचको अती बिशाल खाडल हटाउने,देशमा क्रान्तिकारी परिवर्तन गरि दश बर्षमै स्विजरल्यान्ड बनाउने,नयाँ विचारधाराको जनतामा निहित सम्विधान बनाउने, साम्यवाद लागु गर्ने आदि वुलन्द आवाजका साथ राजनैतिक क्षेत्रमा होमिएका सम्यवादी दल भनाउदा दलका अगुवाहरु पनि अहिले शक्तिकेन्द्रमा पुगेपछि विभिन्न तस्करी, भ्रस्टचार, कानुनको उल्लङ्गन जस्ता अनैतिक र गैरजिम्मेवरी पूर्ण काममा मुछीइरहेका छन, त्यसैले उनिहरु बाहिर निस्कनुको अलवा कानुनको हतकडी आफ्नै आगनमा आइपुग्योकी भनेर महलको आँखीझ्यालबाट चिहाइरहेका छन् । देशमा व्यप्त प्रचिन र रुढिवादी परम्परा तोड्दै नयाँ प्रगतिशिल चेतना जनतामा छर्नु त कहाँ हो कहाँ उल्टै आफ्ने उद्देस्य बिर्सेर आफ्ने स्वार्थी दाएराबाट बाहिर सम्म आउन सकेका छैनन् । जनताले दिएको जनादेश विर्सेका छन्, आफू उठेको आधारशिला र उठाउने जनतालाई पुरै लत्याएका छन् । त्यसैले पाएको जनादेश र उद्देस्यको लिकमा जबसम्म उनिहरु आउदैनन तवसममा मुलुकमा व्याप्त सङ्कटग्रस्त अवश्थाबाट राष्ट्रले मुक्त्ती पाउँदैन भन्ने यो पङ्तिकारको ठम्याइ छ ।       
                यिनै व्याप्त कुक्रित्य र मनपरिका कारण आजकाल जनताको सहने सीमा तोडिन थालेको उदाहरणहरु यदा कदा देखा पार्न थालेका छन् । जस्को लक्षण हो नेतालाई हाकाहाकी चट्कन हान्ने क्रम,यो प्रक्रिया दोस्रो पटक सम्म दोहोरीइसकेको छ । अझै पनि राष्ट्रका पहरेदरहरुले आफ्नो जिम्मेवारी सजकताका साथ नसम्हाले सम्म यो क्रम जारी रहन सक्छ तबकी अन्तिम घडिमा नेतालाई चट्कन हान्न जनतालाई चटारो पर्ने छ साथै जनाताबाटै हानिएको अपुर्ण र अविकसित सम्विधानको आक्रोसित झटारो नेताकै अनुहारमा पर्ने छ, जुन जनताको आक्रोसको पराकास्टा हुनेछ । जस्को जिम्मेवरी पनि उनिहरुलेनै लिनुपर्ने छ ।


आनन्द भट्टराई "गाउँले"

गजल - "वर्सौं वित्यो"

वर्सौँ वित्यो नभेटेको हाल थाहा पाउँ ।
मायालुको नदेखिने चाल थाहा पाउँ ।
 
नजरमा टिकी राख्ने कस्तो हो त्यो बैंस
मोहनीले तानी राख्ने जाल थाहा पाउँ ।
 
तिमी र म दुई ध्रुव हुँदा पनि सधैं
चुमी बस्ने पिरतीको खाल थाहा पाउँ ।
 
हाम्रो माया बगी जाने गंगा हो की सानु
युगौं युग जमी बस्ने ताल थाहा पाउँ ।
 
यौवनले चढ्यो अरे अधरमा लाली
मुटुभित्र उर्लिएको छाल थाहा पाउँ ।
 
 
नोट:-  'घायल'को तरही मुसायरा भाग ९ को आधारमा रचित गजल । 
     :-  निम्न शब्दहरु निम्न अर्थ लाग्ने गरि प्रयोग गरिएको छ ।
         जाल :-  कर्तुत
         खाल:-  प्रकार वा श्रेणी
 
आनन्द भट्टराई "गाउँले"

