Friday, December 30, 2011

गजल - 'हो बहुमुल्य...'

हो बहुमुल्य सत्कर्मबाट खारेको जिन्दगी ।
बेकम्मा हुन्छ आफु आफैमा हारेको जिन्दगी ।

कस्ले देख्यो र स्वर्ग र नर्क? मान्य हुन केवल
धन्य त्यो हुन्छ दैत्य चरित्र बारेको जिन्दगी ।

रगत रातो आत्मा छ उस्तै हो जात मनुस्य
हुन्छ चिरायु सबैको साथ नारेको जिन्दगी ।

काटेर प्राणी हत्याइ देह नबनौं भक्षक
प्रकृतिलेनै उच्च वर्गमा पारेको जिन्दगी ।

हुन्छ सार्थक खडेरी पर्दा   व्युँताइ जिवन
निर्वल माथी शीत भै' तप्प झारेको जिन्दगी ।



आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Sunday, December 25, 2011

गजल - 'स्वार्थी भगवान्...'

भोकै बसी तिम्रो पूजा गर्नु पर्ने स्वार्थी भगवान् ।
धर्मै पिच्छे अनेकौं रुप धर्नु पर्ने स्वार्थी भगवान् ।
 
जे जे सोच्यो हुन्छ भने किन खोज्छौ आफ्नो महीमा
पाऊ परि संधै तिम्रो मर्नु पर्ने स्वार्थी भगवान् ।
 
सक्छौ भने दुस्टका ती मनलाई पगाली देउ
किन तीनको निसानामा पर्नु पर्ने स्वार्थी भगवान् ।
 
तिमिलाई पुकारेर पूर्ण आयु खेर फ्याँकी यो
आफूलाई धर्मातिमा दर्नु पर्ने स्वार्थी भगवान् ।
 
अशक्तको लौरी बन्नु धर्म हो की तिम्रो पूजा पाठ
धुप हाली तिम्रो उदर भर्नु पर्ने स्वार्थी भगवान् ।
 
उदर:-  पेट
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Friday, December 16, 2011

गजल - 'बनचरीको जालमा परी...'

बनचरीको जालमा परी मनचरी फुकाएँ ।
आफै भित्र रै'छ विश्व नियाल्न चुकाएँ ।
 
खोले सिस्नु खाए पनि पुर्ख्यौली हाँसो थ्यो 
भित्र रोइ आज आँशु गहमै सुकाएँ ।
 
शिशिर पनि टार्न सक्थ्यो टालेको दौराले
नयाँ खोज्दै विदेशिंदा ठाडो शिर झुकाएँ ।
 
मेरो छुट्टै वेग थियो प्रकृतिले दिएको
पत्थर् बनी आज हेर आफैले रुकाएँ ।
 
घर छोडी छानो चुह्यो भत्कियो चौघेरो
यहाँ बसी सम्झिएर व्यर्थै मन दुखाएँ ।
 
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Friday, December 9, 2011

गीत - 'मेरो नयाँ बसन्त...'

मेरो नयाँ बसन्त अतित बोकी आएछ ।
सँग सङ्गै बुढ्यौलीको रङ्ग घोली आएछ ।
 
 
सिउँडी र सुनाखरी कैयौं पल्ट फुल्दा पनि
के हो जीवन् चिनिएन जवानी यो ढल्दा पनि
प्राण प्यारी धर्ती माता पुर्खौं देखि बचायौ
मलाइ नी' जन्माएर यै छातीमा नचायौ
विधाताको विधान कस्तो? आएपछि जानै पर्ने
आँशु हाँसो घोली संधै बाँच्नलाई खानै पर्ने
मेरो नयाँ बसन्त.....................................
 
 
ए पहाडका भित्ताहरु एक चोटि हाँसन
म त एसै डुब्न लागें थोरै माया गाँसन
साउने झरीको चुटाइमा नी' मौन छौ
चैत मासे हुरीको सेकाइमा नी' मौन छौ
कति युग बाँच्ने हो? एक चोटि बोलन
म डुब्नु अगाबै मनको कुरा खोलन
 
 
मेरो नयाँ बसन्त अतित बोकी आएछ ।
सँग सङ्गै बुढ्यौलीको रङ्ग घोली आएछ ।
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