Saturday, October 13, 2012

गजल - "घाम जस्तै..."

घाम जस्तै चर्की दिने बानी तिम्रो गजबको ।
पानी जस्तै दर्की दिने बानी तिम्रो गजबको ।

त्यो मनमा मेरो चन्द्र झलमल्ल लाग्दा पनि
बोलाउँदा झर्की दिने बानी तिम्रो गजबको ।

गोधूली र प्रभातमा भेट हुँदा दोबाटोमा
लजाएर लर्की दिने बानी तिम्रो गजबको ।

जल्दा जल्दै आँत मेरो तड्पाएर तिमिलेनै
फेरि जल छर्की दिने बानी तिम्रो गजबको ।

आवेगमा हुरी जस्तै बही जाँदा पत्थरमा
ठोक्किएर फर्की दिने बानी तिम्रो गजबको ।


आनन्द भट्टराई "गाउँले"

Friday, September 28, 2012

गजल - "हात भरी..."

हात भरी ठेला मेरो पाखो बारी खन्दा ।
अझै चुल्हो बलेन खै साँवा ब्याज गन्दा ।

हाँसो किन्ने आशा बोकी भोट गा'को छोरो
फर्केन खै दुस्मनीको परेछ की फन्दा ।

अश्रुधारा सङ्गै बगे सपनिका ताँती
ठाउँ छैन तेरो लागि दुनियाँले भन्दा ।

स्नेही धर्मी मान्छेहरू भेटिंदैनन् आज
दिन दिनै बढ्न थाल्यो पाखण्डीको धन्दा ।

दृष्‍टि घट्यो बैंश बित्यो बुढ्यौलीले छुयो
पराईको उध्यानमा पराक्रमी बन्दा ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ                     

Saturday, September 22, 2012

गजल - "झिस्मिसेमै..."

झिस्मिसेमै पल्लो डाँडा काटौं भन्छु मान्दिनन् ।
बेला हुँदै हित्त चित्त साटौं भन्छु मान्दिनन् ।

लुकी छिपी कति गर्नु जवानिका बात भो
हाक्का हाक्की अंगालिन आँटौं भन्छु मान्दिनन् ।

हाम्रो गगन छेकी हिंड्ने हामिनै हौं बादलु
रश्मीलाई बाटो दिंदै फाटौं भन्छु मान्दिनन् ।

तिम्रो छायाँ भैसकें म छुटी जाउँ कसोरी
पिरतीको एकै डोरी बाटौं भन्छु मान्दिनन् ।

आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "आफ्नै कथा..."

आफ्नै कथा लेखुँ भन्छु कलम मान्दैन ।
उडेको मन गुरुत्वले किन तान्दैन ?

निफनेर फ्याँकिएँछु कठै म दुखी
भाग्य दिन भाविले नी' किन जान्दैन ?

खोला खोल्सी उम्रिएको काली निगुरो
आज भोलि मिल्दो साथि ढिंडो छान्दैन । 

रातै भरी भविस्यको बुन्थ्यो सपनि
किन दुख्यो आज मन वेग हान्दैन ।

हेर्दा हेर्दै बिरानो भो' कस्तो अचम्म
ढाकर तोक्मा 'गाउँले'ले आफ्नो ठान्दैन ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "उध्धानमा फक्रिएको...'

उध्धानमा फक्रिएको यस्तो राम्रो फूल थियो !
नटिपेर हेरि र'नु मेरो आफ्नै भुल थियो ।

राग छर्थ्यो वरिपरि जवानीको उन्मादले
समिपमा गा'को भए पिरतीको मुल थियो ।

ललाटमा थिएन की हुँदा हुँदै छलियो खै
बगैँचामा सुहाउँदो मिल्दो जुल्दो कुल थियो ।

भेट हुन्थ्यो नजरमा माया थियो मुटु भरी
दुवैलाई जोडि दिने भावनाको पुल थियो ।

बोल्छु केही भन्दै थिएँ पराईको भैसकेछ
आजै देखें सामुन्नेमा भमराको हुल थियो ।


आनन्द भट्टराई "गाउँले"

गजल - "फूल देख्दा..."

फूल देख्दा बगैंचामा भमरा'नि भुल्दो रैछ ।
प्रियसीको नजरमा जवानी यो फुल्दो रैछ ।

अबिरल छहराझैं झरिरने माया प्रिती
पवन भै मायालुको वरिपरि डुल्दो रैछ ।

चाह बोकी पिरतीको उनी आइ सामिप्यमा
चिहाउन खोज्दा पनि दिलको ढोका खुल्दो रैछ ।

टुसाएका इच्छाहरू उनी सामु पर्‍यो की त
धपक्कै त्यो चन्द्रमुखी अधरमा घुल्दो रैछ ।

कस्तो हो यो माया भन्ने? बेमौसमी बाली जस्तो
बार्हैमास पाके सरी लह लह झुल्दो रैछ । 


आनन्द भट्टराई "गाउँले"

गजल - "भुल्यौ कहाँ?..."

