Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Sunday, August 25, 2013

गीत - ए दाइ ए भाइ.....


ए दाइ ए भाइ नभुल है अभिभारा
हेर न हेर बैरीले घेरिसके सारा
जुरुक्क उठन बुरुक्क उफ्रन
हामी पनि लेखौँ एक दुई धारा

झिस्मिसे त गैसक्यो
पूर्वमा लाली छाइसक्यो
उठौँ अब जुटेर गोली र बोली लिएर ...
लडौँ रणभुमीमा बैरीको रगत पिएर
ए दाइ ए भाइ.....

भाइचारा हाम्रो ढल्यो यहाँ
सामन्ती जरा गड्यो यहाँ
पराईले आगनिमा धम्क्याएर भुक्दै छ
झन्डा हाम्रो झुक्दै छ किनकी सपूत लुक्दै छ
ए दाइ ए भाइ.....

शिवको सृस्‍टि बुद्धको ज्ञान बचाउँनु छ हामिले
पौरखले मेची काली सजाउँनु छ हामिले
अब हामि नजागे सगरमाथा झुक्छ है
हातेमालो नगरे विश्वमा नेपाल लुक्छ है
ए दाइ ए भाइ.....

आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Monday, July 15, 2013

गीत - शीशाझैँ फुटेको....


शीशाझैँ फुटेको छ मेरो छुट्टै प्रेम कहानी ।
पात भै झरेको छ मेरो छुट्टै प्रेम कहानी ।

उदायो चाँदनी अस्ताइन् उनी बाचा गरेर
सोचेथें पालुवा ओइलाई त्यसै झर्यो सुकेर
वेदना लेखेको रहेछ मेरो  वियोगी भाग्य
यो गीतै काफी, भैगो लेख्दिन म कुनै काव्य
शीशाझैँ फुटेको.......................................

के जादु थियो र अल्झिन पुगेँ त्यहि फूलमा
विवश भै आज विध्यारानीको दिएँ उपमा
सिर्सिरे वतास आएछ आज झझल्को लिएर
एक थुङ्गा फूल गुमेको पल ती आँशु पिएर
शीशाझैँ फुटेको........................................


आनन्द भट्टराई 'गाउँले'
खोटाङ            

Friday, April 19, 2013

गीत - उध्यानका दुई फूलको...


उध्यानका दुई फूलको माया गर्ने शर्त थियो ।
तर तिनले बुझेनछन् मायाको कुन अर्थ थियो ।

भन्छ यौटा तिम्रो माया होला कुनै रामछायाँ
सिउँदो भर सिन्दुरले नत्र माया के माया
नाता अन्तै गाँस्छौ होला पछि एक्लै पार्छौ होला
मेरो बस्ती छोडी तिम्ले डेरा कतै सार्छौ होला

उध्यानका दुई फूलको...............................

अर्को भन्छ सिन्दुर हाल्दै साँचो माया हुन्न साथि
बुझाईको माया मात्रै  हुन्छ सबै भन्दा माथी
नाता जोड्नु यौटा कुरा माया गर्नु अर्को कुरा
मायालाई नाता माने हाम्रो माया हुन्न पुरा

उध्यानका दुई फुलको ..............................  


आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Saturday, June 16, 2012

गीत - "मेरो त जिन्दगी..."

मेरो त जिन्दगी बगरमा सुकेछ ।
मेरो त सूर्य क्षितिजमै लुकेछ ।

म रुनुको यहाँ अर्थ रहेन
म लडें कहाँ कसैले कहेन
आकाश मेरो बादलले पुरै ढाकेको बेला
भौतारिँदैछु जीवनले नेटो काटेको बेला
मेरो त जिन्दगी.......................

कहाँ थें खुसी सागर तर्दा
पिँजडा भित्र जिउँदै मर्दा
वसन्ती पालुवा झरेछ कठै
आगोको ज्वालामा परेर कठै
मेरो त जिन्दगी...................

फूलको बोटमा कुन्नी के पर्‍यो
कोपिला त्यसै नफक्री झर्यो
मक्कियो फेरि धुरीको भाटा
दुखेको घाउ बसेन खाटा

मेरो त जिन्दगी बगरमा सुकेछ ।
मेरो त सूर्य क्षितिजमै लुकेछ ।

आनन्द भट्टराई "गाउँले'
खोटाङ

Saturday, May 19, 2012

गीत - माटोलाई पुग्यो रे.......

माटोलाई पुग्यो रे रगतको मल ।
अबत माग्दैछ पसिनाको जल ।

जुटौं सबै पुरानो कुटो छाडेर
उन्नतिको नौलो खम्बा गाडेर
आमाको चाहना सन्ततीको हातेमालो
एक पछि अर्को उठौं पालै पालो

माटोलाई पुग्यो रे.................

ए सपुत हो, जन्मभूमी फर्कन
कला र पसिना यै माटोमा खर्चन
सगरमाथा हाम्रो शीर ढल्न दिनु हुन्न
हामी मिले यहाँ परायाले छुन्न

माटोलाई पुग्यो रे...................

जातले केही गर्दैन चिनारी हाम्रो नेपाली
शान्तिको लाली छरेर बन्नु छ राम्रो नेपाली
कालो रात चिरेर नौलो घाम झुल्काऔं
आफु रम्ने फुलबारी हामी आफै बनाऔं

माटोलाई पुग्यो रे रगतको मल ।
अबत माग्दैछ पसिनाको जल ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Friday, December 9, 2011

गीत - 'मेरो नयाँ बसन्त...'

मेरो नयाँ बसन्त अतित बोकी आएछ ।
सँग सङ्गै बुढ्यौलीको रङ्ग घोली आएछ ।
 
 
सिउँडी र सुनाखरी कैयौं पल्ट फुल्दा पनि
के हो जीवन् चिनिएन जवानी यो ढल्दा पनि
प्राण प्यारी धर्ती माता पुर्खौं देखि बचायौ
मलाइ नी' जन्माएर यै छातीमा नचायौ
विधाताको विधान कस्तो? आएपछि जानै पर्ने
आँशु हाँसो घोली संधै बाँच्नलाई खानै पर्ने
मेरो नयाँ बसन्त.....................................
 
 
ए पहाडका भित्ताहरु एक चोटि हाँसन
म त एसै डुब्न लागें थोरै माया गाँसन
साउने झरीको चुटाइमा नी' मौन छौ
चैत मासे हुरीको सेकाइमा नी' मौन छौ
कति युग बाँच्ने हो? एक चोटि बोलन
म डुब्नु अगाबै मनको कुरा खोलन
 
 
मेरो नयाँ बसन्त अतित बोकी आएछ ।
सँग सङ्गै बुढ्यौलीको रङ्ग घोली आएछ ।
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