Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Saturday, October 5, 2013

गजल - "सुकेर जिउ..."


सुकेर जिउ भएछ खैला ।
के गर्छौ दाजै द्रव्यका थैला ।

नदाइकन गोठको बहर
भाँच्चिएछ त जुवाको सैला ।

तिम्रो पो छ त भित्तामा यौटा
मेरो त सयौ छानामा दैला ।

जो सँग जे छ त्यै बोकी जुटौँ
नगरि अब यो खैलाबैला ।

राष्ट्रको धेरै झुपडिमा छन्
नपाई पानी सुकेका घैला ।

सुग्गरी हुन मन त थियो
पाएँछु तर भाग्यनै मैला ।

यो जिन्दगीको रैनछ भर
अहिले दाउरा भोलि त कैला ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ             

Saturday, September 28, 2013

गजल - "गोर्खाली हुन् रे..."


गोर्खाली हुन् रे विश्वकै बीर ।
रुँदैछ गोर्खा गडेर झिर ।

काखमा छोरा लडेको हेरी
कतिन्जेल झुक्ने आमाको शिर ।

पौरखी युवा गाउँमा छैनन्
के सम्म हुन्थ्यो यो तारे भीर ।

भाइचाराको आदर्श खोक्दै
ए बन्धु एतै नहान तीर ।

बग्छकी  फेरि खुनैको खोली
मलाइ लाग्छ भोलिको पीर ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Saturday, September 14, 2013

गजल - "दर्शी ढुङ्गा र..."


दर्शी ढुङ्गा र चक्मकको के काम नभए झुलो ।
ए राष्ट्रपाले ढुकुटी चुहिने कहाँ छ दुलो ?

बौलायो भने बौलाहाहरूले मलाइ उल्टै
भनेथेँ मैले आत्मा त हुन्न नी सानो र ठुलो ।

भन्छ रे उस्ले अध्यारो पार्दिन्छु संसारै मेरो
तर हे दैव उस्को चैं आँखामा नपरोस् फुलो ।

उडेर गयो मनको आशा त निराशा भइ
जसरी उड्छ चैतको मासमा धर्तीको धुलो ।

नबसौं फाल्तु बढेर कुरिती हरायो न्याय
कहाँ छ खोजौँ जनताको लागि राष्ट्रको तुलो ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ             

Monday, September 9, 2013

गजल - "गननका लाखौं..."


गननका लाखौं तारामा देख्न सकिन तिम्लाइ ।
चाहेर कुनै शब्दमा लेख्न सकिन तिम्लाइ ।

बनेर आँधी बहेर गयौ गल्ति क्यै भयो की
बलिन्द्र आँशु झारेर छेक्न सकिन तिम्लाइ ।

कुञ्जमा फुल्यौ रहर लाग्दो बसन्त सजाइ
म डाली बनी सदैब थेग्न सकिन तिम्लाइ ।

चाहान्थें आँफै तुसारोबाट सदालाई मुक्ति
प्रभातको न्यानो रश्मी भै सेक्न सकिन तिम्लाइ ।

थाहा छ राम्रो म तिम्रो हैन तिमी मेरि हैनौ
तै पनि किन मनबाट मेट्न सकिन तिम्लाइ ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ   

Saturday, August 31, 2013

गजल - "पुग्नु छ टाढा..."


पुग्नु छ टाढा ए दैव ऐले चाहन्न चीता ।
पढेर मात्र के पुग्थेँ त्यहाँ लेखेको गीता ।

तोक्माले टेक्दै उकाली चढ्ने ती ढाक्रेलाई
सोधेथेँ मैले तिनका नी लक्ष्य छैनन् रे रित्ता ।

गाउँछन् सबै यो जिन्दगीको क्या मीठा गीत
जाँ गए पनि म किन्तु देख्छु भोगाइ तिता ।

शसक्त भै भै म किन बसुँ चौघेरो भित्र
दृष्‍टि बिहिन् त गर्दैछ यात्रा समाइ भित्ता ।

गौरब गरि रोपेर फूल फुलाऔँ अब
जिजुको खुन मग्मगाउँदो यो हाम्रो कित्ता ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ            

Sunday, August 25, 2013

गजल - "अधुरो तिम्रो..."


