Saturday, October 22, 2011

गजल - "भाइटीका पर्खुँ भने..."

भाइटीका पर्खुँ भने छुट्टी मेरो छोटो थियो ।
वर्सै पिच्छे यस्तो खेप्ने कर्मै मेरो खोटो थियो ।
 
मखमली सयपत्री फुलबारिमा हाँस्दा पनि
टुलु टुलु हेर्न विवश मैले छाड्या भोटो थियो ।
 
सप्त रङ्गी टीका मेरो निधारमा हुने बेला
दिदीको त्यो उपहार सम्झनामा फोटो थियो ।
 
बाहिर म हाँसे पनि भित्र बसी पोलिर'ने
साहुको त्यो बोली अनी ऋणको रकम मोटो थियो ।
 
प्रवासमा नजाउँ त वर्स दिनमा आर्जिएर
आधा वर्स खान पुग्ने ढिंडो अनी रोटो थियो ।
 
 
नोट:- घायलको तरही मुसयरा भाग २१ को आधारमा रचित गजल ।
 
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ       

Sunday, October 16, 2011

गजल - "एकान्तको फूलबारीमा"

 
एकान्तको फूलबारिमा फुली रहेछु ।
कै'ले लाग्छ तिम्रै छेउ भुमी रहेछु ।
 
भावनामा आँचल पक्री प्रेम दर्शाइ
गाजल बनी नयन तिम्रा चुमी रहेछु ।
 
हिंडेथें म बादलुको घुम्टो ओढाइ
आज फेरि सामिप्य दिन गुनी रहेछु ।
 
भञ्ज्याङ पनि हाँस्दैन नी तिमी नहुँदा
एक्लै बसी मनको बाढी थुनी रहेछु ।
 
सागर भेट्न बगी जाने गंगा बगेझैं
फाटेको मन विरहमा तुनी रहेछु ।
 
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ

Saturday, October 15, 2011

गजल - "सँधै नै खुशी हौ"

 
पालेर तिमी इच्छाको पोको सँधै नै खुशी हौ ।
म हुँदा पनि मायाको भोको सँधै नै खुशी हौ ।
 
कल्पिंदै तिम्रो नाग्वेली मैले साउने झरीमा
प्रितीको भारी बोक्दा'नी डोको सँधै नै खुशी हौ ।
 
चाहान्छौ जहाँ त्यहींनै फुल्ने बैंसालु फूल हुँ
स्वीकारी अब जवानी चोखो सँधै नै खुशी हौ ।
 
मिर्मिरमै झुल्की आउँछु पर्ख रश्मी भै' चुम्न म
पुर्याइ दिन्छु मायाको धोको सँधै नै खुशी हौ ।
 
नभए स्वीकार सिङ्गार्न तिम्रो प्रितीको आलय
म बनी दिएँ बलीको बोको सँधै नै खुशी हौ ।
 
नोट:-  घायलको तरही मुसयरा भाग २० को आधारमा रचित गजल ।       
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ

Saturday, October 8, 2011

गजल - 'अधुरो यात्राको'

अधुरो यात्राको भएँ म यात्री ।
आशा छ अझै'नी मिल्छ की दात्री ।

अद्रिश्य पवन पक्कै छ साथमा
बढ्नेछु अघाडी भए'नी रात्री ।

यो भूमी बाटनै नास्नेछु अब
जन्मने छैनन वैरिका भात्री ।

अर्पेर जिन्दगी राष्ट्रमा मेरो
गर्नेछु सेवा म भएर धात्री ।

सपुत हुनेछु परन्तु हेर
मरेर यहाँ म बाँच्नेछ मात्री ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

Monday, October 3, 2011

गजल - "बहुरुपी जिन्दगीको"

बहुरुपी जिन्दगीको धेरै कथा सुने मैले ।
छानी छानी त्यहींबाट  संघर्षनै चुने मैले ।

लाज ढाक्ने जाडो छेक्ने वश्त्र विना शिशिरमा
टुक्रा टुक्रा टालाहरु बटुलेर तुने मैले ।

कहालिंदो भाग्य देखि मुटु मेरो भक्कानिदा
टिलपिल आँशुहरु बल गरि थुने मैले ।

दैव पनि मेरै थाप्लो टेकी सधैं हाँसीदिंदा
व्याथाहरु टुक्रा पारि झीरभरी उने मैले ।

बज्रिएका बज्रहरु आँखा चिम्ली सहेरनै
बल्ल आज दु:ख छेक्ने तार जाली बुने मैले ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "चाहान्छौ"

दौँतरीको मुना तिमी छास्न चाहान्छौ ।
मायालाई धुलो सँग जाँच्न चाहान्छौ ।

भुलेर यो यथार्थता मर्ने चोलाको
सानो गल्ती जुनिभरी साँच्न चाहान्छौ ।

परेवीझैँ बाचौँ भनि माया लाएथें
फेरि आज माया व्रिक्ष भाँच्न चाहान्छौ ।

वेदनाले मुर्छा पर्दा तिम्रै सामुन्ने
पछि फर्की खित्का छोडी हाँस्न चाहान्छौ ।

सोधुँ सोधुँ लाग्न थाल्यो अब करैले
म बिना के तिमी एक्लै बाँच्न चाहान्छौ ?

नोट:- 'घायल'को तरही मुसयरा भाग १९ को आधारमा रचित गजल ।


आनन्द भट्टराई "गाउँले"
    

गजल - 'जिन्दगी'

दु:खको पहाड फेदैमा कप्न सक्ने पो जिन्दगी ।
घाम र पानी पत्थरझैँ खप्न सक्ने पो जिन्दगी ।

जन्जिरको बाटो जतिनै लामो भए'नी के भो र
नखाइ हरेस साहश थप्न सक्ने पो जिन्दगी ।

पाउन पुण्य अर्को जुनिमा नगरी कोटी होम
कर्तव्य विधी युक्तीले जप्न सक्ने पो जिन्दगी ।

सिरेटो खाइ शिशिर यामको औंशीको रातमा
पिपलुबाट दुबोमा तप्न सक्ने पो जिन्दगी ।

पसिना विवेक छरेर यहाँ कर्मको रेखामा
फुलाई फूल यो विश्व टप्न सक्ने पो जिन्दगी ।

आनन्द भट्टराई "गाउँले"