Friday, September 28, 2012

गजल - "हात भरी..."

हात भरी ठेला मेरो पाखो बारी खन्दा ।
अझै चुल्हो बलेन खै साँवा ब्याज गन्दा ।

हाँसो किन्ने आशा बोकी भोट गा'को छोरो
फर्केन खै दुस्मनीको परेछ की फन्दा ।

अश्रुधारा सङ्गै बगे सपनिका ताँती
ठाउँ छैन तेरो लागि दुनियाँले भन्दा ।

स्नेही धर्मी मान्छेहरू भेटिंदैनन् आज
दिन दिनै बढ्न थाल्यो पाखण्डीको धन्दा ।

दृष्‍टि घट्यो बैंश बित्यो बुढ्यौलीले छुयो
पराईको उध्यानमा पराक्रमी बन्दा ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ                     

No comments:

Post a Comment