Saturday, October 13, 2012

गजल - "घाम जस्तै..."

घाम जस्तै चर्की दिने बानी तिम्रो गजबको ।
पानी जस्तै दर्की दिने बानी तिम्रो गजबको ।

त्यो मनमा मेरो चन्द्र झलमल्ल लाग्दा पनि
बोलाउँदा झर्की दिने बानी तिम्रो गजबको ।

गोधूली र प्रभातमा भेट हुँदा दोबाटोमा
लजाएर लर्की दिने बानी तिम्रो गजबको ।

जल्दा जल्दै आँत मेरो तड्पाएर तिमिलेनै
फेरि जल छर्की दिने बानी तिम्रो गजबको ।

आवेगमा हुरी जस्तै बही जाँदा पत्थरमा
ठोक्किएर फर्की दिने बानी तिम्रो गजबको ।


आनन्द भट्टराई "गाउँले"