Saturday, January 26, 2013

गजल - "दु:खले आर्ज्यो..."

दु:खले आर्ज्यो केही जुटायो ।
दैवले फेरि गाँसै टुटायो ।

मान्छेको 'कु' त वास्ता गरेन
प्रकृतिलेनै सर्व लुटायो ।

नपाई चाल कस्ले हो कुन्नी
उस्को र उन्को साथ छुटायो ।

लौ भनिदेउ ए जून तारा
असिना झारी कस्ले कुटायो ।

डटेर लड्दा नसकेरनै
अर्धाङ्गिनीको चुरा फुटायो ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ        

Sunday, January 20, 2013

गजल - "सम्झेर ढुक्ढुकी..."

सम्झेर ढुक्ढुकी फर्केर आऊ ।
अमर प्रेमका क्यै गीत गाऊ ।

विवेकी बनेर खियाई जाँदा
अबश्य तर्दछ प्रेमको नाउ ।

वैरीको निशानी चुकाइ तिम्ले
कहिल्यै नचुक्ने लौ प्रीत लाऊ ।

यो जोवन् तिम्रै यो हाँसो तिम्रै
मायाको हुँदैन तोकेको भाउ ।

इच्छाए तिमिले दैवले दिन्छन्
सपना साँचेर मन्दिर धाऊ ।

तोडेर कसम नहिँड प्रिय
भरिन्न कहिल्यै मुटुको घाउ ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ           

Sunday, January 13, 2013

गजल - "अधुरो तिम्रो..."

अधुरो तिम्रो मायाले दे'को पोल्दैछ घाउ ।
निर्दयी बनी मुटुमा पीडा  घोल्दैछ घाउ ।

रमेर सँधै शयर गर्ने कल्पना ऐले
रोएर भित्र यथार्थ यहाँ बोल्दैछ घाउ ।

किशोरी तिमी किशोर म थें भावना फुल्थ्यो
तर नटिक्ने त्यो तितो सत्य खोल्दैछ घाउ ।

उघारी आँखा फाटेको गगन मुर्छेर हेर्दै
फाटिन आँफै बहको पानी ढोल्दैछ घाउ ।

खप्दैमा पीडा थाकेर अब विस्राम लीइ
पाउन मुक्ति जीवनको आयु मोल्दैछ घाउ ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ  

गजल - "न सुस्तिरको..."

न सुस्तिरको काम छ कुल्लीलाई ।
न काम जस्तो दाम छ कुल्लीलाई ।

भाग्य खोज्छ ऊ पाखुरी बजाएर
न चाहे जस्तो माम छ कुल्लीलाई ।

पहुँच हुने काँ पुगे छाडी कठै
अझै 'कुल्ली'नै नाम छ कुल्लीलाई ।

चल्दा सिरेटो सर्वत्र शिशिरमा
न प्रकृतिकै घाम छ कुल्लीलाई ।

सजिंदा अरु लगाई फूलमाला
न क्यै पर्वको याम छ कुल्लीलाई ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "मायालुलाई..."

मायालुलाई मायानै शिसार लौ ।
प्रणयमानी' यो कस्तो चित्कार लौ !

रुवाइन् यहाँ भनिछिन् हसाएँ त्याँ
फेरि यो कस्तो पापीको उद्गार लौ !

क्या प्यार दिन्छ सागरले माछीलाई
जे गर्दा पनि उसलाई के भार लौ ।

रुप र राग संयुक्त लतालाई
सुकेको फुस्रो थाँक्रोनै आधार लौ ।

ढुक्ढुकी सम्झि आएँ म भेट्नलाई
बुझ्नु नबुझ्नु यो तिम्रो बिचार लौ ।

आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "दुई दिने बैंशको..."

दुई दिने बैंशको वतासमा रहेछ जिन्दगी ।
हाँस्दा पनि आँशुको आभासमा रहेछ जिन्दगी ।

पन्छाइयो अनेकौं जंजिर र भोकमरीहरू
दु:ख गरि जिएको मिठासमा रहेछ जिन्दगी ।

के सकिन्थ्यो भेट्न यो हत्तपत्त सक्कली रुपमा
धेरै माथी टालेको आकाशमा रहेछ जिन्दगी ।
तरे पनि सागर गरेपनी नौ लाख उन्नति
अन्तत: छोडी जाने निराशमा रहेछ जिन्दगी ।

दौडी दौडी खोजियो बिना गाँस विश्व भुमरिमा
आखिर फुत्त जाने यो सासमा रहेछ जिन्दगी ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "दशैंमा...."

परदेशी छोरो आओस दशैंमा ।
मालश्री भाका गाओस दशैंमा ।
बर्षौं दिन सम्म रोएको मनले
शान्तिको आभास् पाओस दशैंमा ।
आफन्त जनमा खुलेको कान्तीले
युगौंलाई लाली छाओस दशैंमा ।
यो सन्नाटा चिर्दै सिर्सिरे वतास
सुसेली बनेर धाओस दशैंमा ।
टिका र जमरा सजीइ शिरैमा
अनुरागी नाता लाओस दशैंमा ।
आनन्द भट्टराई "गाउँले"
खोटाङ