Thursday, June 30, 2011

गजल - "परेली नचाई"



परेली नचाई भुतुक्कै पार्यौ । 
मोहनी बोलीले वाचा'नी टार्यौ । 

भन्यौ जूनी जूनी म तिम्रै हुँ नी 
फेरि दिलको बाटो अहिल्यै बार्यौ । 

फेरेर मायाको मुलबाटो हाम्रो 
काँधी अर्कैलाई समुन्द्र तार्यौ । 

पानी की जवानी लागेको तिर्खा 
गाउँ वस्ती सारा निस्फिक्री चार्यौ । 

आँशुको उजुरी नसुनी मेरो 
बैंसको ताउमा पारेर मार्यौ । 


आनन्द भट्टराई गाउँले 
खोटाङ 

Sunday, June 26, 2011

गजल - "जिन्दगीको गोरेटोमा"

जीवन हो फुलबारी जिन्दगीको गोरेटोमा ।
युक्ती भए हुन्न भारी जिन्दगीको गोरेटोमा । 

पसिना र विवेकको संगम हो जिन्दगी यो 
साथ लिए तार्छ पारी जिन्दगीको गोरेटोमा । 

अघिल्तिर छरिएका काँडाहरु नपन्साए 
हुन्न जित आँशु झारी जिन्दगीको गोरेटोमा । 

विधाताको विधान हो सङ्गै अघि बढ्नु पर्छ 
सहयात्री नरनारी जिन्दगीको गोरेटोमा । 

यात्रा हाम्रो टुङ्गिन्छनै तर बाटो नटुङ्गे'नी 
रुक्नु हुन्न आफै हारी जिन्दगीको गोरेटोमा ।  


आनन्द भट्टराई "गाउँले" 
खोटाङ
    
नोट:-  'घायल'को तरही मुसायरा भाग १६ को आधारमा रचित गजल ।

Friday, June 24, 2011

गजल - "मेरो सार"


सुन्दर त्यो एक फूल, वरिपरि झार थियो । 
गोड्न जाउँ बाटो छेक्ने, धेरै अग्लो बार थियो । 

इच्छाएको काम गर्न, चाहाने त्यो किसानको 
समाजका भनाउँदा, ठालुहरु भार थियो । 

पिंजडामा कोचिएका, निर्दोस ती पंक्षि सामु 
केही पछि भोग लिने, चुलेसीको धार थियो । 

श्रम सीप युक्त थिए, दर्जिएका तल्लो जाति 
जित्ने खाली ठुलाहरु, तीनको सधैं हार थियो । 

मौलाएका झार बार, हार अनी धार भार
तोडें सबै किनकी म, जिउनुको सार थियो । 


आनन्द भट्टराई "गाउँले"

Monday, June 20, 2011

गजल - "विदेशमा"

यो विरानो वस्ती भित्र पसिनामा गलियो ।
मातृभूमी छोडी आज परभूमी मलियो ।

कर्मभूमी भएपनि कर्म कुनै नहुँदा
निच भई सधैं अर्को इशारामा चलियो । 

तारा चुम्ने लक्ष्य थियो जिन्दगीको यात्रामा
आधा बाटो नपुगिनै निराशाले जलियो ।

प्रियसीको जवानी त्यो ढकमक्क फुल्यो की
यहाँ मेरो फुल्ने दिन भाग्य बाटै छलियो ।

चौगरेमा लहलह जूनेलो र कागुनी
नहुने भो कल्पिदैमा बडेमान खलियो ।

सबै सामु उँचो हुने नेपाली शिर भए'नी
दासी भइ पराईको सामुन्नेमा ढलियो ।

घरबारी सिंची मेरै मार्शीधान झुल्थ्यो नी
पौरखले गर्या भए मासी रै'छ बलियो ।

आनन्द भट्टराई "गाउँले"
खोटाङ

Sunday, June 19, 2011

गजल - "मानेन मन"

 
अनगिन्ती पीडा बोकी हाँस्न पनि मानेन मन ।
भोलि पोख्ने प्रीत प्याला साँच्न पनि मानेन मन ।

हेर्दा हेर्दै फुल्न थाल्यौ पराईको फुलबारिमा
पहिलेनै तिम्रो बोट भाँच्न पनि मानेन मन ।

विश्वासले अङ्गालेथें तर रै'छौ स्वार्थी भमरा
त्यो बेलामा तिम्रो माया जाँच्न पनि मानेन मन ।

लाली देख्छु ओठै पिच्छे जगतमा म चैं अभागी
पराईको खुशी संगै नाच्न पनि मानेन मन ।

चोट लीइ बाँचिराथें उही तिमी छोडी जानेको
उपरान्त रोइ रोइ बाँच्न पनि मनेन मन ।
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ

नोट:- 'घायल'को तरही मुसायरा भाग १५ को आधारमा रचित गजल ।

Wednesday, June 15, 2011

गजल - "सपनि"

