Sunday, July 31, 2011

गजल - "किन?"

सधैं मेरो झुपडीमा गीठ्ठा मात्रै पाक्छ किन ?
देखि देखि मेरै पेट मिठो मात्रै माग्छ किन ?

हर दिन पाखुरा यी बजाएर काम गर्छु
फेरि सधैं दुखियाको सुख छेउ लाग्छ किन ?

गरिबीको कुहिरोमा सामन्तीको धुइरोले
मरी मरी बाँचोस् भनी मेरै शीर ताक्छ किन ?

श्रम गर्ने मैले यहाँ फल मिल्छ अर्कोलाई
दैवले'नी मेरै भाग्य अङ्कुशेमा जाक्छ किन ?

आँशु पोखी यो धर्तिमा बाँच्ने चाह छैन अब
बोलाउँछु मृत्‍युलाई फेरि टाढा भाग्छ किन ?

आनन्द भट्टराई "गाउँले"

* मैले वास्तविक जीवनमा देखेका केही मानिसको दु:ख र अरुबाट पाउँने थिचोमिचोको पराकास्टालाई आधार मानी यो गजल लेख्ने प्रयास गरेको हुँ, यध्धपी म जस्तै दु:खमा पनि मेहनत र साहशलाई आत्मसाथ गर्ने मान्छे हुँ ।

Monday, July 25, 2011

गजल - "ए हौ कान्छी'


बस्नु हुन्न भित्र भित्रै आफै जली ए हौ कान्छी ।
भोलि जान्छ आँखै अघि जोवन ढली ए हौ कान्छी ।

चौबन्दीको फेरो तानी टोलाउँदा विरहले
बगी दिन्छ पिरतीको आँशु गली ए हौ कान्छी ।

खुशी दीइ दोर्याएर साथै लीइ जानेलाई
नदेखेझैँ किन हिंड्छौ आँखा छली ए हौ कान्छी ।

प्रित ज्योति दिउँला म अध्यारोमा तिमिलाई
एकनास दियो जस्तै आफै बली ए हौ कान्छी ।

सधैं तिम्रो मौनताले खुल्दुली भै' मन भित्र
लानै आँट्यो उडाएर हुरी चली ए हौ कान्छी ।

आनन्द भट्टराई "गाउँले"

Thursday, July 21, 2011

गजल - "देश कठै!"

कर्तव्यनै भुलेपछी के बन्थ्यो र देश कठै ।
वैरी यहाँ फुलेपछी के बन्थ्यो र देश कठै ।
 
उदाउँदा उन्नतिका रश्मी पनि हेर्दा हेर्दै
क्षितिजमा घुलेपछी के बन्थ्यो र देश कठै ।
 
सेवा भनि आमा लुट्ने वहानाका गृहहरु
यत्रतत्र खुलेपछी के बन्थ्यो र देश कठै ।
 
राष्ट्र हाँक्ने युवाहरु आफु खुशी उन्मादको
निदरीमा झुलेपछी के बन्थ्यो र देश कठै ।
 
पसिनाले माटो सिंची गलाउँनु पर्ने बेला
भजन गाइ डुलेपछी के बन्थ्यो र देश कठै ।
 

आनन्द भट्टराई "गाउँले"

Monday, July 18, 2011

गजल - 'मुटु मेरो'

मुटु मेरो भए पनि धड्कन तिमी ठानेको थें ।
मेरो त्याग बुझिदिने जीवन साथि मानेको थें ।
 
रुपवती गुणवती अरुपनी कैयौं थिए
तर पनि तिमी सम्झि आफुलाइ धानेको थें ।
 
झुटो बोल्दै तिमिले त रोजिछौनी अर्कैलाई
इश भाकी मैले चाँही तिमिलाइ छानेको थें ।
 
चन्द्रको'नी दाग हुन्छ त्यसैले त स्वीकारेको
भित्रै देखि मैले सबै तिम्रो खोट जानेको थें ।
 
