Saturday, June 16, 2012

गजल - "ला'को हैन पिरती..."

प्रेमी :    ला'को हैन पिरती रुपै मात्र हेरेर ।
            जाने हौकी चटक्कै फेरि दिल फेरेर ।

प्रियसी : के भनेको तिमिले? फुट्ने गरि यो मुटु
             माया साँची राख्नेछु पछ्यौरीले बेरेर ।

प्रेमी :      मनको बह पोखाएँ सहयात्री सम्झेर
             दु:ख दियो भन्यौ की व्यर्थै मन केरेर ।

प्रियसी : अजम्बरी माया त हुन्छ यस्तै जोडीमा
              जहाँ बुझ्छन् दुवैले दुवैलाई खेरेर ।

प्रेमी :    ऐले मन अल्झियो चौबन्दीको तुनामा
             भोलि पक्कै आउँछ नियतिले घेरेर ।

प्रियसी: बज्रै किन नपरोस् साँचो माया डग्दैन
            हाँसी हाँसी बाँचौला पिर व्याथा सेरेर ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "खसेछ दुवोमा ..."

खसेछ दुवोमा बिहानीको शीत ।
कुक्कुले गायो तीँ यौटा मिठो गीत ।

दुवोले उघार्यो चिम्लिएको आँखा
अनी त सम्झिएँ तिम्रो मेरो प्रित ।

भो अब खोज्दिन दौलतको खात
नि:स्वार्थ सेवानै प्रकृतिको रीत ।

फुलाऔं मिलेर दौँतरीको फूल
यसैमा हुँदो हो हाम्रो ठुलो जीत ।

छर्लङ्ग यो बुझेँ आफैलाई सोधी
प्राणी र प्रकृति आपसाका हीत ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गीत - "मेरो त जिन्दगी..."

मेरो त जिन्दगी बगरमा सुकेछ ।
मेरो त सूर्य क्षितिजमै लुकेछ ।

म रुनुको यहाँ अर्थ रहेन
म लडें कहाँ कसैले कहेन
आकाश मेरो बादलले पुरै ढाकेको बेला
भौतारिँदैछु जीवनले नेटो काटेको बेला
मेरो त जिन्दगी.......................

कहाँ थें खुसी सागर तर्दा
पिँजडा भित्र जिउँदै मर्दा
वसन्ती पालुवा झरेछ कठै
आगोको ज्वालामा परेर कठै
मेरो त जिन्दगी...................

फूलको बोटमा कुन्नी के पर्‍यो
कोपिला त्यसै नफक्री झर्यो
मक्कियो फेरि धुरीको भाटा
दुखेको घाउ बसेन खाटा

मेरो त जिन्दगी बगरमा सुकेछ ।
मेरो त सूर्य क्षितिजमै लुकेछ ।

आनन्द भट्टराई "गाउँले'
खोटाङ

गजल - 'मन पोल्ने आगो...'

मन पोल्ने आगो आँशुले निभेन ।
कठैबरा तँ कसैले भनेन ।

घाम र जून त धनीलाई भै'गो
म दुखियाको तारानी' झुल्केन ।

आकाश झर्दा धैर्यले धानेथें
अब त खै र यसैले धानेन ।

पौडियो गावै आँशुको भेलमा
दुखाइ मन दयाले वर्सेन ।

देहको भारी बिसाइदे दैव
चाहेर मैले यो आँखा चिम्लेन ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