Sunday, May 29, 2011

गजल - 'ख्याल ख्यालै'

ख्याल ख्यालै यो आँखाको नानी भयौ तिमी आज ।
जवानी यो रुझाउँने पानी भयौ तिमी आज ।

गोरेटोमा सुरु भा'को सुक्ष्म थियो तिम्रो प्रेम
सयौँ जूनी माया दिने दानी भयौ तिमी आज ।

मेरो लागि लोक भन्दा हितकारी गुणकारी
नरित्तिने अनन्त यो खानी भयौ तिमी आज ।

भावनाको कुरा गर्दा लजाएर मुख छोप्थ्यौ
हिंजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज ।

छरिएका नयन यी एकोहोरो पारिकन
यो मनको मझेरिमा रानी भयौ तिमी आज ।

आनन्द भट्टराई "गाउँले"
Note:- Created on the basis of GHAYAL's Tarahi Musayara Part 12.

Tuesday, May 24, 2011

गजल - 'किन ?'


किन मान्छे आफै भित्र खिएर मर्छन ?
किन मान्छे सधैं आँशु पिएर मर्छन ?

सृस्‍टिको यो खुशीलाई नदेखी किन हो
दुखी मन सँग सधैं जिएर मर्छन ?

विधाताको विधान यो बुझेर'नी किन
जिन्दगीमा गर्व मात्रै सिएर मर्छन ?

थाहा छ नी आफ्नै प्राण लिन्छन दैवले
किन फेरि परप्राण लिएर मर्छन ?

दुखाइका दर्दहरु भोगेर'नी सबै
किन फेरि चोट मात्रै दिएर मर्छन ?


आनन्द भट्टराई "गाउँले"

Sunday, May 22, 2011

गजल - 'के को चासो'

तिर्खाएर आँत मेरो जलेपछी के को चासो ।
भञ्ज्याङमा एक्लै पारी छलेपछी के को चासो ।

प्रित रोपी सजाएको फुलबारी डढेपनी
तिम्रो प्रित उतै तिर फलेपछी के को चासो ।

एकान्तमा आँशु झर्दा क्षितिजमा लुक्यौ सधैं
विना साथ यो जिन्दगी ढलेपछी के को चासो ।

तिमी गयौ डाँडा काटी म एक्लै छु डाँडा वारी
सम्बन्धमा शितहुरी चलेपछी के को चासो ।

हेर्दाहेर्दै खुशीहरु रित्तिएर भित्रभित्रै
आँशु बगी पिडाहरु गलेपछी के को चासो ।


आनन्द भट्टराई "गाउँले"

Note :- This creation is created on the basis of GHAYAL's Tarahi Musayara part 11 .

Friday, May 20, 2011

'नेपालमा धार्मिक र जातिय सहिष्णुता'

