Sunday, March 31, 2013

गजल 'अझै सम्म..."

अझै सम्म किन हामि जङ्गल भित्रै बाँचीराछौं ।
गन्नलाई मकै गेडी दश औँला भाँचीराछौं ।

समकक्षी मानवले बस्ती सारे चन्द्रलोक
हामि अझै खरबारीको चप्लेटीमै नाचिराछौं ।

धर्मलाई अध्यात्ममा ढाली सक्यो बिज्ञानले 
हामि भने मन्त्र जप्ने संस्क्रितीमै हाँसिराछौं ।

सवै मन सवै तन उस्तै मान्छ दुनियाँले
हामि फेरि हामी भित्रै ठुलो सानो जाँचीराछौं ।

कुरितीले संधै थाप्लो किच्दा पनि किन हामि
जिन्दगीनै हैन जस्तो जिन्दगानी साँचीराछौं ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ 

Sunday, March 3, 2013

गजल - "बगेर आँशु..."

बगेर आँशु आँखामा गाजल नहोला पछि ।
म जस्तो कोहि तिमीमा पागल नहोला पछि ।

इन्दुको अधर छेकेर आउँदा नगर गाली
चाहिले बेला बर्सादी बादल नहोला पछि ।

सोची नहिँडे तिमी रमाउँने पखेरा भरि
गुराँस पैयुँ कट्टुस र काफल नहोला पछि ।

निस्ठुरी बनी छोडेर नजाउ मलाइ एक्लै
यी प्याला पुछ्ने यो न्यानो आँचल नहोला पछि ।

जोगाइ राख मायाका मुना यी भविस्य सम्झि
उकाली चढ्दा छहारी शितल नहोला पछि ।

इन्दु = चन्द्रमा        


आनन्द भट्टराई "गाउँले"
खोटाङ

Saturday, February 23, 2013

गजल - "तिमी बाहेक..."

तिमी बाहेक मनले अरु छान्दैछानेन ।
छोडी जान यो आँखाले मान्दैमानेन ।

जब तिमी मुस्कुरायौ मेरो सामुन्ने
ढुक्ढुकीले गति रोक्न जान्दैजानेन ।

नसा नसा सल्बलायो तिम्रो आकृति
त्यसैले त धैर्यलेनी धान्दैधानेन ।

तिमी भित्रै देखे पछि नील गगन
उडें कहाँ गुरुत्वले तान्दैतानेन ।

गोधुलिमा जब जुध्यो पैलो नजर
यो आत्माले बिरानो हौ ठान्दैठानेन ।



आनन्द भट्टराई 'गाउँले'
खोटाङ        

Sunday, February 17, 2013

गजल - "छाती चर्कियो..."

छाती चर्कियो मध्य रातमा ।
पीडा बल्झियो मध्य रातमा ।

प्रेम नगरी छोडी गयौ की
मेघ गर्जियो मध्य रातमा ।

मन गएछ तिम्रो साथमा
तन याँ थियो मध्य रातमा ।

भइ छट्पटी निद छैन लौ
याद बर्सियो मध्य रातमा ।

कस्तो मोहनी लायौ निस्ठुरी
आँशु झर्दियो मध्य रातमा ।

नगरी = नगर, शहर

आनन्द भट्टराई "गाउँले"
खोटाङ