गजल - 'फक्रेको फूल'

फक्रेको फूल ओइलिन्छ त त्यो वगैँचामा के आइ भो र ।
झर्छन भने वलिन्द्र आँशु प्रीतको गीत के गाइ भो र ।
 
शुन्यता बीच संसारै भूली संगै जिउँने गरेका वाचा
भोलिदेखिनै टुट्छन भने कसमहरु के खाइ भो र ।
 
अमृत रोप्दा अमृतै फल्छ फल्दैन कहिं विशालु विश
अमृत रोप्दा जहर फल्ने खेतमा अब के धाइ भो र ।
 
जिवनै सुम्पी जिन्दगी भरी प्रितको छानो छाउँछु भन्दा
जति छाए'नी चुहिन्छ भने मारेर आश के छाइ भो र ।
 
त्यो समिपको प्रतिक्षा गर्दै लालित्यपुर्ण जोवन साँची
आशाको दियो बालेर सधैं अधुरो माया के लाई भो र ।

आनन्द भट्टराई "गाउँले"

Wednesday, May 4, 2011

गजल - 'आमा'

धैर्यता र ममताकी भरिपुर्ण खानि आमा ।
सन्ततीको भुमी सिँच्न सधैं पर्ने पानी आमा ।

जगतले जति दिन्छ प्राणीलाई प्राण धान्न
त्यो भन्दा'नी कैयौं गुणा अविरल दानी आमा ।

कोमलता कति कति प्रतिभा'नी उत्तिकै छ
अरुलाई फुलाउँछिन आफु काँडा छानी आमा ।

गुरुत्वले धाने जस्तै राखी आफ्नै सेरोफेरो
हुर्काउंदै ज्ञान दिंदै फुलाउने मानी आमा ।

सुपुत्र र सुपुत्रीको जन्म दीइ लोक धान्ने
पवनझैं प्राण प्यारी व्रम्हाण्डकै रानी आमा ।


आनन्द भट्टराई "गाउँले" 

 नोट:- मानी = जाँतोको बिचमा रहेको एक सानो फलामको डंडी, जसले जाँतो अनियन्त्रित हुनबाट रोक्छ । 

Sunday, May 1, 2011

गजल - "आँशु रोप्छु"

आँशु रोप्छु तिमीलाई हाँसो फल्छ भने ।
मरी दिन्छु तिम्रो लागि वैरी ढल्छ भने ।
 
हाकाहाकी भन प्रिय चित्त दुख्यो के मा
फर्किदिन्छु तिमिबाट प्रीत गल्छ भने ।
 
विल्न सक्छु क्षितिजबाट नफर्किने गरि
हाँसी हाँसी त्यो जिन्दगी सधैं चल्छ भने ।
 
अध्यारोमा रुमलिंदा स्विकारिनौ साथ
वस्ती छाडी हिंडी दिन्छु दियो वल्छ भने
 
एकान्तको चौतारिमा टोलाएर वस्दा
शीत बनी तप्की दिन्छु धैर्य छल्छ भने ।

आनन्द भट्टराई 'गाउँले'

नोट:- 'घायल'को तरही मुसायरा भाग ७ को आधारमा रचित गजल ।

गजल - 'नेता'

तिम्रो स्वार्थ त्यागी अब नवरश्मी छर नेता ।
जनताको सेवा गर्ने कर्तव्यमा मर नेता ।
 
सुशासित हुने दिन पर्खी साध्य छैन यहाँ
सम्विधान लेख्ने मिती किन सार्छौ पर नेता ।
 
हलो जुवा डोको नाम्लो भए हाम्रो सहयात्री
यथार्थको चुरो बुझ्न गाउँ तिर सर नेता ।
 
माथी वसी झुटो बोल्ने नबनाउ दिनचर्या
जनताको आशा भित्र नवरस भर नेता ।
 
राष्ट्रलाई सिँची राम्रो रसराग युक्त पारी
संसारकै सुगन्धित बगैंचामा दर नेता ।

आनन्द भट्टराई 'गाउँले"
 