आज भन्दा निकै समय पहिले नेपालको एकिकरण कर्ता पृथ्वीनारायण शाहले एक दिव्य बोली बोलेका थिए, "नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो" भनेर । तर नेपाल अब यसैमा मात्र सिमित रहेन । यो उक्ती कुन दृष्‍टिकोण र विचारबाट बोलेका थिय ती एक महान राष्ट्र निर्माताले जसले त्यो बेलाको नेपाललाई आजको नेपाल सम्म ल्याइपुर्याउन आफ्नो सम्पुर्ण जिवनकाल युद्दमै समर्पण गरेका थिय । नेपाल अहिले त्यहि अनुरुप अघि बढिरहेको छ तर ठीक विपरित उद्देस्य लिएर अर्थात एकिकरण पूर्वको अवस्था तिर ।
            जात एक पहिचान हो तर विभेदको जड भने हैन । यसलाई आफ्नो परिचय, संस्क्रिती र चिनारीको रुपमा लिनुपर्ने हो । तर यो शताब्दी सम्म आइपुग्दा पनि जातिय मतभिन्नताले नेपालमा गहिरो छाप पारिरहेकै छ जसको अनुययी बन्न छोडेका छैनौ हामि आम् नेपाली । पृथ्वीनारायण शाहले "नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो" भनेर यो अर्थमा भनेका थिएकी उनले विभिन्न भागमा छरिएर रहेका जातिय राज्यहरु जस्तै लिम्बुवान, खुम्बुवान, नेवा, तम्सालिङ इत्यादी सवैलाई एकिकरण गरि एक सिङ्गो नेपालको निर्माण गरेर तत पश्चात सवै जातजाती र अनेकौँ धर्म संस्क्रिती भएका नेपालीहरु अव एक सिङ्गो नेपालमा समावेश भए है भन्ने अर्थ स्वरुप यो उक्ती बोलेका थिए ।
         उसोत एक फुलबारीमा सवै प्रजातिका फूलहरु स्वतन्त्र रुपमा फुल्न पाउँछन र फुल्न सक्छन पनि । तर 'नेपाल' फुलबारिका यी विभिन्न जातका फूलहरु बीच किन यत्रो चरम मतभेद ? जसभित्र एकले छोएको पानी अर्कोलाई चल्दैन । एकको घरमा अर्को पस्न सम्म पनि पाउँदैन । त्यसैले उनले सोचे अनुरुपको नेपाल रहेन अब र त्यस्तो बाटोमा पनि लागेन ।
         वर्तमान अवश्थामा विश्व समुदायबाट हेरेर, सिकेर वा स्व-चिन्तनले पनि अब यस्तो कुपरम्परा त्याग्नु पर्ने बेलामा अझ जातिय विभेद चरम अवस्थामा पुगेको छ । जस अनुरुप विभिन्न जातका देशवासीहरुले आफ्नै जातिय राज्यको माग गरिरहेका छन् । पछिल्लो अवस्थामा राजनैतिक दलहरुले पनि जातको आधारमा नेपाललाई सङ्घियतामा लैजाने मुद्दा उठाएका छन् । यसले झन यो विभेदलाई विकराल अवश्थामा पुर्याउने लगभग निश्चित देखिन्छ । यसको अलवा भौगोलिक वनावटको आधरमा वा अन्य क्षेत्रगत आधारमा सङ्घियतामा परिवर्तन गरि जातलाई शिर्फ आफ्नो चिनारीको रुपमा मात्र प्रयोग गर्नु पर्ने अहिलेका आम् नेपाली र राजनैतिक दलहरुको मुख्य दायित्व भएको छ ।
              यी यावत कुराहरु सवैले बुझ्नु जरुरी छ की जात, धर्म र चलिआएका प्राचिन परम्परा बीच घनिभुत वैचारिक सम्बन्ध स्थापित हुनुपर्छ जसमा सानो र ठुलो वा त्यो जात र यो जात भनि विभेद गरिनुहुन्न ।


आनन्द भट्टराई "गाउँले"

गजल - 'म टुहुरो'

म माथिनै त्यो आकाश झारिदिए हुन्थ्यो बरु ।
त्यो नभए एकै बज्र पारिदिए हुन्थ्यो बरु ।
 
टुहुरो म हुनु रै'छ सानिमाको हेला खप्न
आँशु कति ? श्वासनली बारिदिए हुन्थ्यो बरु ।
 
बाहिरको वास मेरो मान्छे फेरि जात मेरो
घर न'भा गोठ तिरै सारिदिए हुन्थ्यो बरु ।
 
पल पल आँशु किन ? म पनि त मानव हुँ
हरे दैव! मर्त्यलोक तारिदिए हुन्थ्यो बरु ।
 
ढाकिएको आङ छैन वटुकामा माम छैन
रुवाएर राख्नु भन्दा मारिदिए हुन्थ्यो बरु ।
 

आनन्द भट्टराई "गाउँले" 
 
नोट:-  'घायल'को तरही मुसायरा भाग १० को आधारमा रचित गजल ।            
      :-  सानिमा भनेर सौतेनी आमालाई सम्बोधन गरिएको छ ।

Monday, May 16, 2011

कविता - 'स्मरण'

भनिन्छ अतितलाई नसम्झनु,
मात्र वर्तमान अनी भविस्य ।
तर व्यस्तताले रन्थनियको वर्तमानबाट
केही क्षण शुन्यतामा चुसुक्क बसेको बखत
अतितका रश्मीहरुले खप्पर छेडी मगज चुमे आज ।
 
लाग्छ म चिउरी पाखामा कालेगोरुलाई
अँगेरीको काँचो लठ्ठीले कुटिरहेको छु ।
झ्याप्ली बाख्राले डाँडा बारीको कोदो सखाप पार्दा
आक्रोसले खोरमा थुनेर चोट लाग्ने गरि चुटिरहेको छु ।
कठै काले, कठै झ्याप्ली
आजत स्वर्गको रानिवनमा चर्दै हौला,
क्षमा देउ है,
मैले होनहार गल्ति गरेँछु ।
 