सपना'नी कस्तो देखें त्यो दीलमा आउँदै थिएँ ।
एकान्तमा दील खोलि तिम्रो गीत गाउँदै थिएँ ।
 
मेरो साथ तिमी हुँदा रङ्गीचङ्गी देखें फुलैफूल
एक थुङ्गो टिपी तिम्रो चुल्ठो माथी लाउँदै थिएँ ।
 
कुनै बेला थियो सारा चकमन्न जुनेली रात
भावनामा उही पल तिम्रो वस्ती धाउँदै थिएँ ।
 
सिमसिमे पानी पर्दा वर्सा याम हुँदो हो की त
कल्पनाको संसारमा प्रीत छानो छाउँदै थिएँ ।
 
कस्तो मिठो सपनि हो व्युँतिएर नआउँ जस्तो
परेली यो खुल्दा सम्म तिम्रो साथ पाउँदै थिएँ ।
 

आनन्द भट्टराई "गाउँले"

Sunday, June 12, 2011

गजल - 'नेपाल आमा'

नेपाल आमा बोल्छिन् उठी मेरो रचनामा ।
सन्ततीलाई बन्छिन् गुठी मेरो रचनामा ।

भोक लाग्दा माटो दिन्छिन् गरि खानलाई
नेपाली माझ आँफै जुटी मेरो रचनामा ।

निरङ्कुशको पक्षपाती पोल्ने राँको बल्दा
शीतल दिन्छिन् वैरी भुटी मेरो रचनामा ।

पानी नपाई धाँजा फाट्दा चैते खडेरिमा
बग्दै आउँछिन् मूल फुटी मेरो रचनामा ।

"गाउँले"माझ मात्रित्वको स्नेह फैलाउन
नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा ।

आनन्द भट्टराई "गाउँले"
खोटाङ
 
नोट:- घायलको तरही मुसायरा श्रिङ्खला भाग १४ को आधारमा रचित गजल ।

Monday, June 6, 2011

गजल - "गोधूलि"

जवानीको वहार बोकी आउँछ गोधूलि ।
शुन्यतामा प्रेमको गीत गाउँछ गोधूलि ।
 
दु:खी दिन विदाइ गरि क्षितिज नाघेर
उमङ्ग यो साथमा लीइ छाउँछ गोधूलि ।
 
हाँसी हाँसी अप्सरा आइ अङ्गाले जसरी
प्रेम रोप्न यो दिल भित्रै साउँछ गोधूलि ।

मधुमय पवन छरी धर्तीका प्राणीमा
चुमी चुमी पिरती सधैं लाउँछ गोधूलि ।

लखेटे'नी रातले सधैं नखाइ हरेस
हाँस्दै फेरि हरेक दिन धाउँछ गोधूलि ।


आनन्द भट्टराई "गाउँले"

Sunday, June 5, 2011

गजल - "फल्दै गा'को"

फल्दै गा'को जनताको क्रान्तिलाई गलाउनु हुन्न ।
सपुतको नेत्रित्वले राष्ट्रियता जलाउनु हुन्न ।
 
देशवासी हेर्दैछन सुशासन उन्नतीको बाटो
स्वाभिमानी नेत्रित्वको आस्थालाई ढलाउनु हुन्न ।
 
पुण्य भूमी हाम्रो देश फले यहाँ सीता बुद्ध धेरै
लत्याएर यस्तो भूमी व्यभिचार फलाउनु हुन्न ।
 
रोपौँ मिली दिगो शान्ति यो राष्ट्रमा रिस राग त्यागी
वन्दुकको खेल खेली रक्त राँको बलाउनु हुन्न ।
 
घर हो यो डाँफे चरी गुराँस र सगरमाथाको
सुन्दरता, वैभवता चिनारी यो छलाउनु हुन्न ।
 
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ,
 
नोट:- 'घायल'को तरही मुसायरा श्रिङ्खला भाग १३ को आधारमा रचित गजल । 

Thursday, June 2, 2011

गजल - "फूल देख्दा"

फूल देख्दा वगैंचामा भमरा'नि भुल्दो रै'छ ।
प्रियसीको नजरमा जवानी यो फुल्दो रै'छ ।

अविरल छहराझैँ झरिर'ने मायाप्रिती
पवन भै मायालुको वरिपरी डुल्दो रै'छ ।

चाह बोकी पिरतीको उनी आइ सामिप्यमा
चिहाउन खोज्दा पनि दिलको ढोका खुल्दो रै'छ ।

टुसाएका इक्ष्छाहरु उनी सामु पर्‍यो की त
धपक्कै त्यो चन्द्रमुखी अधरमा घुल्दो रै'छ ।

कस्तो हो यो माया भन्ने? वेमौसमी बाली जस्तो
बार्हैमास पाकेसरी लहलह झुल्दो रै'छ ।


आनन्द भट्टराई "गाउँले"