नोट:- 'घायल'को तरही मुसायरा भाग ८ को आधारमा रचित गजल ।

Saturday, April 30, 2011

गजल - 'अझै सम्म'

अझै सम्म किन हामि जङलभित्रै बाँचिरा'छौं ।
गन्नलाई मकैगेडी दश औंला भाँचीरा'छौँ ।

समकक्षी मानवले वस्ती सारे चन्द्रलोक
हामि अझै खरबारीको चप्लेटीमै नाचिरा'छौं ।

धर्मलाई अध्यात्ममा ढाली सक्यो विज्ञानले
हामि भने मन्त्र जप्ने संस्क्रितीमै हाँसीरा'छौं ।

सवै मन सवै तन उस्तै मान्छ दुनियाँले
हामि चाहिँ हामी भित्रै ठुलो सानो जाँचीरा'छौं ।

कुरितीले सधैं थाप्लो किच्दा पनि किन हामि
जिन्दगिनै हैन जस्तो जिन्दगानी साँचीरा'छौं ।

आनन्द भट्टराई "गाउँले"

Wednesday, April 27, 2011

गजल - 'के लाग्छ र'


मेरो बोली शिशाको गोली मान्छौ भने के लाग्छ र ।
दिगो माया खहरे खोली ठान्छौ भने के लाग्छ र ।

मुटु भित्र धड्कनसंगै धानिराख्छु भन्दा पनि
वाचा मेरो वतास सरि खान्छौ भने के लाग्छ र ।

खडेरीमा बाँचेर आँफु मेरो सागर सुम्पे पनि
मुगामोती सागर बाट छान्छौ भने के लाग्छ र ।

खुशी लिन चुकेनौ कहिं जति दिन्थें मैले सधैं
आज मेरो परेली रुझ्दा जान्छौ भने के लाग्छ र ।

मेरो मनको शिंहासनमा सजाएको एक चिनो
फिर्ता मागी तिम्रो तस्बिर लान्छौ भने के लाग्छ र ।

 आनन्द भट्टराई "गाउँले"

गजल - 'प्रवासीको आँशु झार्ने'


प्रवासीको आँशु झार्ने गजल अब लेख्दिन भो ।
तितो सत्य सेतै पार्ने गजल अब लेख्दिन भो ।

गहभरी आँशु पार्दै मातृभूमी छोड्नुपर्दा
आँशुलेनै दु:ख टार्ने गजल अब लेख्दिन भो ।

फर्केपछी जिन्दगीको भंगालोचैँ छेक्छु भनि
आफुदेखी आफै हार्ने गजल अब लेख्दिन भो ।

भोग्नु जे छ भोगेकै छन् जस्ले छोडे मातृभूमी
मुग्लानीको पिडा खार्ने गजल अब लेख्दिन भो ।

दोस दिंदै देशलाई बिदेशिनु हुन्न रै'छ
राष्ट्रप्रेमी मन मार्ने गजल अब लेख्दिन भो ।

आनन्द भट्टराई "गाउँले"



Note:- This creation is created on the basis of GHAYAL's tarahi musayara part 6.

गजल - 'नयाँ बर्षमा'



सम्पुर्ण अग्रज सर्जकहरु, समकालिन मित्रहरु अनी दाजु भाई दिदि बहिनिहरुमा नव बर्ष २०६८ को हार्दिक मङ्गलमय शुभकामना टक्र्याउंदै कोसेली स्वरुप यो गजल लिएर आएँ स्विकारिदिनु होला :-

नयाँ बर्ष नयाँ कर्म संगै शुरु गरौं सबैले ।
मात्रित्व र भात्रित्वको बिज अब छरौँ सबैले ।

खोज्न थालौं कर्म रेखा मिली जुली चेली माइती
फोस्रिएमा इच्छा शक्ति नवरस भरौं सबैले ।

भित्रिएका यो बर्षमा उन्नतिका लहरहरु
अभिभारा हाम्रै हुन बोकी गंगा तरौँ सबैले ।

कामनाले भेटिदैन इच्छाएका प्रगतीलाई
कर्तव्यमा लीन भइ एक चोटि मरौं सबैले ।

माता पिता सन्ततिझैँ रमी एकै धुरी मुन्तिर
लेक हुँदै शान्ति लिई औल तिर झरौँ सबैले ।

आनन्द भट्टराई "गाउँले"

गजल - 'किन खोज्छौ'


शिर टेकी मेरै तिमी साहाराको हात खोज्छौ ।
वेवास्ता छ शुभदिन विलाशीको रात खोज्छौ ।

सवै खुन सवै मान्छे एउटै हो भन्दापनी
एकोहोरो किन तिमी टुप्पिवाला जात खोज्छौ ?