अधुरो तिम्रो मायाको देको पोल्दैछ घाउ ।
निर्दयी बनि मुटुमा पीडा घोल्दैछ घाउ ।

रमेर संधै सयर गर्ने कल्पना ऐले
रोयर भित्र यथार्थ यहाँ बोल्दैछ घाउ ।

किशोरी तिमी किशोर म थें भावना फुल्थ्यो
तर नटिक्ने त्यो तितो सत्य खोल्दैछ घाउ ।

उघारी आँखा फाटेको गगन रोएर हेर्दै
फाटिन आँफै बहको पानी ढोल्दैछ घाउ ।

खपेर पीडा थाकेर अब पाउँन मुक्ति
रहेको बाँकी जीवनको आयू मोल्दैछ घाउ ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ    

गजल - "चाहान्न भो..."



चाहान्न भो कुनै तारा नझार ओ प्रिया ।
मेरो सामु तिम्रो प्रभा नपार ओ प्रिया ।
 
छोडी जाउ सहुँला म जति हुन्छ पीडा
तर बिन्ती मोहनीले नमार ओ प्रिया ।

नछुट्नु थ्यो छुट्यो साथ तिमी अन्तै रम्नु
उपरान्त मेरो बाटो नबार ओ प्रिया ।

मायामा त आँशु पनि हुँदो रैछ बुझेँ
मैले पिएँ तिम्ले पनि स्वीकार ओ प्रिया ।

चाहना छ अझै पनि मग्मगाइ फुल्ने
मेरो कुञ्ज मरुभुमी नपार ओ प्रिया ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ

गजल - "खानु छ संधै..."


खानु छ संधै गुन्द्रुकको झोल ।
उ ओड्न खोज्छ चाँदीको खोल ।

घरको कुरा किन हो उस्ले
सीमा पारी गै लाएछ पोल ।

जनता हैनन् लाटोकोसेरो
ए धुर्त मान्छे! लौ सत्य बोल । ...

गर्नु छ केही फर्क ए दाजै
जन्मेर तिमी हुर्केको टोल ।

बुर्जुवा हुँ म मनको मात्रै
काँ तिर्न सक्छु मुगाको मोल । 



आनन्द भट्टराई 'गाउँले'
खोटाङ

गजल - "जहिल्यै भन्छौ..."


जहिल्यै भन्छौ पडेको मान्छे म ।
कहिले भन्छौ? लडेको मान्छे म ।

कहन्छु म त यथार्थ मेरो यो
मुटुमा झीर गडेको मान्छे म ।

जलायो कस्ले? था छैन मलाइ
नमरी ज्यूँदै डडेको मान्छे म । ...

यो निर्धो सामु उ यस्तो भन्छ की
जन्मदै हीरा जडेको मान्छे म ।

जस्ले जे भनोस् यो धुर्व सत्य हो
फुत्किने सासमा अडेको मान्छे म ।



आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Friday, July 5, 2013

गजल - "मैतालुझैं..."


मैतालुझैं सर्माएर पर्खी बसेँ जुनेलिमा ।
जवानीले तिर्खाएर पर्खी बसेँ जुनेलिमा ।

चन्द्रमाले सोधी रहिन् एक्लै कुर्यौ कस्को लागि?
तै पनि म टोलाएर पर्खी बसेँ जुनेलिमा ।

भुक्तभोगी अरु जोडी आइ बस्दा मेरै सामु
आफैलाई तड्पाएर पर्खी बसेँ जुनेलिमा ।

पियाराको बाटो हेरी नयनले दिक्क मान्दा
उस्को प्यार सम्झाएर पर्खी बसेँ जुनेलिमा ।

ताप धेरै उच्च भयो चाह पग्ली पानी भयो
त्यहि पानी बगाएर पर्खी बसेँ जुनेलिमा ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ   

Sunday, June 30, 2013

गजल - 'दुखिको दु:ख...'