भुल्यौ कहाँ? पुर्णिमाको जून भेट्यौ की ।
मनै हर्ने बाँसुरीको धुन भेट्यौ की ।

बाचा थियो छिट्टै भेट्ने तर भेटिनौ
शिशिरमा कतै न्यानो ऊन भेट्यौ की ।

गुलाबी त्यो अधरले केही बोल्दैछ
जिन्दगीमा साथ मिल्ने खुन भेट्यौ की ।

हिमालकी छोरि तिमी त्यसै सुन्दरी
झनै राम्रो अकबरी सुन भेट्यौ की ।

भन्थ्यौ अरे जवानी त भै गो बिलिनो
उपरान्त बैंश खुल्ने नुन भेट्यौ की । 


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "न त शीत भै'..."

न त शीत भै' झर्यौ ।
न त बर्षा भै पर्यौ ।

अहो क्या फुर्ती थियो
गर्जी मेघझैँ टर्यौ ।

आफ्नै छ रित्तो डाली
अर्कै भकारी भर्यौ ।

देख्छु गहमा आँशु
भन के गल्ती गर्यौ ?

सबै तर्केर हिँडे
कस्तो सुवास छर्यौ ? 


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "भक्तिले अब..."

भक्तिले अब माटोको टीका लगाई हेरौं त ।
कर्मले बाँच्ने चेतना मात्र जगाइ हेरौं त ।

सपुतहरू रगत हैन विवेकको पसिना
जन्मेको माटो उर्वर पार्न बगाइ हेरौं त ।

मागेको सित्ता छोडेर अब आफैले आर्जेको
ढींडो र फाँडो खाएर हामी अघाइ हेरौं त ।

आर्जियो जस्ले स्वमित्व उस्कै यो त हो चलन
त्यागेर यस्तो ती बाट नजर भगाई हेरौं त ।

बाँच्छौं की हामी हाँसेर संधै स्वदेशी माटोमा
दुर्वल माथी दयाले केही सघाइ हेरौं त । 


आनन्द भट्टराई "गाउँले"

 

गजल - "नयन किन..."



नयन किन अडीए तिम्रो चौबन्दी चोलीमा ?
नशा छ कस्तो भुतुक्कै पार्ने मोहनी बोलीमा ?

हिमाली चिसो पानीमा खेल्दै हुर्केकी अबला
हेर्दैमा लाग्छ अप्सरा हौ की दौंतरी टोलीमा ।

ग्यान्था र चुवा चम्पा चमेली लाग्दछ तिमी हौ
स्वीकार भए आग्रह मेरो लान्थें म डोलीमा । 

प्रकृतिलेनै सिंचेर हो की सदैव रसिली
लाँदैछु आज सम्झना मिठो यो मनको झोलीमा ।

भाग्यमा भए आउँला फर्की सम्झेर अर्को साल
नभन बरै लाहुरे जीवन छ एकै गोलिमा ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल-"बाल्यकालमा..."

बाल्यकालमा खाने अनी खेल्ने मात्रै कुरा भए ।
किशोरमा सबै सामु बोली निकै छुरा भए ।

बैंश पनि यस्तो आयो आफैलाई बिर्सिएर
दिन रातै याद आउने सान्नानीको चुरा भए ।

त्यसै गरि पुग्थ्यो कहाँ? समयले गाँज्यो आखिर
पञ्चे बाजा बजे पछि आधा दर्जन भुरा भए ।

जिन्दगी यो डुब्न लाग्या घाम जस्तै भए पछि
के गर्नु र ऐले बल्ल विचार मेरा सुरा भए ।

भेटिंन खै जीवन् चिन्ने चिनाउने बाटोहरु
जन्मी हुर्की मर्नु पर्ने रिती मात्रै पूरा भए ।


आनन्द भट्टराई  "गाउँले"

गजल - "गरें की गल्ती..."

गरें की गल्ती जानि नजानी ।
जलाई मुटु पार्यौ खरानी ।

उषाको आश टुट्यो रातमै
भन्नु थ्यो यौटा नौलो काहानी ।

वेदना कस्तो? गड्यो छातीमै
झरेको पात पार्यौ बैमानी ।

तप्केको शीत किन्तु नसोच
अमुल्य हुन्छ सब्को जवानी ।

शिशिरको गर्व उष्णमा खै त
पग्लेर आजै भयौ रे पानी ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "म त यौटा..."