साउनको सिम्सिमे वर्शा संगै
कुइभिरबाट उकालो लागेको हुस्सुले घरबारी ढपक्कै ढाक्दा
मौका छोपी सेतो ढेडु मकै चोर्न आएको पल
म मकै रुङ्ने मकै गोठालो
अनी,
ढेडुद्वरा आफै लखेटिएको क्षण ।
आहा कस्तो अचम्म !
त्यो परिस्थिती
त्यो वाल्यकाल ।
 
प्रभातको मिर्मिरे अगावै चकमन्न रातमा
आमा सखारै उठी मुठी मुठी गरि ओइरो लगाउँदै
कोदो पिसेर छाक पुग्दा,
बाबाले खुट्टामा पोया लगाइ बाटेको काले गोरु बाँध्ने
दाम्लोको गलामे गाँठो परिसक्थ्यो ।
लाग्छ म अहिले पनि त्यहि मिर्मिरेमा
मस्त निदाइरहेछु
आमाले कोदो पिसेको सङितमय ध्वनी संगै ।
 
गोधुलीले जवानी रुप नलिँदै
मन्द टुकीको उज्यालो भित्र
मिर्मिरेमा पिसेको पिठोले
विस्तारै ढींडोको रुप लिंदै हुन्थ्यो
एक फलामे दाविलो बाट मस्की मस्की ।
जसको सहयात्री गुन्द्रुक फाँडो,
लाग्छ म त्यहि ढींडो खोर्सानी मिचेको गुन्द्रुक फाँडोमा चोपेर
नचपाइ निलिरहेछु मुली थामको फेदमा बसेर
जिब्रो पट्काउँदै ।
 
पँधेरामा भेट्ने पल्लो गाउँकी च्यान्टी सँगको कर्के नजर होस्
वा
पिँधबाट पानी चुहुँदै ल्याएको हरियो खरुकीको भारी,
आहा ! लाग्छ म लालेको बारिमा सिम्सिमे वर्सासंगै
कोदो रोपिरहेछु घुम ओढेर ।
 
त्यस यता कैयौं वसन्त विदेशमै विते
साथै वितेछन सवै जिन्दगिका वहारहरु ।
न आउँछ त्यो वालापन फर्केर अव
नत देखिनेछन ती फुलबारिमा फुलेका मखमली, ग्यान्था र गोदावरीहरु,
नत टेकिनेछन ती नसा गल्ने उकाली र घुँडा दुख्ने ओरालीहरु । 
केवल सम्झनामा अनेकौं तरेलिहरु
आइरहन्छन ।
छाइरहन्छन ।
वर्तमान मस्तिस्कमा ।
 
 
आनन्द भट्टराई "गाउँले"

Sunday, May 15, 2011

गजल - 'वित्यो जिन्दगी'

गोधुली र प्रभातमा रुएरै वित्यो जिन्दगी ।
बार्हैमास खडेरीमा सुकेरै वित्यो जिन्दगी ।
 
लक्ष्यहरु फुलाउने सपना टुटी सारा ती
प्रयासको चाल्नोबाट चुहेरै वित्यो जिन्दगी ।
 
तारा टिप्नु थियो मैले उक्लेर अलिक माथी
उठ्न खोज्दा सेपभित्र कुहेरै वित्यो जिन्दगी ।
 
गाँस वास खोज्दा खोज्दै नपाई भोकमरीले
अनन्त यो सागरमा डुबेरै वित्यो जिन्दगी ।
 
शिर उँचो पारी सधैं हाँसेर जिउँछु भन्दा
बाध्यतामा परपाउ छुएरै वित्यो जिन्दगी ।
 

आनन्द भट्टराई 'गाउँले'

Monday, May 9, 2011

'चट्कनको चटारो सम्बिधानको झटारो'

