Sunday, July 31, 2011

गजल - "किन?"

सधैं मेरो झुपडीमा गीठ्ठा मात्रै पाक्छ किन ?
देखि देखि मेरै पेट मिठो मात्रै माग्छ किन ?

हर दिन पाखुरा यी बजाएर काम गर्छु
फेरि सधैं दुखियाको सुख छेउ लाग्छ किन ?

गरिबीको कुहिरोमा सामन्तीको धुइरोले
मरी मरी बाँचोस् भनी मेरै शीर ताक्छ किन ?

श्रम गर्ने मैले यहाँ फल मिल्छ अर्कोलाई
दैवले'नी मेरै भाग्य अङ्कुशेमा जाक्छ किन ?

आँशु पोखी यो धर्तिमा बाँच्ने चाह छैन अब
बोलाउँछु मृत्‍युलाई फेरि टाढा भाग्छ किन ?

आनन्द भट्टराई "गाउँले"

* मैले वास्तविक जीवनमा देखेका केही मानिसको दु:ख र अरुबाट पाउँने थिचोमिचोको पराकास्टालाई आधार मानी यो गजल लेख्ने प्रयास गरेको हुँ, यध्धपी म जस्तै दु:खमा पनि मेहनत र साहशलाई आत्मसाथ गर्ने मान्छे हुँ ।

Monday, July 25, 2011

गजल - "ए हौ कान्छी'


बस्नु हुन्न भित्र भित्रै आफै जली ए हौ कान्छी ।
भोलि जान्छ आँखै अघि जोवन ढली ए हौ कान्छी ।

चौबन्दीको फेरो तानी टोलाउँदा विरहले
बगी दिन्छ पिरतीको आँशु गली ए हौ कान्छी ।

खुशी दीइ दोर्याएर साथै लीइ जानेलाई
नदेखेझैँ किन हिंड्छौ आँखा छली ए हौ कान्छी ।

प्रित ज्योति दिउँला म अध्यारोमा तिमिलाई
एकनास दियो जस्तै आफै बली ए हौ कान्छी ।

सधैं तिम्रो मौनताले खुल्दुली भै' मन भित्र
लानै आँट्यो उडाएर हुरी चली ए हौ कान्छी ।

आनन्द भट्टराई "गाउँले"

Thursday, July 21, 2011

गजल - "देश कठै!"

कर्तव्यनै भुलेपछी के बन्थ्यो र देश कठै ।
वैरी यहाँ फुलेपछी के बन्थ्यो र देश कठै ।
 
उदाउँदा उन्नतिका रश्मी पनि हेर्दा हेर्दै
क्षितिजमा घुलेपछी के बन्थ्यो र देश कठै ।
 
सेवा भनि आमा लुट्ने वहानाका गृहहरु
यत्रतत्र खुलेपछी के बन्थ्यो र देश कठै ।
 
राष्ट्र हाँक्ने युवाहरु आफु खुशी उन्मादको
निदरीमा झुलेपछी के बन्थ्यो र देश कठै ।
 
पसिनाले माटो सिंची गलाउँनु पर्ने बेला
भजन गाइ डुलेपछी के बन्थ्यो र देश कठै ।
 

आनन्द भट्टराई "गाउँले"

Monday, July 18, 2011

गजल - 'मुटु मेरो'

मुटु मेरो भए पनि धड्कन तिमी ठानेको थें ।
मेरो त्याग बुझिदिने जीवन साथि मानेको थें ।
 
रुपवती गुणवती अरुपनी कैयौं थिए
तर पनि तिमी सम्झि आफुलाइ धानेको थें ।
 
झुटो बोल्दै तिमिले त रोजिछौनी अर्कैलाई
इश भाकी मैले चाँही तिमिलाइ छानेको थें ।
 
चन्द्रको'नी दाग हुन्छ त्यसैले त स्वीकारेको
भित्रै देखि मैले सबै तिम्रो खोट जानेको थें ।
 
माया भनि पछ्याएको फसेंछु पो छायाँ भित्र
आउ भनि तिमिलाइ सकेसम्म तानेको थें ।
 
 
आनन्द भट्टराई "गाउँले"