Friday, April 20, 2012

गजल - "एउटा चिठ्ठी..."

एउटा चिठ्ठी लेख्नु थियो ।
मनको बह थेग्नु थियो ।

अनुरागी चिठ्ठी भित्रै
तिमिलाइ देख्नु थियो ।

दिलै देखि उर्ली आ'को
ज्वारभाटा छेक्नु थियो ।

फूल कल्पी के गर्नु र
काँडा माथी टेक्नु थियो ।

अन्तिम् इच्छा अधुरै भो'
दुख्या' घाउ सेक्नु थियो ।

आनन्द भट्टराई 'गाउँले'

Saturday, April 14, 2012

*** शुभकामना २०६९ को ***

वसन्ती हावाले शितलु छरोस ।
दु:ख र दुखाइ सर्वत्र घटोस ।

हजुरको जिन्दगी रमाइ सँधै
गगांझैँ निश्चिन्त सलल बगोस ।

तिर्खाले तड्पे'का प्राणी छन् जहाँ
दयालु हातको निशानी बनोस ।

शुख र सम्रिद्दी आत्माको शान्ति
जीवनमा कमी कहिल्यै नहोस ।

अर्पिएँ यतिनै शब्दका सौगात
यो शुभकामना वर्षिन सकोस ।


आनन्द भट्टराई 'गाउँले'

गजल - "जिन्दगी मेरो..."

जिन्दगी मेरो कसैले दे'को उपहार हैन ।
केही त बोल म प्रकृतिको तिरस्कार हैन ।

देउराली धाइ चढाएँ पाती कामना गर्दै
अरुले जस्तो बसेको ब्रत निराहार हैन ।

मनको आगो सक्छौ र रोक्न? के गर्नु रुप
अधर हेरी अङ्गालुँ भन्ने यो विचार हैन ।

नसोच प्रिय मलाइ कुनै विषाक्त व्रिक्ष
म फूलको बीच उम्रेको दुस्ट झारैझार् हैन ।

लगाई लाली ल्याएको चमक के मरि मेट्नु
बुझेको मैले आत्माको साँचो त्यो निखार हैन ।


आनन्द भट्टराई "गाउँले"

गजल - " पिठ्यूँमा ढाकर..."

पिठ्यूँमा ढाकर पसिना झर्यो तर्तरी कठै ।
गरीबको जाडो काम्यो है ढाक्रे थर्थरी कठै ।

दैवले कस्को पक्षपात गर्‍यो रचेर आफै
कसैको हाँसो कसैको आँशु बर्बरी कठै ।

ढाडमा बस्यो काम्रोको डाम कस्ले हो देख्ने
मनको घाउ पोल्दो हो कति चर्चरी कठै ।

खडेरी याम अन्न त बिर्से गिठ्ठानी' खै र
भोकाइ तिनका बालाखा रोए धर्धरी कठै ।

भोटमा लोग्ने घरमा स्वास्नी पीडा छ उस्तै
कुर्कुच्चा फुटी रगत बग्यो छर्छरी कठै ।


आनन्द भट्टराई 'गाउँले'

गजल - 'प्रवासीको प्रवासमै...'

प्रवासीको प्रवासमै केश फुलेछ ।
पौरखले पराईको बाली झुलेछ ।

रह्यो अब जिन्दगीको मात्र जिलौटो
बल्ल आफ्नै धारातलको नेत्र खुलेछ ।

साँची ल्याको अभिलाषा थियो कोरल्नु
नसा नसा विदेशको पानी डुलेछ ।

ललाटमा यस्तो रै'छ! बल्यो फिलुङ्गो
डढी सबै खरानिनै कतै घुलेछ ।

खास्टो छोडी के के ओड्यो जानी नजानी
'गाउँले'ले नेपालीको रित भुलेछ ।


आनन्द भट्टराई 'गाउँले'