वर्तमान नेपाल एक संकटग्रस्त राजतितिक अवस्थामा गुज्रिरहेको कुरा आम जनतामा दुई मत नहोला । उसोत इतिहासका विभिन्न कालखण्डमा पनि नेपालले यस्तै नियती भोग्दै आइरहेको छ । कहीले राजनैतिक, कहीले सामाजिक, कहीले धार्मिक इत्यादी । अझ भन्दापनी सवैभन्दा पछिल्लो नेपालको राजनैतिक अवस्था गन्तव्य विनाको यात्रा जस्तै भएको छ । हुनत गन्तव्य सम्विधान बनाउने र शान्ति प्रक्रिया टुङ्गो लगाउने हो । तर हरेक पटक तोकिएको मिती सारिन्छ भने यस्को गन्तव्य कस्ले ठोकुवा गर्न सक्छ ? यहि अवस्थाले गर्दा देशको अर्थतन्त्र नाजुक बन्दै गैरहेको छ भने शक्ति भन्दा बाहिरको शक्तिले शक्तिवालाको शक्ति हत्याउने प्रयत्न गरिरहेको छ । सम्विधान सभाको आयु सकिन थोरै दिन मात्र बाँकी हुँदा पनि राजनैतिक दलहरु आपसी सत्ताको लुछाछाडीमै अल्झिरहेका छन् भने भर्खर मात्र पूर्व पञ्चहरुले उनिहरुको पक्षबाट २०४७ सालको सम्विधान पुन:स्थापना भएको घोषणा गरे । यसले के देखिन्छ भने पूर्व राजसँस्थाका लाउकेहरुको दर्हो साँठ गाँठ वर्तमान राष्ट्रका टाउकेहरु सँग रहेको अनुमान गर्न सकिन्छ ।
          देशमा रहेको अती धनी र अती गरीब बीचको अती बिशाल खाडल हटाउने,देशमा क्रान्तिकारी परिवर्तन गरि दश बर्षमै स्विजरल्यान्ड बनाउने,नयाँ विचारधाराको जनतामा निहित सम्विधान बनाउने, साम्यवाद लागु गर्ने आदि वुलन्द आवाजका साथ राजनैतिक क्षेत्रमा होमिएका सम्यवादी दल भनाउदा दलका अगुवाहरु पनि अहिले शक्तिकेन्द्रमा पुगेपछि विभिन्न तस्करी, भ्रस्टचार, कानुनको उल्लङ्गन जस्ता अनैतिक र गैरजिम्मेवरी पूर्ण काममा मुछीइरहेका छन, त्यसैले उनिहरु बाहिर निस्कनुको अलवा कानुनको हतकडी आफ्नै आगनमा आइपुग्योकी भनेर महलको आँखीझ्यालबाट चिहाइरहेका छन् । देशमा व्यप्त प्रचिन र रुढिवादी परम्परा तोड्दै नयाँ प्रगतिशिल चेतना जनतामा छर्नु त कहाँ हो कहाँ उल्टै आफ्ने उद्देस्य बिर्सेर आफ्ने स्वार्थी दाएराबाट बाहिर सम्म आउन सकेका छैनन् । जनताले दिएको जनादेश विर्सेका छन्, आफू उठेको आधारशिला र उठाउने जनतालाई पुरै लत्याएका छन् । त्यसैले पाएको जनादेश र उद्देस्यको लिकमा जबसम्म उनिहरु आउदैनन तवसममा मुलुकमा व्याप्त सङ्कटग्रस्त अवश्थाबाट राष्ट्रले मुक्त्ती पाउँदैन भन्ने यो पङ्तिकारको ठम्याइ छ ।       
                यिनै व्याप्त कुक्रित्य र मनपरिका कारण आजकाल जनताको सहने सीमा तोडिन थालेको उदाहरणहरु यदा कदा देखा पार्न थालेका छन् । जस्को लक्षण हो नेतालाई हाकाहाकी चट्कन हान्ने क्रम,यो प्रक्रिया दोस्रो पटक सम्म दोहोरीइसकेको छ । अझै पनि राष्ट्रका पहरेदरहरुले आफ्नो जिम्मेवारी सजकताका साथ नसम्हाले सम्म यो क्रम जारी रहन सक्छ तबकी अन्तिम घडिमा नेतालाई चट्कन हान्न जनतालाई चटारो पर्ने छ साथै जनाताबाटै हानिएको अपुर्ण र अविकसित सम्विधानको आक्रोसित झटारो नेताकै अनुहारमा पर्ने छ, जुन जनताको आक्रोसको पराकास्टा हुनेछ । जस्को जिम्मेवरी पनि उनिहरुलेनै लिनुपर्ने छ ।


आनन्द भट्टराई "गाउँले"

गजल - "वर्सौं वित्यो"

वर्सौँ वित्यो नभेटेको हाल थाहा पाउँ ।
मायालुको नदेखिने चाल थाहा पाउँ ।
 
नजरमा टिकी राख्ने कस्तो हो त्यो बैंस
मोहनीले तानी राख्ने जाल थाहा पाउँ ।
 
तिमी र म दुई ध्रुव हुँदा पनि सधैं
चुमी बस्ने पिरतीको खाल थाहा पाउँ ।
 
हाम्रो माया बगी जाने गंगा हो की सानु
युगौं युग जमी बस्ने ताल थाहा पाउँ ।
 
यौवनले चढ्यो अरे अधरमा लाली
मुटुभित्र उर्लिएको छाल थाहा पाउँ ।
 
 
नोट:-  'घायल'को तरही मुसायरा भाग ९ को आधारमा रचित गजल । 
     :-  निम्न शब्दहरु निम्न अर्थ लाग्ने गरि प्रयोग गरिएको छ ।
         जाल :-  कर्तुत
         खाल:-  प्रकार वा श्रेणी
 
