Tuesday, November 29, 2011

गजल - 'पूर्ण समर्पण...'

पूर्ण समर्पण आज दर्शायो तिम्रो चिठ्ठीले ।
हर्षको प्याला साँच्चै बर्सायो तिम्रो चिठ्ठीले ।
 
विछोडिदाको वेदना खपी दुखेको मेरो
घाइते मुटु सद्दे बनायो तिम्रो चिठ्ठीले ।
 
कोपिला थियौ फुलेछौ ऐले बास्ना फैलाई
कता हो कता उमङ्ग छायो तिम्रो चिठ्ठीले ।
 
जवानी साँची मायाले डाक्दा यो र्हिदयमा
आशाको नयाँ दियो सल्कायो तिम्रो चिठ्ठीले ।
 
आउँछु फर्की सजाइ राख हाम्रो चौतारी
नौलो बिहानी बाटो खुलायो तिम्रो चिठ्ठीले ।
 
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ

गजल - 'प्रभातको आकाशझैँ...'

प्रभातको आकाशझैँ खुलेको छ मेरो जवानी ।
मार्सी धान झुले जस्तै झुलेको छ मेरो जवानी ।
 
धेरै भयो प्रवाशमा फर्की आउ मेरो पियारा
तिमी गा'को क्षितिजमै घुलेको छ मेरो जवानी ।
 
तिमी बिना अपुरो छ रागे ढुङ्गा हाम्रो चौतारी
विरहमै लेक बेंसी डुलेको छ मेरो जवानी ।
 
अध्यारो यो जिन्दगीमा रश्मी बनी आउ चुमेर
उजेलीको रहरमै भुलेको छ मेरो जवानी ।
 
कोपिलामै छाडी गयौ उपरान्त आइ समाल
सयपत्री फुले जस्तै फुलेको छ मेरो जवानी ।
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Sunday, November 27, 2011

गजल - 'प्रयोग बिना...'

प्रगोग बिना सिद्दान्तको पढाई के हुन्छ र ।
कलमको युगमा खुकुरीको लडाइँ के हुन्छ र ।
 
प्रतिपादन गर्नेले नै गरे पछि उल्लङ्घन्
जनतामा प्रणालीको कडाइ के हुन्छ र ।
 
कर्म गरे सुख मिल्ने बिर्सिएर यथार्थ
जन्तु मारी रगत बली चढाइ के हुन्छ र ।
 
यात्रा गर्नु भन्दा पै'ले नतोकिनै गन्तव्य
बेसुरैमा यात्रा अघि बढाइ के हुन्छ र ।
 
अजम्बरी भैसकेको राष्ट्र पाले शहिदको
प्रतिमामा अगरबत्ती डढाइ के हुन्छ र ।
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ
 
नोट:-  घायलको तरही मुसायरा भाग २५ को आधारमा रचित गजल ।

Saturday, November 19, 2011

गजल - "माया बुन्ने शिल्पी हात..."

माया बुन्ने शिल्पी हात माग्या थिएँ तिमीसँग ।
जवानीको थोरै मात माग्या थिएँ तिमीसँग ।
 
सामिप्यमा रहि अब बाँकी यात्रा गरौं भन्दा
"हुन्छ" भन्ने एकै बात माग्या थिएँ तिमीसँग ।
 
हिमालको सेरोफेरो दौँतरीको रस घोली
रमौं भनि तिम्रो साथ माग्या थिएँ तिमीसँग ।
 
बनावटी हाँसो हैन प्रकृतिले सिर्जिएको
चाँदनीको नौलो रात माग्या थिएँ तिमीसँग ।
 
आज एक्लै छोडी जाँदा भन्न बाध्य भएको छु
जिन्दगीमा घातै घात माग्या थिएँ तिमीसँग ।
 
 
आनन्द भट्टराई 'गाउँले'
खोटाङ 
 
नोट:- घायलको तरही मुसायरा भाग २४ को आधारमा रचित गजल ।