दुखिको दु:ख जान्नेलाई सलाम ।
निर्धाको बिन्ती मान्नेलाई सलाम ।

लेखेर गाथा नेपालको विश्वमा
राष्ट्रको छवि धान्नेलाई सलाम ।

पौरखी बनी लगाएर विवेक
आफैले आर्जि खानेलाई सलाम ।

कथित जात परवाह नगरि
रगत एकै ठान्नेलाई सलाम ।

फूलको बाटो आमालाई सुम्पेर
काँडाको बाटो छान्नेलाई सलाम ।


आनन्द भट्टराई 'गाउँले' 
खोटाङ  

Saturday, June 22, 2013

गजल - "मायालु गइन्..."


मायालु गइन् डाँडै काटेर तिर्सना बाँकी छ ।
खर्कमा बसी पिरती लाको सम्झना बाँकी छ ।

दिएर फेरि खोसेर लग्यो यै समयले
तै पनि अझै त्यो जवानीको बासना बाँकी छ ।

शुन्य थ्यो रात निर्दोसी दिन गल्ति हो मेरै
त्यसैले होला मुटुमा अझै वेदना बाँकी छ ।

बस्तिमा मेरो पुरानै मेघ नहट्दा अझै
पियार गर्दा पाएको मैले लाञ्छना बाँकी छ ।

मौलाएको यो कुरिती हाम्रो म उपरान्त
उखेली फ्याकुँ यो मेरो यौटै चाहना बाँकी छ ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ  

Friday, June 14, 2013

गजल - "अरु लडाई..."


अरु लडाई अघि जानेको भावना कस्तो ?
जति आर्जियो त्यति नपुग्ने चाहना कस्तो ?

सोचौँ त केही म मरि गए राष्ट्र त बाँच्छ
भनेर लड्ने ती शहिदको सपना कस्तो ?

बनको चरी हेरेर मैले सिक्नु छ केही
बाँच्नको लागि कठिनाईको सामना कस्तो ?

भन्दथ्यो उस्ले आँटेर अब क्यै गरि छाड्छु
साँच्चैनै होला हेरौं न उस्को साधना कस्तो ?

करुणा जागी रसाए आँखा पापीको पनि
ठालुको सामु त्यो निर्बलको वन्दना कस्तो ?


आनन्द भट्टराई 'गाउँले'
खोटाङ    

Friday, May 31, 2013

गजल - "अरु छोडी..."


अरु छोडी गरौं आज मझेरीका कुरा ।
किन त्यसै छायाँ परे पँधेरीका कुरा ।

साझा हाम्रो आगनिमा फाटो मात्रै किन
गरौं केही बन्धुत्व र मितेरिका कुरा ।

बाँकी बिर्ता मेची देखि काली सम्म हाम्रै
नगरौं भो साना तिना घडेरीका कुरा ।

झुटो बोली धेरै बोले हामी माझ आइ
छोडौं अब देशद्रोही अटेरिका कुरा ।

भ्रस्ट भयो न्यायलय न्याय दिन्न यस्ले
जनताले गरौं अब जाहेरिका कुरा ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ       

Friday, May 24, 2013

गजल - "बिर्सेर देशै..."


बिर्सेर देशै नसक जिउ भट्टीले ।
नगरे केही सराप्ला दाजै मट्टीले ।

मिलेर अब मात्रीको सेवा नगरे
नहोला भलो आँशुले हान्या झट्टीले ।

काटेको घाउ भरिए जसै देहको
मनको घाउ भरिन्न मलम पट्टीले ।

जित्नु छ युद्द लगाई आफ्नै विवेक
गोर्खाली अब नगरौँ गर्व कट्टीले ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ      

Sunday, May 5, 2013

गजल - "अप्सरा भन्दै..."

अप्सरा भन्दै फकायौ पापी ।
चाँदनी रात कटायौ पापी ।

छोडेर गयौ सकिन भुल्न
यादमा आइ सतायौ पापी ।

यो दीलबाट सुकेर गई
कुन दिल भित्र रसायौ पापी ?