आनन्द भट्टराई "गाउँले"

गजल - 'फक्रेको फूल'

फक्रेको फूल ओइलिन्छ त त्यो वगैँचामा के आइ भो र ।
झर्छन भने वलिन्द्र आँशु प्रीतको गीत के गाइ भो र ।
 
शुन्यता बीच संसारै भूली संगै जिउँने गरेका वाचा
भोलिदेखिनै टुट्छन भने कसमहरु के खाइ भो र ।
 
अमृत रोप्दा अमृतै फल्छ फल्दैन कहिं विशालु विश
अमृत रोप्दा जहर फल्ने खेतमा अब के धाइ भो र ।
 
जिवनै सुम्पी जिन्दगी भरी प्रितको छानो छाउँछु भन्दा
जति छाए'नी चुहिन्छ भने मारेर आश के छाइ भो र ।
 
त्यो समिपको प्रतिक्षा गर्दै लालित्यपुर्ण जोवन साँची
आशाको दियो बालेर सधैं अधुरो माया के लाई भो र ।

आनन्द भट्टराई "गाउँले"

Wednesday, May 4, 2011

गजल - 'आमा'

धैर्यता र ममताकी भरिपुर्ण खानि आमा ।
सन्ततीको भुमी सिँच्न सधैं पर्ने पानी आमा ।

जगतले जति दिन्छ प्राणीलाई प्राण धान्न
त्यो भन्दा'नी कैयौं गुणा अविरल दानी आमा ।

कोमलता कति कति प्रतिभा'नी उत्तिकै छ
अरुलाई फुलाउँछिन आफु काँडा छानी आमा ।

गुरुत्वले धाने जस्तै राखी आफ्नै सेरोफेरो
हुर्काउंदै ज्ञान दिंदै फुलाउने मानी आमा ।

सुपुत्र र सुपुत्रीको जन्म दीइ लोक धान्ने
पवनझैं प्राण प्यारी व्रम्हाण्डकै रानी आमा ।


आनन्द भट्टराई "गाउँले" 

 नोट:- मानी = जाँतोको बिचमा रहेको एक सानो फलामको डंडी, जसले जाँतो अनियन्त्रित हुनबाट रोक्छ । 

Sunday, May 1, 2011

गजल - "आँशु रोप्छु"

आँशु रोप्छु तिमीलाई हाँसो फल्छ भने ।
मरी दिन्छु तिम्रो लागि वैरी ढल्छ भने ।
 
हाकाहाकी भन प्रिय चित्त दुख्यो के मा
फर्किदिन्छु तिमिबाट प्रीत गल्छ भने ।
 
विल्न सक्छु क्षितिजबाट नफर्किने गरि
हाँसी हाँसी त्यो जिन्दगी सधैं चल्छ भने ।
 
अध्यारोमा रुमलिंदा स्विकारिनौ साथ
वस्ती छाडी हिंडी दिन्छु दियो वल्छ भने
 
एकान्तको चौतारिमा टोलाएर वस्दा
शीत बनी तप्की दिन्छु धैर्य छल्छ भने ।

आनन्द भट्टराई 'गाउँले'

नोट:- 'घायल'को तरही मुसायरा भाग ७ को आधारमा रचित गजल ।

गजल - 'नेता'

तिम्रो स्वार्थ त्यागी अब नवरश्मी छर नेता ।
जनताको सेवा गर्ने कर्तव्यमा मर नेता ।
 
सुशासित हुने दिन पर्खी साध्य छैन यहाँ
सम्विधान लेख्ने मिती किन सार्छौ पर नेता ।
 
हलो जुवा डोको नाम्लो भए हाम्रो सहयात्री
यथार्थको चुरो बुझ्न गाउँ तिर सर नेता ।
 
माथी वसी झुटो बोल्ने नबनाउ दिनचर्या
जनताको आशा भित्र नवरस भर नेता ।
 
राष्ट्रलाई सिँची राम्रो रसराग युक्त पारी
संसारकै सुगन्धित बगैंचामा दर नेता ।

आनन्द भट्टराई 'गाउँले"
 
नोट:- 'घायल'को तरही मुसायरा भाग ८ को आधारमा रचित गजल ।