Monday, July 15, 2013

गीत - शीशाझैँ फुटेको....


शीशाझैँ फुटेको छ मेरो छुट्टै प्रेम कहानी ।
पात भै झरेको छ मेरो छुट्टै प्रेम कहानी ।

उदायो चाँदनी अस्ताइन् उनी बाचा गरेर
सोचेथें पालुवा ओइलाई त्यसै झर्यो सुकेर
वेदना लेखेको रहेछ मेरो  वियोगी भाग्य
यो गीतै काफी, भैगो लेख्दिन म कुनै काव्य
शीशाझैँ फुटेको.......................................

के जादु थियो र अल्झिन पुगेँ त्यहि फूलमा
विवश भै आज विध्यारानीको दिएँ उपमा
सिर्सिरे वतास आएछ आज झझल्को लिएर
एक थुङ्गा फूल गुमेको पल ती आँशु पिएर
शीशाझैँ फुटेको........................................


आनन्द भट्टराई 'गाउँले'
खोटाङ            

Friday, July 5, 2013

गजल - "मैतालुझैं..."


मैतालुझैं सर्माएर पर्खी बसेँ जुनेलिमा ।
जवानीले तिर्खाएर पर्खी बसेँ जुनेलिमा ।

चन्द्रमाले सोधी रहिन् एक्लै कुर्यौ कस्को लागि?
तै पनि म टोलाएर पर्खी बसेँ जुनेलिमा ।

भुक्तभोगी अरु जोडी आइ बस्दा मेरै सामु
आफैलाई तड्पाएर पर्खी बसेँ जुनेलिमा ।

पियाराको बाटो हेरी नयनले दिक्क मान्दा
उस्को प्यार सम्झाएर पर्खी बसेँ जुनेलिमा ।

ताप धेरै उच्च भयो चाह पग्ली पानी भयो
त्यहि पानी बगाएर पर्खी बसेँ जुनेलिमा ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ   

Sunday, June 30, 2013

गजल - 'दुखिको दु:ख...'


दुखिको दु:ख जान्नेलाई सलाम ।
निर्धाको बिन्ती मान्नेलाई सलाम ।

लेखेर गाथा नेपालको विश्वमा
राष्ट्रको छवि धान्नेलाई सलाम ।

पौरखी बनी लगाएर विवेक
आफैले आर्जि खानेलाई सलाम ।

कथित जात परवाह नगरि
रगत एकै ठान्नेलाई सलाम ।

फूलको बाटो आमालाई सुम्पेर
काँडाको बाटो छान्नेलाई सलाम ।


आनन्द भट्टराई 'गाउँले' 
खोटाङ  

Saturday, June 22, 2013

गजल - "मायालु गइन्..."


मायालु गइन् डाँडै काटेर तिर्सना बाँकी छ ।
खर्कमा बसी पिरती लाको सम्झना बाँकी छ ।

दिएर फेरि खोसेर लग्यो यै समयले
तै पनि अझै त्यो जवानीको बासना बाँकी छ ।

शुन्य थ्यो रात निर्दोसी दिन गल्ति हो मेरै
त्यसैले होला मुटुमा अझै वेदना बाँकी छ ।

बस्तिमा मेरो पुरानै मेघ नहट्दा अझै
पियार गर्दा पाएको मैले लाञ्छना बाँकी छ ।

मौलाएको यो कुरिती हाम्रो म उपरान्त
उखेली फ्याकुँ यो मेरो यौटै चाहना बाँकी छ ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