Friday, April 26, 2013

गजल - "दौलत भन्नु..."

दौलत भन्नु सिर्फ उस्को नाम्लो अनि डोको थियो ।
कसोरी खै विश्व जित्ने उस्कै यौटा धोको थियो ।

समाजका सामन्तको दासी भइ बाँच्नु पर्दा
भोलि सम्झि बिछ्यौनामा भक्कानिदै रोको थियो ।

हातो पक्री बस्थी बूढी झिस्मिसेमै कोदो पिस्न
तर कस्तो नियति हो उस्कै पेट भोको थियो ।

दौरा हो की हन्बेर्नो हो चिन्नै गार्हो शरीरको
अझै उस्को तारा टिप्ने चाहनाको पोको थियो ।

हर्जनामै सकिएथ्यो आर्जिएको श्रीसम्पत्ति
तथ्य यो हो मन्दिरको ढुङ्गो उस्ले छोको थियो ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ   

Friday, April 19, 2013

गीत - उध्यानका दुई फूलको...


उध्यानका दुई फूलको माया गर्ने शर्त थियो ।
तर तिनले बुझेनछन् मायाको कुन अर्थ थियो ।

भन्छ यौटा तिम्रो माया होला कुनै रामछायाँ
सिउँदो भर सिन्दुरले नत्र माया के माया
नाता अन्तै गाँस्छौ होला पछि एक्लै पार्छौ होला
मेरो बस्ती छोडी तिम्ले डेरा कतै सार्छौ होला

उध्यानका दुई फूलको...............................

अर्को भन्छ सिन्दुर हाल्दै साँचो माया हुन्न साथि
बुझाईको माया मात्रै  हुन्छ सबै भन्दा माथी
नाता जोड्नु यौटा कुरा माया गर्नु अर्को कुरा
मायालाई नाता माने हाम्रो माया हुन्न पुरा

उध्यानका दुई फुलको ..............................  


आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Sunday, April 14, 2013

गजल - "उस्ले बेलैमा..."


उस्ले बेलैमा खुट्टा लम्कायो ।
त्यागी बनेरै नाम चम्कायो ।

खुट्टा लम्काको डाह गर्नेले
संधै ठालुको पाउ हम्कायो ।

आथ्यो गाउँमा बोकी उज्यालो
सचेतनाको गीत घन्कायो ।

अझ बढ्दैछ कहाँ पुग्ने हो
कस्तो ज्ञानी ऊ यात्रा तन्कायो ।

हिँजै आको ऊ नारा लिएर
आजै दुनियाँ बस्ती रन्कायो ।

चाहे नहुने केही रैनछ
मास्न कुरिती आगो दन्कायो ।


आनन्द भट्टराई 'गाउँले'  
खोटाङ 

Friday, April 5, 2013

गजल - "अब केही..."

अब केही नौलो काम गरुँ गरुँ जस्तो लाग्यो ।
राष्ट्र सिंच्न रक्त पोखी मरुँ मरुँ जस्तो लाग्यो ।

भनिदेउ जुन तारा सम्भव यो छ की छैन
मुलुकमा भाइचारा छरुँ छरुँ जस्तो लाग्यो ।

डाँडा पाखा सुख्खा भयो पालुवा क्यै देखिएन
प्रकृतिको बर्षा बनी परुँ परुँ जस्तो लाग्यो ।

रोकिएन आँशु कतै चोटै चोट जताततै
मलम् बनी फाट्या घाउ भरुँ भरुँ जस्तो लाग्यो ।

आमा दुखिन् मैत्री टुट्यो छोराहरू लड्या लड्यै
बेहाल यो रोक्न अघि सरुँ सरुँ जस्तो लाग्यो ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