Wednesday, August 31, 2011

गजल - "सकुँ म"

यो देशमा भाइचारा छर्न सकुँ म ।
खडेरिमा वर्सा बनी पर्न सकुँ म ।

पोलिएका घाउ माथी मलम लगाइ
अशक्तको भोको पेट भर्न सकुँ म ।

 फाटेका ती दौरा फेरि हली दाईको
गरि खाने माटो दीइ टर्न सकुँ म ।

राष्ट्र सिँच्ने दायित्वको भारी बोकेर
सफलताको महासागर तर्न सकुँ म ।

रगत हैन विवेकको खोली बगाइ
राष्ट्र सेवी सपुत भै' मर्न सकुँ म ।

आनन्द भट्टराई "गाउँले"
खोटाङ

Wednesday, August 24, 2011

गजल - "भएँ"

आफ्नो लागि आफै आज ईतिहास भएँ ।
अरु जस्तै समयको एक गाँस भएँ ।

युगलाई जन्म दिन सकिन क्यै गरि
युगले पो जन्माएर सर्वनास भएँ ।

छैन भनुँ मक्किएको हड्डी छ जीउमा
आफै टेक्न नसकेर ज्युँदो लास भएँ ।

कस्तो दीन भोग्नु पर्‍यो सडक पेटिमा
फ्याँकिएको फोहोरझैँ एक र्हास भएँ ।

बन्धुत्वको खडेरीले सुके साहशको
शीत पीइ बाँच्छु भन्ने झिनो आश भएँ ।
 
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ

Wednesday, August 17, 2011

गजल - "गोधूलिमा गल्ली हुँदै...."

गोधूलिमा गल्ली हुँदै तर्केर आउ ।
र्हिदयमा चोखो प्रेम छर्केर आउ ।

जवानिमा बल्ने मेरो हुर्हुरे आगो
निभाउँने झरी बनि दर्केर आउ ।

प्रतिक्षामा बसुँला म बालेर दियो
दन्तलहर देखाउँदै लर्केर आउ ।

तिमी बिना कठ्याङ्ग्रिदा शिशिर याममा
घाम बनि मेघ चिर्दै चर्केर आउ ।

आज जहाँ भए पनि अतितको हाम्रो
माया फुल्ने चौतारीमा फर्केर आउ ।

आनन्द भट्टराई "गाउँले"

Thursday, August 11, 2011

गजल - "ला'ने बेलामा....."

ला'ने बेलामा ठुलो र सानो दैवले दाँज्दैन ।
दिएको आयु पूरा नगरी एक्कासी गाँज्दैन ।
 
पला'को मुना कर्दले तिमी छासेर हेर न
झन दर्हो बन्छ परन्तु रुख कसैले भाँच्दैन ।
 
मान्छे भित्रको मनकामना कोटिनै भए'नी
यथार्थ यस्तो खाने यो चरी आशिसले बाँच्दैन ।
 
जोगाइ बीउ उमारौं केही बनेर मानव
नभए कस्तो? पशु हेरौं न खान त्यो साँच्दैन ।
 
पालेर सर्प के भलो हुन्छ गुण तिर्छ डसेर
मौकामा उस्ले आफ्नो पराई कहिल्यै जाँच्दैन ।
 
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ

Sunday, August 7, 2011

गजल - "रुवायो"

यो मुटु चिरी छोडेर जाने पापीले रुवायो ।
नहुने पुरा इच्छाको मेरो ताँतीले रुवायो ।

रमाइ संगै ऐसेलु खा'को सम्झना ताजै छ
हिँजोको आजै बिरानो हुने साथिले रुवायो ।

लुटेर लाँदै खुशी उ संगै डुबाइ आँशुमा
क्षितिज काट्ने अधर्मी उस्को छातीले रुवायो ।

म बिना पनि पुग्यो की कुन्नी मलाइ पुगेन
बिचैमा छुट्या मायाको हाम्रो थाँतीले रुवायो ।

रगत थियो समान हाम्रो प्राणी थ्यौँ मान्छेनै
न छुन सक्ने न देख्न सक्ने जातीले रुवायो ।


आनन्द भट्टराई "गाउँले"

Friday, August 5, 2011

गजल - "चौबन्दी चोलीमा"

नयन मेरा अडिए सानी चौबन्दी चोलीमा ।
नशा छ कस्तो भुतुक्कै पार्ने मोहनी बोलीमा ।

हिमाली चिसो पानीमा खेल्दै हुर्केकी अबला
हेर्दैमा लाग्छ अप्सरा हौ की दौंतरी टोलीमा ।

ग्यान्था र चुवा चम्पा चमेली लाग्दछ तिमी हौ
स्वीकार भए आग्रह मेरो लान्थेंनी डोलीमा ।

प्रकृतिलेनै सिँचेर हो की सदैव रसिली
लाँदैछु आज सम्झना मिठो यो मनको झोलीमा ।

भाग्यमा भए आउँला फर्की सम्झेर अर्को साल
नभन्नु बरै लाहुरे जीवन छ एकै गोलीमा ।
 
 
आनन्द भट्टराई "गाउँले"