दिन काट्ने संगी सँग हैन सानु पैसा सँग
नबुझेरै होकी किन द्रव्यको त्यो खात खोज्छौ ?

जूनतारा झारिदिन्छु भन्नेले खै कहाँ झारे
वुझाँउछु फेरि किन असम्भव वात खोज्छौ ?

ग्रिस्म बनी सुकाएर झार्न खोज्छौ मलाइनै
किन फेरि वसन्तको पाउलिंदो पात खोज्छौ ?

आनन्द भट्टराई "गाउँले"

गजल - 'भन'

लुकिछिपी  तिम्रो  वास  किन  खोली तार्यौ भन ।
अनयाशै   आँशु   झारी   किन  माया मार्यौ भन ।

मेरो   साथ    हुंदाहुंदै   अर्को   साथ   चाहान्नथ्यौ
प्रतिज्ञा  त्यो तोडी किन गाउँ वस्ती चार्यौ भन ।

अंगालोमा   कसिकसी   माया   लियौ   सधैं  मेरो
छोडी   सबै   आज किन विचल्निमा पार्यौ भन ।

गुलावझैँ     फक्रिएर    तिम्रै    शिरमा    फुलिरहेँ
यो डालीको फूल टिपी कुन डालिमा सार्यौ भन ।

रुपवती    गुणवती     अप्सराको     चाल   थियो
आज  कस्को  मोहनीले  फोस्रो   रुप धार्यौ भन ।

आनन्द भट्टराई "गाउँले"

नोट:- "घायल"को तरही मुसयरा ३ को आधारमा रचित गजल ।

गजल - "रुन्न आमा"


खुसिसाथ  बाँच्ने  मन  दुखाएर रुन्न आमा ।
स्वाभिमान   कोहिसामु  चुकाएर रुन्न आमा ।

आइपर्ने   कस्टहरु   जिम्मेवारी   लिन्छु   सबै
निच   भइ   ठाडो शिर झुकाएर रुन्न आमा ।

बाचुन्जेल   रमाएर   सेवा   गर्छु   तिम्रो सधैं
सेवा   गर्ने  हातपाउ   सुकाएर   रुन्न   आमा ।

विधाताको     डडेलोले   चाह   सबै   जलेपनी
यो मनको पिर व्याथा फुकाएर रुन्न आमा ।

यथार्थको  भोगाइ   यो दुई छाक खोले फाँडो
सुख भनि दु:ख जति लुकाएर रुन्न आमा ।
 
आनन्द भट्टराई "गाउँले" 

नोट:- "घायल"को तरही मुसयरा ४ को आधारमा रचित गजल ।

गजल - 'मेरो परदेशी छोरो'

एउटी आमाले आफ्नो परदेश गएको छोरालाई सम्झदै मनमा के के कुरा सोच्लिन त ? अवस्य पनि अनगिन्ती । तिनै सोचाइ मध्ये केहीलाई आज म आमा भएर यो गजलको रुप दिने प्रयास गरेको छु । यहाँहरुलाई कस्तो लाग्यो होला त ?

