भनिन्छ अतितलाई नसम्झनु,
मात्र वर्तमान अनी भविस्य ।
तर व्यस्तताले रन्थनियको वर्तमानबाट
केही क्षण शुन्यतामा चुसुक्क बसेको बखत
अतितका रश्मीहरुले खप्पर छेडी मगज चुमे आज ।
लाग्छ म चिउरी पाखामा कालेगोरुलाई
अँगेरीको काँचो लठ्ठीले कुटिरहेको छु ।
झ्याप्ली बाख्राले डाँडा बारीको कोदो सखाप पार्दा
आक्रोसले खोरमा थुनेर चोट लाग्ने गरि चुटिरहेको छु ।
कठै काले, कठै झ्याप्ली
आजत स्वर्गको रानिवनमा चर्दै हौला,
क्षमा देउ है,
मैले होनहार गल्ति गरेँछु ।
साउनको सिम्सिमे वर्शा संगै
कुइभिरबाट उकालो लागेको हुस्सुले घरबारी ढपक्कै ढाक्दा
मौका छोपी सेतो ढेडु मकै चोर्न आएको पल
म मकै रुङ्ने मकै गोठालो
अनी,
ढेडुद्वरा आफै लखेटिएको क्षण ।
आहा कस्तो अचम्म !
त्यो परिस्थिती
त्यो वाल्यकाल ।
प्रभातको मिर्मिरे अगावै चकमन्न रातमा
आमा सखारै उठी मुठी मुठी गरि ओइरो लगाउँदै
कोदो पिसेर छाक पुग्दा,
बाबाले खुट्टामा पोया लगाइ बाटेको काले गोरु बाँध्ने
दाम्लोको गलामे गाँठो परिसक्थ्यो ।
लाग्छ म अहिले पनि त्यहि मिर्मिरेमा
मस्त निदाइरहेछु
आमाले कोदो पिसेको सङितमय ध्वनी संगै ।
गोधुलीले जवानी रुप नलिँदै
मन्द टुकीको उज्यालो भित्र
मिर्मिरेमा पिसेको पिठोले
विस्तारै ढींडोको रुप लिंदै हुन्थ्यो
एक फलामे दाविलो बाट मस्की मस्की ।
जसको सहयात्री गुन्द्रुक फाँडो,
लाग्छ म त्यहि ढींडो खोर्सानी मिचेको गुन्द्रुक फाँडोमा चोपेर
नचपाइ निलिरहेछु मुली थामको फेदमा बसेर
जिब्रो पट्काउँदै ।
पँधेरामा भेट्ने पल्लो गाउँकी च्यान्टी सँगको कर्के नजर होस्
वा
पिँधबाट पानी चुहुँदै ल्याएको हरियो खरुकीको भारी,
आहा ! लाग्छ म लालेको बारिमा सिम्सिमे वर्सासंगै
कोदो रोपिरहेछु घुम ओढेर ।
त्यस यता कैयौं वसन्त विदेशमै विते
साथै वितेछन सवै जिन्दगिका वहारहरु ।
न आउँछ त्यो वालापन फर्केर अव
नत देखिनेछन ती फुलबारिमा फुलेका मखमली, ग्यान्था र गोदावरीहरु,
नत टेकिनेछन ती नसा गल्ने उकाली र घुँडा दुख्ने ओरालीहरु ।
केवल सम्झनामा अनेकौं तरेलिहरु
आइरहन्छन ।
छाइरहन्छन ।
वर्तमान मस्तिस्कमा ।
आनन्द भट्टराई "गाउँले"