मिलनको आशा राखिथेँ तर
विछोडको चिठ्ठी थमायौ पापी ।

निस्ठुरी बनी दिएर चोट
यो स्नेही आत्मा जलायौ पापी ।

झुकाइ मेरो सगरमाथा
मर्नु न बाँच्नु बनायौ पापी ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ      

Friday, April 26, 2013

गजल - "दौलत भन्नु..."

दौलत भन्नु सिर्फ उस्को नाम्लो अनि डोको थियो ।
कसोरी खै विश्व जित्ने उस्कै यौटा धोको थियो ।

समाजका सामन्तको दासी भइ बाँच्नु पर्दा
भोलि सम्झि बिछ्यौनामा भक्कानिदै रोको थियो ।

हातो पक्री बस्थी बूढी झिस्मिसेमै कोदो पिस्न
तर कस्तो नियति हो उस्कै पेट भोको थियो ।

दौरा हो की हन्बेर्नो हो चिन्नै गार्हो शरीरको
अझै उस्को तारा टिप्ने चाहनाको पोको थियो ।

हर्जनामै सकिएथ्यो आर्जिएको श्रीसम्पत्ति
तथ्य यो हो मन्दिरको ढुङ्गो उस्ले छोको थियो ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ   

Sunday, April 14, 2013

गजल - "उस्ले बेलैमा..."


उस्ले बेलैमा खुट्टा लम्कायो ।
त्यागी बनेरै नाम चम्कायो ।

खुट्टा लम्काको डाह गर्नेले
संधै ठालुको पाउ हम्कायो ।

आथ्यो गाउँमा बोकी उज्यालो
सचेतनाको गीत घन्कायो ।

अझ बढ्दैछ कहाँ पुग्ने हो
कस्तो ज्ञानी ऊ यात्रा तन्कायो ।

हिँजै आको ऊ नारा लिएर
आजै दुनियाँ बस्ती रन्कायो ।

चाहे नहुने केही रैनछ
मास्न कुरिती आगो दन्कायो ।


आनन्द भट्टराई 'गाउँले'  
खोटाङ 

Friday, April 5, 2013

गजल - "अब केही..."

अब केही नौलो काम गरुँ गरुँ जस्तो लाग्यो ।
राष्ट्र सिंच्न रक्त पोखी मरुँ मरुँ जस्तो लाग्यो ।

भनिदेउ जुन तारा सम्भव यो छ की छैन
मुलुकमा भाइचारा छरुँ छरुँ जस्तो लाग्यो ।

डाँडा पाखा सुख्खा भयो पालुवा क्यै देखिएन
प्रकृतिको बर्षा बनी परुँ परुँ जस्तो लाग्यो ।

रोकिएन आँशु कतै चोटै चोट जताततै
मलम् बनी फाट्या घाउ भरुँ भरुँ जस्तो लाग्यो ।

आमा दुखिन् मैत्री टुट्यो छोराहरू लड्या लड्यै
बेहाल यो रोक्न अघि सरुँ सरुँ जस्तो लाग्यो ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ           

Sunday, March 31, 2013

गजल 'अझै सम्म..."

अझै सम्म किन हामि जङ्गल भित्रै बाँचीराछौं ।
गन्नलाई मकै गेडी दश औँला भाँचीराछौं ।

समकक्षी मानवले बस्ती सारे चन्द्रलोक
हामि अझै खरबारीको चप्लेटीमै नाचिराछौं ।

धर्मलाई अध्यात्ममा ढाली सक्यो बिज्ञानले 
हामि भने मन्त्र जप्ने संस्क्रितीमै हाँसिराछौं ।

सवै मन सवै तन उस्तै मान्छ दुनियाँले
हामि फेरि हामी भित्रै ठुलो सानो जाँचीराछौं ।

कुरितीले संधै थाप्लो किच्दा पनि किन हामि
जिन्दगीनै हैन जस्तो जिन्दगानी साँचीराछौं ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