गजल:-
  
विना   कसर   मेरो   छोरा   कसै सामु झुक्नुपर्यो की ।
शिखर   चुम्ने   लक्ष्य   उस्को विचबाटै चुक्नुपर्यो की ।

रातमा   जुन   हेर्नु   आमा   मेरो याद आउंदा भन्थ्यो
चस्केर   दुख्छ   मुटु   सधैं  अघि बढ्दा रुक्नुपर्यो की ।

नत   खबर     नत   चिठ्ठी    परदेशको  घामपानीमा
लखतरान      भोकभोकै     टुहुरोझैँ    सुक्नुपर्यो    की ।
 
बालापनको    तातेताते   मस्त   निन्द्रा   मेरो काखको
सपना देखि व्युँझी हेर्दा आफ्नै भाग्य थुक्नुपर्यो की ।
 
वलिन्द्र  आँशु   यहाँ   मेरो  हेरी   वस्छु  आउने   बाटो
वार्हैकालको     आँधीहुरी    कस्टबाट    लुक्नुपर्यो   की ।


आनन्द भट्टराई "गाउँले"

गजल - "कस्तो हुन्छ ?"


पशु   ठान्नेले  आफ्नै  पाउ कसि  हेर  कस्तो हुन्छ ?
जोगी ठान्नेले खरानी त्यो घसी हेर कस्तो हुन्छ ?

अरु   जनको   रगतको   खोली   बग्दा  किन  हाँस्छौ
आफुलाइनै    तिखो    छुरा   धसी   हेर   कस्तो हुन्छ ?

निर्दोस     हामि     प्रजालाई     कति   गर्छौ अतिचार
निरङ्कुसको    पिंजडामा    वसी    हेर    कस्तो हुन्छ ?

दमन    तिम्रो    जनताले   पा'को  ख्याल   हुन्न भने
अत्याचारको    पिडा    भित्र   पसी  हेर  कस्तो  हुन्छ ?
 
यो  प्रजातन्त्र  भन्दै   आज कुन तन्त्र लाद्न खोज्छौ
प्रजातन्त्रको    बिधी   लेख्ने   मसी    हेर कस्तो हुन्छ ?

गिठ्ठा    भ्याकुर    के    थाहा   र  महलमा वस्नेलाई
भोकमरिमा    एक    चोटि    फसी    हेर कस्तो हुन्छ ?
आनन्द भट्टराई "गाउँले"

"Ghayal" ko tarahi musayara 2 maa anubandhit.

गजल - "निस्ठुरी हुँ भन्नेले पनि"

निस्ठुरी   हुँ   भन्नेले पनि मायाको सागर पोख्न थाल्यो ।
व्युँतेर   आज   मनले   फेरि   उसैको बारे सोच्न थाल्यो ।

म      विरक्तिएर     विरानो     वस्तिमा    यात्रारत   भएनी
बिना   लक्ष्य   टोलाई  हिँडेका पाउले गती रोक्न थाल्यो ।
 
वेकार   भएँ   वेहाल    भएँ   त्यो   नशालु  मायामा फसी
तैपनि   आज  फाटेको  मन सिउँकी भनि सोच्न थाल्यो ।

म एक्लै जिउँछु एक्लै मर्छु भनि कसम खान्छु भन्ने
एकान्त  प्रिय  दिलले पनि कसैको साथ खोज्न थाल्यो ।

प्रियसीको   साथले   यो    जीवन   फूल्ने   आभाशले अब
सयौँ   फूलका    थुंगाबाट   मन पर्ने   यौटा रोज्न थाल्यो ।


आनन्द भट्टराई "गाउँले"


  नोट - "घायल"को तरही मुसयारा १ मा अनुबन्धित गजल ।

गजल - "अनुरोध"

हरपल     यो,     धडकनमा    आउ ।
तिमी    अमर   प्रेमका,  गीत गाउ ।

शुन्यताको    रापले,   जलेको  छु म
त्यो  स्पर्शको  मलम,  लगाइ जाउ ।

चुकेर   जाओस,  त्यो आकाश बरु
तर   कहिल्यै    नचुक्ने,  प्रित लाउ ।

यो   जोवन    तिम्रै, यो यौवन तिम्रै
स्विकारेर  प्रिय,  यो   दिलमा छाउ ।

त्यो इच्छाको फल, दैवले दिन्छन
स्वर्ण  सपना  बोकी,  मन्दिर धाउ ।

हाम्रो   कसम   तोडी,  हिहेर  तिमी
नपारिदेउ      है,   यो   मुटुमा    घाउ ।


आनन्द भट्टराई "गाउँले"

गजल - "जीवन"

खुशीको   क्षण  नसकिदै,  ओइली   झर्ने  कस्तो  जीवन ?
सुखमा  पनि  दु:खको गीत, गाई मर्ने कस्तो जीवन ?