म त यौटा उध्धान हुँ बैश रोपी फुलाऊ ।
रङ्गी चङ्गी पिरतीका लतिकाले सजाऊ ।

जब मेरो बसन्तमा हुन्छ तिम्रो आगमन्
र्हिदयमा उर्लिएको चाह सबै बताऊ ।

गुराँस फुल्यो लेकै भरी टाँकी फुल्यो बेंसिमा
तिमी फुली मेरो दिलमा जिन्दगानी हँसाऊ ।

यहाँ कति साबित्री छन् जस्को कथा लेख्नु छ
तिम्रो साथ चाहन्छु म हात मेरो समाऊ ।

सुम्पी दिएँ यौटा जीवन् अजम्बरी मायामा
त्याग बुझी हाम्रो नाता जुनी जुनी बचाऊ ।



आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "भीड सबै..."


भीड सबै मेला हुँदैन ।
कुस्ती सबै खेला हुँदैन ।

पाक्या' बाली टिपी खानेको
हत्केलामा ठेला हुँदैन ।

गुरु सामु कोहि झुक्दैमा
उपकारी चेला हुँदैन ।

मेरो देह यहि ढलोस् त
तिम्रो शुभ बेला हुँदैन ।

फुल्दा सम्म बास्ना फिंजाइ
फूल कतै हेला हुँदैन ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "कोहि हमेसा..."

कोहि हमेसा ठगेरै रम्छ ।
कोहि स्वार्थमा बिकेरै रम्छ ।

सित्ता खानेको देखिन्छ आँशु
ढिंडो खाने याँ खुलेरै रम्छ ।

मुल्य जीवनको ज-जस्ले बुझ्यो
हुरी असिना सहेरै रम्छ ।

आँफै ढलेनी' क्यै चिन्ता छैन
कोहि हितमा मरेरै रम्छ ।

जस्को छातीमा राष्ट्रको माया
उ त युद्दमा लडेरै रम्छ ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल -"प्रिय तिम्रो ..."

प्रिय तिम्रो शहरमा कति चोटि आएथें ।
मीठा मीठा पिरतिका गीत कति गाएथें ।

सिउँदोमा राखिदिन कैयौं चोटि आफैले
हत्केलामा पुर्णिमाको जून टिपी ल्याएथें ।

मर्म बुझ्नु पर्ने थियो खाली सर्म देखायौ
फेरि हिंजो कोहि सँग मदहोशी पाएथें ।

शुन्यतामा बसी तिमी विरहले सुसेल्दा
केश तिम्रा चुमी चुमी बयेली भै छाएथें ।

गोधुलिमा सोरठीको पूर्ण राग अलाप्दै
अङ्गालोमा कसुँ भन्दा धोकै धोका खाएथें ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल -" सुन्ने भए..."

सुन्ने भए बोलाउँथें चौतारिमा बसेर ।
बस्नु पर्‍यो सम्झि सम्झि आफ्नै मन कसेर ।

चिनो उन्को छिनो भयो जूनी भरी मलाइ
याद भई घोचिरह्यो मुटु भित्र पसेर ।

निदरिमा जब हुन्छु मुस्काउँछिन सामुन्ने
बगिदिन्छिन फेरि त्यसै नयनबाट खसेर ।

उनीलाई चुमी आज आयो क्यारे बतास
वेग हान्यो मै तीर लौ झस्केँ आफै तर्सेर

पिरतीको तीर हानिन् तर बाँचे अचम्म
तब अझै पग्लिएँछु मोहनिमा फसेर ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

Saturday, June 16, 2012

गजल - "ला'को हैन पिरती..."

प्रेमी :    ला'को हैन पिरती रुपै मात्र हेरेर ।
            जाने हौकी चटक्कै फेरि दिल फेरेर ।

प्रियसी : के भनेको तिमिले? फुट्ने गरि यो मुटु
             माया साँची राख्नेछु पछ्यौरीले बेरेर ।

प्रेमी :      मनको बह पोखाएँ सहयात्री सम्झेर
             दु:ख दियो भन्यौ की व्यर्थै मन केरेर ।

प्रियसी : अजम्बरी माया त हुन्छ यस्तै जोडीमा
              जहाँ बुझ्छन् दुवैले दुवैलाई खेरेर ।

प्रेमी :    ऐले मन अल्झियो चौबन्दीको तुनामा
             भोलि पक्कै आउँछ नियतिले घेरेर ।

प्रियसी: बज्रै किन नपरोस् साँचो माया डग्दैन
            हाँसी हाँसी बाँचौला पिर व्याथा सेरेर ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "खसेछ दुवोमा ..."

