Labels

Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

Wednesday, July 13, 2011

कविता - "जीवन"

जीवन !
के हो जीवन ?
'आँशु' हो की 'हाँसो' जीवन ?
'कर्म' हो की 'धर्म' जीवन ?
'उदय' हो की 'अस्त' जीवन ?
अहँ,
यती मात्र हैन ।
आज किन जीवनको परिभासामा अल्झिएँ ?
किन भित्र भित्रै जीवन सँग सल्किएँ ?
वित्यो नी 
साँढे दुई दशक !
आफैले जीवन पाएको ।
तर किन अझै अपरिचित छु म
वास्तविक जीवन देखि ?

Monday, May 16, 2011

कविता - 'स्मरण'

भनिन्छ अतितलाई नसम्झनु,
मात्र वर्तमान अनी भविस्य ।
तर व्यस्तताले रन्थनियको वर्तमानबाट
केही क्षण शुन्यतामा चुसुक्क बसेको बखत
अतितका रश्मीहरुले खप्पर छेडी मगज चुमे आज ।
 
लाग्छ म चिउरी पाखामा कालेगोरुलाई
अँगेरीको काँचो लठ्ठीले कुटिरहेको छु ।
झ्याप्ली बाख्राले डाँडा बारीको कोदो सखाप पार्दा
आक्रोसले खोरमा थुनेर चोट लाग्ने गरि चुटिरहेको छु ।
कठै काले, कठै झ्याप्ली
आजत स्वर्गको रानिवनमा चर्दै हौला,
क्षमा देउ है,
मैले होनहार गल्ति गरेँछु ।
 
साउनको सिम्सिमे वर्शा संगै
कुइभिरबाट उकालो लागेको हुस्सुले घरबारी ढपक्कै ढाक्दा
मौका छोपी सेतो ढेडु मकै चोर्न आएको पल
म मकै रुङ्ने मकै गोठालो
अनी,
ढेडुद्वरा आफै लखेटिएको क्षण ।
आहा कस्तो अचम्म !
त्यो परिस्थिती
त्यो वाल्यकाल ।
 
प्रभातको मिर्मिरे अगावै चकमन्न रातमा
आमा सखारै उठी मुठी मुठी गरि ओइरो लगाउँदै
कोदो पिसेर छाक पुग्दा,
बाबाले खुट्टामा पोया लगाइ बाटेको काले गोरु बाँध्ने
दाम्लोको गलामे गाँठो परिसक्थ्यो ।
लाग्छ म अहिले पनि त्यहि मिर्मिरेमा
मस्त निदाइरहेछु
आमाले कोदो पिसेको सङितमय ध्वनी संगै ।
 
गोधुलीले जवानी रुप नलिँदै
मन्द टुकीको उज्यालो भित्र
मिर्मिरेमा पिसेको पिठोले
विस्तारै ढींडोको रुप लिंदै हुन्थ्यो
एक फलामे दाविलो बाट मस्की मस्की ।
जसको सहयात्री गुन्द्रुक फाँडो,
लाग्छ म त्यहि ढींडो खोर्सानी मिचेको गुन्द्रुक फाँडोमा चोपेर
नचपाइ निलिरहेछु मुली थामको फेदमा बसेर
जिब्रो पट्काउँदै ।
 
पँधेरामा भेट्ने पल्लो गाउँकी च्यान्टी सँगको कर्के नजर होस्
वा
पिँधबाट पानी चुहुँदै ल्याएको हरियो खरुकीको भारी,
आहा ! लाग्छ म लालेको बारिमा सिम्सिमे वर्सासंगै
कोदो रोपिरहेछु घुम ओढेर ।
 
त्यस यता कैयौं वसन्त विदेशमै विते
साथै वितेछन सवै जिन्दगिका वहारहरु ।
न आउँछ त्यो वालापन फर्केर अव
नत देखिनेछन ती फुलबारिमा फुलेका मखमली, ग्यान्था र गोदावरीहरु,
नत टेकिनेछन ती नसा गल्ने उकाली र घुँडा दुख्ने ओरालीहरु । 
केवल सम्झनामा अनेकौं तरेलिहरु
आइरहन्छन ।
छाइरहन्छन ।
वर्तमान मस्तिस्कमा ।
 
 
आनन्द भट्टराई "गाउँले"

Wednesday, April 27, 2011

कविता - "जिन्दगानी"

सृस्‍टिकर्ताले सुसाङ्ख्य रुपी धर्तिमा,
पासवोर्ड इन्ट्री गरि एक क्लिक गर्दा
फाइल स्वरुप फुत्त खुलेको जिन्दगी हाम्रो ।
तिमीलाई त अझै महशुस छैन होला ।
हाम्रो डिजाइनर एउटै थियो ।
हाम्रो  पासवर्ड इन्ट्रिकर्ता एउटै थियो ।
तर निस्क्यौं फरक दुई फाइल, हामी ।
यो एक प्राक्रितिक अकाट्य नियममा अनुबन्धित छ ।