दैव   लाग्दा    आफूलाई,  अरु सामु तेर्सिएर रुन्छ यो
सधैं    पराइको   आँशुमाचैँ,   हाँसो  छर्ने  कस्तो जीवन ?

सुन्दर   भावनामा    प्रकृतिको,  बहुमुल्य निधी जस्तो
तर  यथार्थमा   विनाभाव,   आफै   टर्ने   कस्तो  जीवन ?

रित्तो हात आउँछ यो, अनी भन्छ यो विश्व मेरोनै हो
सास    रहुन्जेल   घमन्डकै,  घैला   भर्ने  कस्तो जीवन ?

ठटैमा    वाल्यकाल   र   वैँस,    अनी   सिधै  बुढेसकाल
जिउनुको    स्वादनै   नपाई,   वित्नु   पर्ने कस्तो जीवन ?


आनन्द भट्टराई "गाउँले"

गजल - "हाम्रो माया"

यो  पवित्र  माया  हाम्रो,   गगनचुम्बी  पारौं  अब ।
टाढीएको    देहलिला,   एकै   ठाउँमा   नारौं  अब ।

क्षितिज   तोडी  चुम्न  तिमीलाई, आएँ म फर्केर
अधकल्चो   जवानीलाई,   सामिप्यले  खारौँ अब ।

नक्षत्र  ती   आकाशमा,  हाम्रै नीम्ति चम्किदैछन
तिनकै  ज्योति  लिएर, प्रितको  विश्व चारौं अब ।

 फुलैफुलको     रणभुलमा,    झुलेर   नबसौँ    भो
गन्तव्यमा   लैजान,   कसमको   पुल तारौँ अब ।

यो  फक्राउँदो   फूल   झार्न,  सिमा तोडे दुनियाँले
उर्ली   आ'को   सुनामीलाई,   शाहासले  वारौँ अब ।

यो मायाको सिँढी चड्दै, गर्जिने त्यो मेघ तोडी
इर्स्यालु   वादल   पनि,   वर्सा   बनाइ झारौँ अब ।


आनन्द भट्टराई " गाउँले"

गजल - "म"


डग्दिन   हेरिराख,  तिम्रो  आकाश   खस्दा  पनि ।
बाँधिन्न  म  कतै,  वैंसको  डोरीले कस्दा पनि ।

सधैं  आकाश  ओड्दै,  माटो खाने मान्छे म त
मर्दिन  म  साँप  भै,  यो   ह्रिदयमा  डस्दा पनि ।

म त यसै माया खोज्ने, मायाको भिखारी न हुँ
डराउदिन     तिमिलेनै,    खरानी   घस्दा   पनि ।

हरपल   एक्लै    जिउन,  सिकेको   मान्छे  म त
क्यै छैन  तिमी अर्कै,मायाजालमा फस्दा पनि ।

यो   रगतको   खोलीले,  तिमी  प्यास  मेट  बरु
ढल्दिन म यै छातीमा, तिखो छुरा धस्दा पनि ।

आनन्द भट्टराई  "गाउँले"

गजल - "म नेपाली"

हजार   टुक्रा   गरि   काटेनी   मलाई,   मर्दिन   कहिल्यै ।
आमा   बिर्सी  स्वार्थमा,  पराइको सेवा गर्दिन कहिल्यै ।

विजयको   शिखर   चुम्न  म,   भिरको   यात्रा गर्छु बरु
शिवजीको   नाम   जप्दै,   हारेर   उँधो   झर्दिन कहिल्यै ।

मेरै   पारिलो   पाखामा   उब्जेको,   पाउँदुरे   ढीँडो  छोडी
सित्ताको लागि म,सामन्तीको कित्तामा सर्दिन कहिल्यै ।