खसेछ दुवोमा बिहानीको शीत ।
कुक्कुले गायो तीँ यौटा मिठो गीत ।

दुवोले उघार्यो चिम्लिएको आँखा
अनी त सम्झिएँ तिम्रो मेरो प्रित ।

भो अब खोज्दिन दौलतको खात
नि:स्वार्थ सेवानै प्रकृतिको रीत ।

फुलाऔं मिलेर दौँतरीको फूल
यसैमा हुँदो हो हाम्रो ठुलो जीत ।

छर्लङ्ग यो बुझेँ आफैलाई सोधी
प्राणी र प्रकृति आपसाका हीत ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गीत - "मेरो त जिन्दगी..."

मेरो त जिन्दगी बगरमा सुकेछ ।
मेरो त सूर्य क्षितिजमै लुकेछ ।

म रुनुको यहाँ अर्थ रहेन
म लडें कहाँ कसैले कहेन
आकाश मेरो बादलले पुरै ढाकेको बेला
भौतारिँदैछु जीवनले नेटो काटेको बेला
मेरो त जिन्दगी.......................

कहाँ थें खुसी सागर तर्दा
पिँजडा भित्र जिउँदै मर्दा
वसन्ती पालुवा झरेछ कठै
आगोको ज्वालामा परेर कठै
मेरो त जिन्दगी...................

फूलको बोटमा कुन्नी के पर्‍यो
कोपिला त्यसै नफक्री झर्यो
मक्कियो फेरि धुरीको भाटा
दुखेको घाउ बसेन खाटा

मेरो त जिन्दगी बगरमा सुकेछ ।
मेरो त सूर्य क्षितिजमै लुकेछ ।

आनन्द भट्टराई "गाउँले'
खोटाङ

गजल - 'मन पोल्ने आगो...'

मन पोल्ने आगो आँशुले निभेन ।
कठैबरा तँ कसैले भनेन ।

घाम र जून त धनीलाई भै'गो
म दुखियाको तारानी' झुल्केन ।

आकाश झर्दा धैर्यले धानेथें
अब त खै र यसैले धानेन ।

पौडियो गावै आँशुको भेलमा
दुखाइ मन दयाले वर्सेन ।

देहको भारी बिसाइदे दैव
चाहेर मैले यो आँखा चिम्लेन ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Saturday, May 19, 2012

गजल - 'टीमिक्क वश्त्र...'

टिमिक्क वश्त्र खिरिलो ज्यान ।
पुस्ट वदनमा अडियो ध्यान ।

उम्लेको यौवन सम्हाल्छ कस्ले
म भित्र के के हुँदैछ भान ।

चेहरा कस्तो? भुतुक्कै भएँ
सामुन्ने मेरो नपार सान ।

यो मन भन्छ फक्रेछ फूल 
सुस्तरी हात समाइ तान ।

भावना व्यक्त गरुँ कसोरी
ए सरस्वती देउन ज्ञान ।
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ

गजल - 'न त राम्रो क्रान्ति...'

न त राम्रो क्रान्ति भयो ।
न देशमा शान्ति भयो ।

मालीहरू लड्या लड्यै
जनताको हान्ती भयो ।

आशा थियो उन्नतिको
अवन्नती प्राप्ती भयो ।

गरे वचन मीठा मीठा
खै त कस्तो कान्ती भयो ?

संविधान बन्ला भन्ने
मात्रै यहाँ भ्रान्ती भयो ।



आनन्द भट्टराई 'गाउँले'
खोटाङ

गजल - के छ र वैनुन......

के छ र वैनुन जरुवा पानीको ।
बोलिनै मिठो चन्चले नानीको ।

लाउँदिन माया ओठको मुस्कानले
फसिन्छ भन्थिन जाल्मा वेमानीको ।

उकाली चढ्दा भञ्ज्याङको बाटोमा
क्या बात गर्थिन नशालु बानिको ।

खडेरिमानी' फुल्दछिन उनी त
के गीत गाउँनु उन्को जवानीको ।

बिर्सुँ भन्छु झन् सम्झना झल्झली
बेठिमा नाच्ने 'गाउँले' सानीको ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ

गीत - माटोलाई पुग्यो रे.......

माटोलाई पुग्यो रे रगतको मल ।
अबत माग्दैछ पसिनाको जल ।

जुटौं सबै पुरानो कुटो छाडेर
उन्नतिको नौलो खम्बा गाडेर
आमाको चाहना सन्ततीको हातेमालो
एक पछि अर्को उठौं पालै पालो

माटोलाई पुग्यो रे.................

