Sunday, May 29, 2011

गजल - 'ख्याल ख्यालै'

ख्याल ख्यालै यो आँखाको नानी भयौ तिमी आज ।
जवानी यो रुझाउँने पानी भयौ तिमी आज ।

गोरेटोमा सुरु भा'को सुक्ष्म थियो तिम्रो प्रेम
सयौँ जूनी माया दिने दानी भयौ तिमी आज ।

मेरो लागि लोक भन्दा हितकारी गुणकारी
नरित्तिने अनन्त यो खानी भयौ तिमी आज ।

भावनाको कुरा गर्दा लजाएर मुख छोप्थ्यौ
हिंजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज ।

छरिएका नयन यी एकोहोरो पारिकन
यो मनको मझेरिमा रानी भयौ तिमी आज ।

आनन्द भट्टराई "गाउँले"
Note:- Created on the basis of GHAYAL's Tarahi Musayara Part 12.

Tuesday, May 24, 2011

गजल - 'किन ?'


किन मान्छे आफै भित्र खिएर मर्छन ?
किन मान्छे सधैं आँशु पिएर मर्छन ?

सृस्‍टिको यो खुशीलाई नदेखी किन हो
दुखी मन सँग सधैं जिएर मर्छन ?

विधाताको विधान यो बुझेर'नी किन
जिन्दगीमा गर्व मात्रै सिएर मर्छन ?

थाहा छ नी आफ्नै प्राण लिन्छन दैवले
किन फेरि परप्राण लिएर मर्छन ?

दुखाइका दर्दहरु भोगेर'नी सबै
किन फेरि चोट मात्रै दिएर मर्छन ?


आनन्द भट्टराई "गाउँले"

Sunday, May 22, 2011

गजल - 'के को चासो'

तिर्खाएर आँत मेरो जलेपछी के को चासो ।
भञ्ज्याङमा एक्लै पारी छलेपछी के को चासो ।

प्रित रोपी सजाएको फुलबारी डढेपनी
तिम्रो प्रित उतै तिर फलेपछी के को चासो ।

एकान्तमा आँशु झर्दा क्षितिजमा लुक्यौ सधैं
विना साथ यो जिन्दगी ढलेपछी के को चासो ।

तिमी गयौ डाँडा काटी म एक्लै छु डाँडा वारी
सम्बन्धमा शितहुरी चलेपछी के को चासो ।

हेर्दाहेर्दै खुशीहरु रित्तिएर भित्रभित्रै
आँशु बगी पिडाहरु गलेपछी के को चासो ।


आनन्द भट्टराई "गाउँले"

Note :- This creation is created on the basis of GHAYAL's Tarahi Musayara part 11 .

Friday, May 20, 2011

'नेपालमा धार्मिक र जातिय सहिष्णुता'

आज भन्दा निकै समय पहिले नेपालको एकिकरण कर्ता पृथ्वीनारायण शाहले एक दिव्य बोली बोलेका थिए, "नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो" भनेर । तर नेपाल अब यसैमा मात्र सिमित रहेन । यो उक्ती कुन दृष्‍टिकोण र विचारबाट बोलेका थिय ती एक महान राष्ट्र निर्माताले जसले त्यो बेलाको नेपाललाई आजको नेपाल सम्म ल्याइपुर्याउन आफ्नो सम्पुर्ण जिवनकाल युद्दमै समर्पण गरेका थिय । नेपाल अहिले त्यहि अनुरुप अघि बढिरहेको छ तर ठीक विपरित उद्देस्य लिएर अर्थात एकिकरण पूर्वको अवस्था तिर ।
            जात एक पहिचान हो तर विभेदको जड भने हैन । यसलाई आफ्नो परिचय, संस्क्रिती र चिनारीको रुपमा लिनुपर्ने हो । तर यो शताब्दी सम्म आइपुग्दा पनि जातिय मतभिन्नताले नेपालमा गहिरो छाप पारिरहेकै छ जसको अनुययी बन्न छोडेका छैनौ हामि आम् नेपाली । पृथ्वीनारायण शाहले "नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो" भनेर यो अर्थमा भनेका थिएकी उनले विभिन्न भागमा छरिएर रहेका जातिय राज्यहरु जस्तै लिम्बुवान, खुम्बुवान, नेवा, तम्सालिङ इत्यादी सवैलाई एकिकरण गरि एक सिङ्गो नेपालको निर्माण गरेर तत पश्चात सवै जातजाती र अनेकौँ धर्म संस्क्रिती भएका नेपालीहरु अव एक सिङ्गो नेपालमा समावेश भए है भन्ने अर्थ स्वरुप यो उक्ती बोलेका थिए ।
         उसोत एक फुलबारीमा सवै प्रजातिका फूलहरु स्वतन्त्र रुपमा फुल्न पाउँछन र फुल्न सक्छन पनि । तर 'नेपाल' फुलबारिका यी विभिन्न जातका फूलहरु बीच किन यत्रो चरम मतभेद ? जसभित्र एकले छोएको पानी अर्कोलाई चल्दैन । एकको घरमा अर्को पस्न सम्म पनि पाउँदैन । त्यसैले उनले सोचे अनुरुपको नेपाल रहेन अब र त्यस्तो बाटोमा पनि लागेन ।
         वर्तमान अवश्थामा विश्व समुदायबाट हेरेर, सिकेर वा स्व-चिन्तनले पनि अब यस्तो कुपरम्परा त्याग्नु पर्ने बेलामा अझ जातिय विभेद चरम अवस्थामा पुगेको छ । जस अनुरुप विभिन्न जातका देशवासीहरुले आफ्नै जातिय राज्यको माग गरिरहेका छन् । पछिल्लो अवस्थामा राजनैतिक दलहरुले पनि जातको आधारमा नेपाललाई सङ्घियतामा लैजाने मुद्दा उठाएका छन् । यसले झन यो विभेदलाई विकराल अवश्थामा पुर्याउने लगभग निश्चित देखिन्छ । यसको अलवा भौगोलिक वनावटको आधरमा वा अन्य क्षेत्रगत आधारमा सङ्घियतामा परिवर्तन गरि जातलाई शिर्फ आफ्नो चिनारीको रुपमा मात्र प्रयोग गर्नु पर्ने अहिलेका आम् नेपाली र राजनैतिक दलहरुको मुख्य दायित्व भएको छ ।
              यी यावत कुराहरु सवैले बुझ्नु जरुरी छ की जात, धर्म र चलिआएका प्राचिन परम्परा बीच घनिभुत वैचारिक सम्बन्ध स्थापित हुनुपर्छ जसमा सानो र ठुलो वा त्यो जात र यो जात भनि विभेद गरिनुहुन्न ।


आनन्द भट्टराई "गाउँले"