Friday, September 28, 2012

गजल - "हात भरी..."

हात भरी ठेला मेरो पाखो बारी खन्दा ।
अझै चुल्हो बलेन खै साँवा ब्याज गन्दा ।

हाँसो किन्ने आशा बोकी भोट गा'को छोरो
फर्केन खै दुस्मनीको परेछ की फन्दा ।

अश्रुधारा सङ्गै बगे सपनिका ताँती
ठाउँ छैन तेरो लागि दुनियाँले भन्दा ।

स्नेही धर्मी मान्छेहरू भेटिंदैनन् आज
दिन दिनै बढ्न थाल्यो पाखण्डीको धन्दा ।

दृष्‍टि घट्यो बैंश बित्यो बुढ्यौलीले छुयो
पराईको उध्यानमा पराक्रमी बन्दा ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ                     

Saturday, September 22, 2012

गजल - "झिस्मिसेमै..."

झिस्मिसेमै पल्लो डाँडा काटौं भन्छु मान्दिनन् ।
बेला हुँदै हित्त चित्त साटौं भन्छु मान्दिनन् ।

लुकी छिपी कति गर्नु जवानिका बात भो
हाक्का हाक्की अंगालिन आँटौं भन्छु मान्दिनन् ।

हाम्रो गगन छेकी हिंड्ने हामिनै हौं बादलु
रश्मीलाई बाटो दिंदै फाटौं भन्छु मान्दिनन् ।

तिम्रो छायाँ भैसकें म छुटी जाउँ कसोरी
पिरतीको एकै डोरी बाटौं भन्छु मान्दिनन् ।

आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "आफ्नै कथा..."

आफ्नै कथा लेखुँ भन्छु कलम मान्दैन ।
उडेको मन गुरुत्वले किन तान्दैन ?

निफनेर फ्याँकिएँछु कठै म दुखी
भाग्य दिन भाविले नी' किन जान्दैन ?

खोला खोल्सी उम्रिएको काली निगुरो
आज भोलि मिल्दो साथि ढिंडो छान्दैन । 

रातै भरी भविस्यको बुन्थ्यो सपनि
किन दुख्यो आज मन वेग हान्दैन ।

हेर्दा हेर्दै बिरानो भो' कस्तो अचम्म
ढाकर तोक्मा 'गाउँले'ले आफ्नो ठान्दैन ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "उध्धानमा फक्रिएको...'

उध्धानमा फक्रिएको यस्तो राम्रो फूल थियो !
नटिपेर हेरि र'नु मेरो आफ्नै भुल थियो ।

राग छर्थ्यो वरिपरि जवानीको उन्मादले
समिपमा गा'को भए पिरतीको मुल थियो ।

ललाटमा थिएन की हुँदा हुँदै छलियो खै
बगैँचामा सुहाउँदो मिल्दो जुल्दो कुल थियो ।

भेट हुन्थ्यो नजरमा माया थियो मुटु भरी
दुवैलाई जोडि दिने भावनाको पुल थियो ।

बोल्छु केही भन्दै थिएँ पराईको भैसकेछ
आजै देखें सामुन्नेमा भमराको हुल थियो ।


आनन्द भट्टराई "गाउँले"

गजल - "फूल देख्दा..."

फूल देख्दा बगैंचामा भमरा'नि भुल्दो रैछ ।
प्रियसीको नजरमा जवानी यो फुल्दो रैछ ।

अबिरल छहराझैं झरिरने माया प्रिती
पवन भै मायालुको वरिपरि डुल्दो रैछ ।

चाह बोकी पिरतीको उनी आइ सामिप्यमा
चिहाउन खोज्दा पनि दिलको ढोका खुल्दो रैछ ।

टुसाएका इच्छाहरू उनी सामु पर्‍यो की त
धपक्कै त्यो चन्द्रमुखी अधरमा घुल्दो रैछ ।

कस्तो हो यो माया भन्ने? बेमौसमी बाली जस्तो
बार्हैमास पाके सरी लह लह झुल्दो रैछ । 


आनन्द भट्टराई "गाउँले"

गजल - "भुल्यौ कहाँ?..."