ए सपुत हो, जन्मभूमी फर्कन
कला र पसिना यै माटोमा खर्चन
सगरमाथा हाम्रो शीर ढल्न दिनु हुन्न
हामी मिले यहाँ परायाले छुन्न

माटोलाई पुग्यो रे...................

जातले केही गर्दैन चिनारी हाम्रो नेपाली
शान्तिको लाली छरेर बन्नु छ राम्रो नेपाली
कालो रात चिरेर नौलो घाम झुल्काऔं
आफु रम्ने फुलबारी हामी आफै बनाऔं

माटोलाई पुग्यो रे रगतको मल ।
अबत माग्दैछ पसिनाको जल ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Friday, April 20, 2012

गजल - "एउटा चिठ्ठी..."

एउटा चिठ्ठी लेख्नु थियो ।
मनको बह थेग्नु थियो ।

अनुरागी चिठ्ठी भित्रै
तिमिलाइ देख्नु थियो ।

दिलै देखि उर्ली आ'को
ज्वारभाटा छेक्नु थियो ।

फूल कल्पी के गर्नु र
काँडा माथी टेक्नु थियो ।

अन्तिम् इच्छा अधुरै भो'
दुख्या' घाउ सेक्नु थियो ।

आनन्द भट्टराई 'गाउँले'

Saturday, April 14, 2012

*** शुभकामना २०६९ को ***

वसन्ती हावाले शितलु छरोस ।
दु:ख र दुखाइ सर्वत्र घटोस ।

हजुरको जिन्दगी रमाइ सँधै
गगांझैँ निश्चिन्त सलल बगोस ।

तिर्खाले तड्पे'का प्राणी छन् जहाँ
दयालु हातको निशानी बनोस ।

शुख र सम्रिद्दी आत्माको शान्ति
जीवनमा कमी कहिल्यै नहोस ।

अर्पिएँ यतिनै शब्दका सौगात
यो शुभकामना वर्षिन सकोस ।


आनन्द भट्टराई 'गाउँले'

गजल - "जिन्दगी मेरो..."

जिन्दगी मेरो कसैले दे'को उपहार हैन ।
केही त बोल म प्रकृतिको तिरस्कार हैन ।

देउराली धाइ चढाएँ पाती कामना गर्दै
अरुले जस्तो बसेको ब्रत निराहार हैन ।

मनको आगो सक्छौ र रोक्न? के गर्नु रुप
अधर हेरी अङ्गालुँ भन्ने यो विचार हैन ।

नसोच प्रिय मलाइ कुनै विषाक्त व्रिक्ष
म फूलको बीच उम्रेको दुस्ट झारैझार् हैन ।

लगाई लाली ल्याएको चमक के मरि मेट्नु
बुझेको मैले आत्माको साँचो त्यो निखार हैन ।


आनन्द भट्टराई "गाउँले"

गजल - " पिठ्यूँमा ढाकर..."

पिठ्यूँमा ढाकर पसिना झर्यो तर्तरी कठै ।
गरीबको जाडो काम्यो है ढाक्रे थर्थरी कठै ।

दैवले कस्को पक्षपात गर्‍यो रचेर आफै
कसैको हाँसो कसैको आँशु बर्बरी कठै ।

ढाडमा बस्यो काम्रोको डाम कस्ले हो देख्ने
मनको घाउ पोल्दो हो कति चर्चरी कठै ।

खडेरी याम अन्न त बिर्से गिठ्ठानी' खै र
भोकाइ तिनका बालाखा रोए धर्धरी कठै ।

भोटमा लोग्ने घरमा स्वास्नी पीडा छ उस्तै
कुर्कुच्चा फुटी रगत बग्यो छर्छरी कठै ।


आनन्द भट्टराई 'गाउँले'

गजल - 'प्रवासीको प्रवासमै...'

प्रवासीको प्रवासमै केश फुलेछ ।
पौरखले पराईको बाली झुलेछ ।

रह्यो अब जिन्दगीको मात्र जिलौटो
बल्ल आफ्नै धारातलको नेत्र खुलेछ ।

साँची ल्याको अभिलाषा थियो कोरल्नु
नसा नसा विदेशको पानी डुलेछ ।

ललाटमा यस्तो रै'छ! बल्यो फिलुङ्गो
डढी सबै खरानिनै कतै घुलेछ ।

खास्टो छोडी के के ओड्यो जानी नजानी
'गाउँले'ले नेपालीको रित भुलेछ ।


आनन्द भट्टराई 'गाउँले'