तिमी दुधकोशीको अत्याश् लाग्दो अविच्छिन्न शुसेलीसंगै
सधैं एकै दिशातिर बगिरहन्छौ । गईरहन्छौ ।
ठीक विपरित,
म थोरै कंचन वायु बनी
ऋतु फेर्दै, दिशा फेर्दै
गती फेर्दै, स्थान फेर्दै
निरन्तर् बहिरहन्छु ।
तिम्रो वहाव नियालिरहन्छु ।

म त तिम्रो साथ् लिन सक्छु ।
तिमीलाई चुम्न सक्छु ।
तर तिमी ? अहँ ।
सक्दैनौ, पटक्कै सक्दैनौ ।
त्यसैले प्रिय,
उठ , आफ्नो धरातल भन्दा अलिक माथि उठ ।
जसरी म तल झरेको छु ।
किन आफ्नो हठ त्याग्दैनौ ?
किन स्वार्थको झोली फ्याँक्दैनौ ?
रोक, तिम्रो वहाव रोक ।
र एउटा प्रितको दरिलो किलो यहाँ ठोक ।
हाम्रो भावना साटासाट गरौं ।
एकै छिन यो सन्नाटामा हराऔं ।
कतै भेटिन्छकी जिन्दगीको यथार्थता ।

हाम्रो भेट,
एक समानान्तर रेखाको दुई ध्रुव नहोस् ।
एक नदिको दुई किनारा नहोस् ।
बरु होस्,
एक भौतिक ज्यान र श्वासप्रश्वासको सम्बन्ध जस्तै ।
एक रथ र दुई पाङ्ग्राको सम्बन्ध जस्तै ।
आउ,
संगै हातेमालो गरौं ।
उकाली चढौ ।
ओराली झरौं ।
लुक्वा खोलामा कलकल बगौँ ।
हाम्रो मायाको भेल हामिनै तरौं ।

हामीले याद् राख्नु पर्छ,
एक दिन हामी डिलिट हुनै पर्छ ।
त्यो संगै हुन पनि सक्छ वा अघिपछी ।
यो पनि एक प्राक्रीतिक अकाट्य नियममा अनुबन्धित छ ।
तर केवल रित्तो अलौकिक हात लिएर ।
किनकी लौकिक वस्तु यहाँ सबै त्याग्नै पर्छ ।
यो विवशता हो ।
त्यसैले,
आउ , रमाऔँ ।
हाम्रो कुरुप डाह र स्वार्थ यही त्यागौं ।
एकले अर्कोको हात समाऔं ।
स्वच्छन्दताको आभासमा जिन्दगी बिताऔं ।
सिर्फ यही हो मेरो अनुरोध ।

आनन्द भट्टराई, गाउँले

Tuesday, April 26, 2011

कविता - "भविस्य खोज्दै"

ज्यामिरको फेदमा झुल्केर
ज्यामिरेबाट वामे सर्दै
श्रिगणेश भयो जिन्दगिको यात्रा ।
तव लाग्न थाल्यो स्वतन्त्र जीवनलाई
तर्कुले र वाइमात्रा ।

'हलो जोत्यो खायो माम'
यो पुर्वजको परम्परालाई गोली मार्दै
भावना भित्रको स्वर्णिम सपना बोकी
मुटुमा शाहसको काँटी ठोकी
दौडीरहेछु,पौडिरहेछु
यो अनन्त दुनियाँमा
भविस्य खोज्दै ।

सिस्ने खोलाको चिसो पवनसँग दौतरीहरुले
चुलिढुङ्गामा वसी जवानीको मितेरी लाउंदा
मन वहलाउने सुरिलो स्वरमा
प्रिती फुलाउने गीत गाउंदा
म एक्लो एकोहोरो रुपमा
टोलाई रहेछु, वहकाइरहेछु
पुर्वी गोलार्धको एक हिउँले सेताम्मे टापुमा
भविस्य खोज्दै ।

कर्म र धर्मको बाटो वेग्लै भएपनि
मात्रित्व र भात्रित्वको जल अचाउंदै
म भित्र रहेको वन्धुत्वको भावना
चेलीहरुले दिएका अनेकौं शुभकामना
आमाको पोल्टोमा छाडेर
मात्रिवात्सल्य विनाको यो छुट्टै विश्वमा
चिच्याइरहेछु, गुहारिरहेछु
भविस्य खोज्दै ।

खोरियाको दर्शीढुङ्गाबाट लडिबुडी गर्दै झरेको
चिसो जरुवा पानीले दिएको आँत
हिंजोसम्म मौलाएको जवानीको मात
अव सँगसंगै विस्तारै हराउन थालिसक्यो
अझैपनी गन्तव्य के हो र कहाँ हो मेरो लागी ?
अझै अनिश्चित,
तैपनि यो विरानो वस्तीको विरानो कोठेवारिमा
आशाको रामनामी जपिरहेछु
जिवनको दियोमा तेल थपिरहेछु
भविस्य खोज्दै
केवल भविस्य खोज्दै ।


आनन्द भट्टराई "गाउँले"