 डटेर   भिड्छु    वैरी    सँग,   बन्छु   शहिद   आफैं   बरु
तर    शहिदको    नाममा   शतबिज,    छर्दिन   कहिल्यै ।

फुलको   बाटो   रोज्दै   म,   काँडामा हिँडाइ सन्ततीलाई
आमाको  पेट   राख्दै   भोको,   मेरो  पेट भर्दिन कहिल्यै ।

आनन्द भट्टराई "गाउँले"

गजल - "मेरो प्रेम दिवस"

अर्कै कुरा  सोच्यौ   सधैं, मैले माया गर्दाखेरी ।
वल्ल चाल  पायौ  आज,  मेरो माया टर्दाखेरी ।

ती   औंशीको   रातमा,   पुर्णिमा भई  आइरहेँ
मुस्कुराउछौ  आज  किन,  म ज्युँदै   मर्दाखेरी ।

संगै   रहुँ   सधैं    भन्दा,  अत्तालियौ  वेजोडले
हर्सले   नाच   अब,   मैले    सागर    तर्दाखेरी ।

तन  मन  दिंदा  पनि,धन खोज्दै गयौ तिमी
नरोउ   अब   त्यहि   धनमा,   अर्कै   चर्दाखेरी ।

तिमी   रोएको   पल,   मैले  आंशु   पुछिनैरहें
रम्छौ   किन  भावीले,  म आफैलाई हर्दाखेरी ।

तिम्रै   यादमा  म यसै,  सधैं टोलाई बसौंला
प्रेम    दिवस   मान,   मलाई   बज्र   पर्दाखेरी ।

आनन्द भट्टराई "गाउँले"

गजल - "पश्चाताप"

पार्यौ  मलाइ  खाल्टोमा,  मैले  उचाइ   ठान्दाठान्दै ।
ओइली झर्यौ  तिमीत खै, मैले फूल मान्दामान्दै ।

इच्छा    तिम्रो     पूरा  गर्न,   चढाएँ मैले शिखरमा
ओर्लि गयौ के   गरुँ  म, पहाड  बनी   धान्दाधान्दै ।

बगैंचाको     फुलहरुमा,    तिमी   एक   फूल थियौ
फुत्काइ लाग्यो  अर्कैले, पासो लगाइ तान्दातान्दै ।

पिरतिमा     म,     झरनाझैं     झरेँ    कैयौं  भेल तरेँ
तर  तिमी   वगिछौ   कहाँ, अर्कै संगी छान्दाछान्दै ।

फुलनै      सम्झी      भमरा    भै,   भुमिरहें   वरिपरि
निरस छु आज, त्यो मेरो भुल भनि जान्दाजान्दै ।

आनन्द भट्टराई "गाउँले"

कविता - "जिन्दगानी"

सृस्‍टिकर्ताले सुसाङ्ख्य रुपी धर्तिमा,
पासवोर्ड इन्ट्री गरि एक क्लिक गर्दा
फाइल स्वरुप फुत्त खुलेको जिन्दगी हाम्रो ।
तिमीलाई त अझै महशुस छैन होला ।
हाम्रो डिजाइनर एउटै थियो ।
हाम्रो  पासवर्ड इन्ट्रिकर्ता एउटै थियो ।
तर निस्क्यौं फरक दुई फाइल, हामी ।
यो एक प्राक्रितिक अकाट्य नियममा अनुबन्धित छ ।

तिमी दुधकोशीको अत्याश् लाग्दो अविच्छिन्न शुसेलीसंगै
सधैं एकै दिशातिर बगिरहन्छौ । गईरहन्छौ ।
ठीक विपरित,
म थोरै कंचन वायु बनी
ऋतु फेर्दै, दिशा फेर्दै
गती फेर्दै, स्थान फेर्दै
निरन्तर् बहिरहन्छु ।
तिम्रो वहाव नियालिरहन्छु ।

