Thursday, June 30, 2011

गजल - "परेली नचाई"



परेली नचाई भुतुक्कै पार्यौ । 
मोहनी बोलीले वाचा'नी टार्यौ । 

भन्यौ जूनी जूनी म तिम्रै हुँ नी 
फेरि दिलको बाटो अहिल्यै बार्यौ । 

फेरेर मायाको मुलबाटो हाम्रो 
काँधी अर्कैलाई समुन्द्र तार्यौ । 

पानी की जवानी लागेको तिर्खा 
गाउँ वस्ती सारा निस्फिक्री चार्यौ । 

आँशुको उजुरी नसुनी मेरो 
बैंसको ताउमा पारेर मार्यौ । 


आनन्द भट्टराई गाउँले 
खोटाङ 

Sunday, June 26, 2011

गजल - "जिन्दगीको गोरेटोमा"

जीवन हो फुलबारी जिन्दगीको गोरेटोमा ।
युक्ती भए हुन्न भारी जिन्दगीको गोरेटोमा । 

पसिना र विवेकको संगम हो जिन्दगी यो 
साथ लिए तार्छ पारी जिन्दगीको गोरेटोमा । 

अघिल्तिर छरिएका काँडाहरु नपन्साए 
हुन्न जित आँशु झारी जिन्दगीको गोरेटोमा । 

विधाताको विधान हो सङ्गै अघि बढ्नु पर्छ 
सहयात्री नरनारी जिन्दगीको गोरेटोमा । 

यात्रा हाम्रो टुङ्गिन्छनै तर बाटो नटुङ्गे'नी 
रुक्नु हुन्न आफै हारी जिन्दगीको गोरेटोमा ।  


आनन्द भट्टराई "गाउँले" 
खोटाङ
    
नोट:-  'घायल'को तरही मुसायरा भाग १६ को आधारमा रचित गजल ।

Friday, June 24, 2011

गजल - "मेरो सार"


सुन्दर त्यो एक फूल, वरिपरि झार थियो । 
गोड्न जाउँ बाटो छेक्ने, धेरै अग्लो बार थियो । 

इच्छाएको काम गर्न, चाहाने त्यो किसानको 
समाजका भनाउँदा, ठालुहरु भार थियो । 

पिंजडामा कोचिएका, निर्दोस ती पंक्षि सामु 
केही पछि भोग लिने, चुलेसीको धार थियो । 

श्रम सीप युक्त थिए, दर्जिएका तल्लो जाति 
जित्ने खाली ठुलाहरु, तीनको सधैं हार थियो । 

मौलाएका झार बार, हार अनी धार भार
तोडें सबै किनकी म, जिउनुको सार थियो । 


आनन्द भट्टराई "गाउँले"

Monday, June 20, 2011

गजल - "विदेशमा"

यो विरानो वस्ती भित्र पसिनामा गलियो ।
मातृभूमी छोडी आज परभूमी मलियो ।

कर्मभूमी भएपनि कर्म कुनै नहुँदा
निच भई सधैं अर्को इशारामा चलियो । 

तारा चुम्ने लक्ष्य थियो जिन्दगीको यात्रामा
आधा बाटो नपुगिनै निराशाले जलियो ।

प्रियसीको जवानी त्यो ढकमक्क फुल्यो की
यहाँ मेरो फुल्ने दिन भाग्य बाटै छलियो ।

चौगरेमा लहलह जूनेलो र कागुनी
नहुने भो कल्पिदैमा बडेमान खलियो ।

सबै सामु उँचो हुने नेपाली शिर भए'नी
दासी भइ पराईको सामुन्नेमा ढलियो ।

घरबारी सिंची मेरै मार्शीधान झुल्थ्यो नी
पौरखले गर्या भए मासी रै'छ बलियो ।

आनन्द भट्टराई "गाउँले"
खोटाङ