Saturday, February 23, 2013

गजल - "तिमी बाहेक..."

तिमी बाहेक मनले अरु छान्दैछानेन ।
छोडी जान यो आँखाले मान्दैमानेन ।

जब तिमी मुस्कुरायौ मेरो सामुन्ने
ढुक्ढुकीले गति रोक्न जान्दैजानेन ।

नसा नसा सल्बलायो तिम्रो आकृति
त्यसैले त धैर्यलेनी धान्दैधानेन ।

तिमी भित्रै देखे पछि नील गगन
उडें कहाँ गुरुत्वले तान्दैतानेन ।

गोधुलिमा जब जुध्यो पैलो नजर
यो आत्माले बिरानो हौ ठान्दैठानेन ।



आनन्द भट्टराई 'गाउँले'
खोटाङ        

Sunday, February 17, 2013

गजल - "छाती चर्कियो..."

छाती चर्कियो मध्य रातमा ।
पीडा बल्झियो मध्य रातमा ।

प्रेम नगरी छोडी गयौ की
मेघ गर्जियो मध्य रातमा ।

मन गएछ तिम्रो साथमा
तन याँ थियो मध्य रातमा ।

भइ छट्पटी निद छैन लौ
याद बर्सियो मध्य रातमा ।

कस्तो मोहनी लायौ निस्ठुरी
आँशु झर्दियो मध्य रातमा ।

नगरी = नगर, शहर

आनन्द भट्टराई "गाउँले"
खोटाङ