म त तिम्रो साथ् लिन सक्छु ।
तिमीलाई चुम्न सक्छु ।
तर तिमी ? अहँ ।
सक्दैनौ, पटक्कै सक्दैनौ ।
त्यसैले प्रिय,
उठ , आफ्नो धरातल भन्दा अलिक माथि उठ ।
जसरी म तल झरेको छु ।
किन आफ्नो हठ त्याग्दैनौ ?
किन स्वार्थको झोली फ्याँक्दैनौ ?
रोक, तिम्रो वहाव रोक ।
र एउटा प्रितको दरिलो किलो यहाँ ठोक ।
हाम्रो भावना साटासाट गरौं ।
एकै छिन यो सन्नाटामा हराऔं ।
कतै भेटिन्छकी जिन्दगीको यथार्थता ।

हाम्रो भेट,
एक समानान्तर रेखाको दुई ध्रुव नहोस् ।
एक नदिको दुई किनारा नहोस् ।
बरु होस्,
एक भौतिक ज्यान र श्वासप्रश्वासको सम्बन्ध जस्तै ।
एक रथ र दुई पाङ्ग्राको सम्बन्ध जस्तै ।
आउ,
संगै हातेमालो गरौं ।
उकाली चढौ ।
ओराली झरौं ।
लुक्वा खोलामा कलकल बगौँ ।
हाम्रो मायाको भेल हामिनै तरौं ।

हामीले याद् राख्नु पर्छ,
एक दिन हामी डिलिट हुनै पर्छ ।
त्यो संगै हुन पनि सक्छ वा अघिपछी ।
यो पनि एक प्राक्रीतिक अकाट्य नियममा अनुबन्धित छ ।
तर केवल रित्तो अलौकिक हात लिएर ।
किनकी लौकिक वस्तु यहाँ सबै त्याग्नै पर्छ ।
यो विवशता हो ।
त्यसैले,
आउ , रमाऔँ ।
हाम्रो कुरुप डाह र स्वार्थ यही त्यागौं ।
एकले अर्कोको हात समाऔं ।
स्वच्छन्दताको आभासमा जिन्दगी बिताऔं ।
सिर्फ यही हो मेरो अनुरोध ।

आनन्द भट्टराई, गाउँले

गजल - "परदेशी भाईको दाजुलाई सन्देश"


ती प्रतिगामी शक्तिको पत्करलाई, गुन्द्रुकझैं खाँध्नु है ।
वहुल   जाति संस्कृतिलाई, राष्ट्रको अस्तिताले बाँध्नु है ।

दिनदिनै  त्यहाँ   आजकाल ,  विभेदको  राँको बल्दैछ रे
त्यसैले दाजु वन्धुत्वको भावना,अब सबैमा लाध्नु है ।

सामन्तको  बाढीले  अखन्डता   हाम्रो, फुट्दैछ रे चाँडो
सबै   भए  वैरी  सकेसम्म दायित्व, आफैलेनै काँध्नु है ।

बहुजाती       भाईहरु,      भड्कीन्छनकी       चितरबितर
भाइचाराको   छंदेउरीले,   सबै    एकै   ठाउँमा   छाँध्नु है ।

आमाको   एक   देह  टुक्रा टुक्रा पार्न, तम्सेलान जवान
राष्ट्रीयताको   लोहोरोले,  एकताको   शिलौटोमा   साँध्नु है ।


आनन्द भट्टराई, गाउँले

गजल - "वैराग"

कति   बाचौँ   अब विक्षिप्त यो आँशु पिएर खै ।
कतिन्जेल  राखौं   फाटेको  यो मन सिएर खै ।

फक्रेको  फूल  टपक्क   टिपी  सजायौ  चुल्ठोमा
के पायौ तिमिले? क्षणिक मस्तिमा जिएर खै ।

जस्को   निम्ति  बाचें  हरपल   त्यै भयो पराइ
भएं  खोक्रो  भएं   बोक्रो   सारा   मन   दिएर खै ।

कैलिझैं   वोल्दै   उनैलाई  डाक्दै   यो  जिन्दगीमा
वसन्त   सकियो     जिवनको    मेरो   खिएर खै ।

आँशु   लिएं   मुस्कान   दिएं सजाएं  दिलमा यो
आज   मै    बेहाल      उनैको   रोदन   लिएर   खै ।


आनन्द भट्टराई, गाउँले,