भुल्यौ कहाँ? पुर्णिमाको जून भेट्यौ की ।
मनै हर्ने बाँसुरीको धुन भेट्यौ की ।

बाचा थियो छिट्टै भेट्ने तर भेटिनौ
शिशिरमा कतै न्यानो ऊन भेट्यौ की ।

गुलाबी त्यो अधरले केही बोल्दैछ
जिन्दगीमा साथ मिल्ने खुन भेट्यौ की ।

हिमालकी छोरि तिमी त्यसै सुन्दरी
झनै राम्रो अकबरी सुन भेट्यौ की ।

भन्थ्यौ अरे जवानी त भै गो बिलिनो
उपरान्त बैंश खुल्ने नुन भेट्यौ की । 


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "न त शीत भै'..."

न त शीत भै' झर्यौ ।
न त बर्षा भै पर्यौ ।

अहो क्या फुर्ती थियो
गर्जी मेघझैँ टर्यौ ।

आफ्नै छ रित्तो डाली
अर्कै भकारी भर्यौ ।

देख्छु गहमा आँशु
भन के गल्ती गर्यौ ?

सबै तर्केर हिँडे
कस्तो सुवास छर्यौ ? 


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "भक्तिले अब..."

भक्तिले अब माटोको टीका लगाई हेरौं त ।
कर्मले बाँच्ने चेतना मात्र जगाइ हेरौं त ।

सपुतहरू रगत हैन विवेकको पसिना
जन्मेको माटो उर्वर पार्न बगाइ हेरौं त ।

मागेको सित्ता छोडेर अब आफैले आर्जेको
ढींडो र फाँडो खाएर हामी अघाइ हेरौं त ।

आर्जियो जस्ले स्वमित्व उस्कै यो त हो चलन
त्यागेर यस्तो ती बाट नजर भगाई हेरौं त ।

बाँच्छौं की हामी हाँसेर संधै स्वदेशी माटोमा
दुर्वल माथी दयाले केही सघाइ हेरौं त । 


आनन्द भट्टराई "गाउँले"

 

गजल - "नयन किन..."



नयन किन अडीए तिम्रो चौबन्दी चोलीमा ?
नशा छ कस्तो भुतुक्कै पार्ने मोहनी बोलीमा ?

हिमाली चिसो पानीमा खेल्दै हुर्केकी अबला
हेर्दैमा लाग्छ अप्सरा हौ की दौंतरी टोलीमा ।

ग्यान्था र चुवा चम्पा चमेली लाग्दछ तिमी हौ
स्वीकार भए आग्रह मेरो लान्थें म डोलीमा । 

प्रकृतिलेनै सिंचेर हो की सदैव रसिली
लाँदैछु आज सम्झना मिठो यो मनको झोलीमा ।

भाग्यमा भए आउँला फर्की सम्झेर अर्को साल
नभन बरै लाहुरे जीवन छ एकै गोलिमा ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल-"बाल्यकालमा..."

बाल्यकालमा खाने अनी खेल्ने मात्रै कुरा भए ।
किशोरमा सबै सामु बोली निकै छुरा भए ।

बैंश पनि यस्तो आयो आफैलाई बिर्सिएर
दिन रातै याद आउने सान्नानीको चुरा भए ।

त्यसै गरि पुग्थ्यो कहाँ? समयले गाँज्यो आखिर
पञ्चे बाजा बजे पछि आधा दर्जन भुरा भए ।

जिन्दगी यो डुब्न लाग्या घाम जस्तै भए पछि
के गर्नु र ऐले बल्ल विचार मेरा सुरा भए ।

भेटिंन खै जीवन् चिन्ने चिनाउने बाटोहरु
जन्मी हुर्की मर्नु पर्ने रिती मात्रै पूरा भए ।


आनन्द भट्टराई  "गाउँले"

गजल - "गरें की गल्ती..."