माया भनि पछ्याएको फसेंछु पो छायाँ भित्र
आउ भनि तिमिलाइ सकेसम्म तानेको थें ।
 
 
आनन्द भट्टराई "गाउँले"

Wednesday, July 13, 2011

कविता - "जीवन"

जीवन !
के हो जीवन ?
'आँशु' हो की 'हाँसो' जीवन ?
'कर्म' हो की 'धर्म' जीवन ?
'उदय' हो की 'अस्त' जीवन ?
अहँ,
यती मात्र हैन ।
आज किन जीवनको परिभासामा अल्झिएँ ?
किन भित्र भित्रै जीवन सँग सल्किएँ ?
वित्यो नी 
साँढे दुई दशक !
आफैले जीवन पाएको ।
तर किन अझै अपरिचित छु म
वास्तविक जीवन देखि ?

Sunday, July 10, 2011

गजल - "कस्तो आयो"

कस्तो आयो जमाना खै!आफैलाई डस्दो छ ।
सत्य छोडी असत्यमा यो दुनियाँ फस्दो छ ।
 
छिटो बढी आखिरमा नुहिएको बाँसझैँ
युवा पुस्ता लक्ष्य विना सुस्ताएर बस्दो छ ।
 
असारको सिमसिमे मङ्सिरको बयेली
बाढी अनी `आँधी बन्दै गाउँ वस्ती पस्दो छ ।
 
लेकबेँसी सजाउँने गुराँस र प्याउली
ओइलिंदै दिनदिनै भुइँभरी खस्दो छ ।
 
हाँसी खेली हुर्किएको मात्रिस्नेह बिर्सेर
राष्ट्रपाले सपुत'नी उल्टै छुरा धस्दो छ ।
 

आनन्द भट्टराई "गाउँले"

Wednesday, July 6, 2011

गजल - "बानि गजबको"


घाम जस्तै चर्की दिने बानि तिम्रो गजबको । 
पानी जस्तै दर्की दिने बानि तिम्रो गजबको । 

गोधुली र प्रभातमा भेट हुँदा दोबाटोमा 
लजाएर लर्किदिने बानि तिम्रो गजबको ।

आवेगमा हुरी जस्तै वहि जाँदा पत्थरमा 
ठोक्किएर फर्की दिने बानि तिम्रो गजबको । 

जल्दा जल्दै आँत मेरो तड्पाएर तिमिलेनै 
फेरि जल छर्की दिने बानी तिम्रो गजबको ।

तिमी भित्र मेरो चन्द्र झलमल्ल लाग्दा पनि 
बोलाउँदा झर्की दिने बानि तिम्रो गजबको । 


आनन्द भट्टराई "गाउँले" 
खोटाङ

Friday, July 1, 2011

गजल - "लेखा छैन"


लेखा छैन आफ्नै मन कति ठाउँ टालेको छु ? 
नक्षत्र ती टिप्न भनि एक लिस्नु हालेको छु । 

फुलाउँन जिन्दगीको खोरिया र घरबारी 
आत्मा साक्षी राखी मेरै पसिनाले गालेको छु । 

अघि बढ्न खोज्दा सधैं आफै भित्र बसि बसि 
अल्झाउँने अल्छी रुपी नागफनी फालेको छु । 

चेतना र सभ्यताको वास्ना छरी सकेसम्म 
अन्यायको चीता मैले दनदनी बालेको छु । 

समेटेर सबैलाई र्हिदयमा राखेपनी 
थाहा छैन आफै भित्र ब्वाँसा कति पालेको छु ? 


आनन्द भट्टराई "गाउँले" 


नोट:- 'घायल'को तरही मुसायरा भाग १७ को आधारमा रचित गजल ।   
     :- "ब्वाँसा" भनेर "डाहा गर्नेहरु"लाई इङ्गित गरिएको छ ।