गरें की गल्ती जानि नजानी ।
जलाई मुटु पार्यौ खरानी ।

उषाको आश टुट्यो रातमै
भन्नु थ्यो यौटा नौलो काहानी ।

वेदना कस्तो? गड्यो छातीमै
झरेको पात पार्यौ बैमानी ।

तप्केको शीत किन्तु नसोच
अमुल्य हुन्छ सब्को जवानी ।

शिशिरको गर्व उष्णमा खै त
पग्लेर आजै भयौ रे पानी ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "म त यौटा..."

म त यौटा उध्धान हुँ बैश रोपी फुलाऊ ।
रङ्गी चङ्गी पिरतीका लतिकाले सजाऊ ।

जब मेरो बसन्तमा हुन्छ तिम्रो आगमन्
र्हिदयमा उर्लिएको चाह सबै बताऊ ।

गुराँस फुल्यो लेकै भरी टाँकी फुल्यो बेंसिमा
तिमी फुली मेरो दिलमा जिन्दगानी हँसाऊ ।

यहाँ कति साबित्री छन् जस्को कथा लेख्नु छ
तिम्रो साथ चाहन्छु म हात मेरो समाऊ ।

सुम्पी दिएँ यौटा जीवन् अजम्बरी मायामा
त्याग बुझी हाम्रो नाता जुनी जुनी बचाऊ ।



आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "भीड सबै..."


भीड सबै मेला हुँदैन ।
कुस्ती सबै खेला हुँदैन ।

पाक्या' बाली टिपी खानेको
हत्केलामा ठेला हुँदैन ।

गुरु सामु कोहि झुक्दैमा
उपकारी चेला हुँदैन ।

मेरो देह यहि ढलोस् त
तिम्रो शुभ बेला हुँदैन ।

फुल्दा सम्म बास्ना फिंजाइ
फूल कतै हेला हुँदैन ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "कोहि हमेसा..."

कोहि हमेसा ठगेरै रम्छ ।
कोहि स्वार्थमा बिकेरै रम्छ ।

सित्ता खानेको देखिन्छ आँशु
ढिंडो खाने याँ खुलेरै रम्छ ।

मुल्य जीवनको ज-जस्ले बुझ्यो
हुरी असिना सहेरै रम्छ ।

आँफै ढलेनी' क्यै चिन्ता छैन
कोहि हितमा मरेरै रम्छ ।

जस्को छातीमा राष्ट्रको माया
उ त युद्दमा लडेरै रम्छ ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल -"प्रिय तिम्रो ..."

प्रिय तिम्रो शहरमा कति चोटि आएथें ।
मीठा मीठा पिरतिका गीत कति गाएथें ।

सिउँदोमा राखिदिन कैयौं चोटि आफैले
हत्केलामा पुर्णिमाको जून टिपी ल्याएथें ।

मर्म बुझ्नु पर्ने थियो खाली सर्म देखायौ
फेरि हिंजो कोहि सँग मदहोशी पाएथें ।

शुन्यतामा बसी तिमी विरहले सुसेल्दा
केश तिम्रा चुमी चुमी बयेली भै छाएथें ।

गोधुलिमा सोरठीको पूर्ण राग अलाप्दै
अङ्गालोमा कसुँ भन्दा धोकै धोका खाएथें ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल -" सुन्ने भए..."

सुन्ने भए बोलाउँथें चौतारिमा बसेर ।
बस्नु पर्‍यो सम्झि सम्झि आफ्नै मन कसेर ।

चिनो उन्को छिनो भयो जूनी भरी मलाइ
याद भई घोचिरह्यो मुटु भित्र पसेर ।

निदरिमा जब हुन्छु मुस्काउँछिन सामुन्ने
बगिदिन्छिन फेरि त्यसै नयनबाट खसेर ।

उनीलाई चुमी आज आयो क्यारे बतास
वेग हान्यो मै तीर लौ झस्केँ आफै तर्सेर

पिरतीको तीर हानिन् तर बाँचे अचम्म
तब अझै पग्लिएँछु मोहनिमा फसेर ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