Sunday, January 13, 2013

गजल - "मायालुलाई..."

मायालुलाई मायानै शिसार लौ ।
प्रणयमानी' यो कस्तो चित्कार लौ !

रुवाइन् यहाँ भनिछिन् हसाएँ त्याँ
फेरि यो कस्तो पापीको उद्गार लौ !

क्या प्यार दिन्छ सागरले माछीलाई
जे गर्दा पनि उसलाई के भार लौ ।

रुप र राग संयुक्त लतालाई
सुकेको फुस्रो थाँक्रोनै आधार लौ ।

ढुक्ढुकी सम्झि आएँ म भेट्नलाई
बुझ्नु नबुझ्नु यो तिम्रो बिचार लौ ।

आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "दुई दिने बैंशको..."

दुई दिने बैंशको वतासमा रहेछ जिन्दगी ।
हाँस्दा पनि आँशुको आभासमा रहेछ जिन्दगी ।

पन्छाइयो अनेकौं जंजिर र भोकमरीहरू
दु:ख गरि जिएको मिठासमा रहेछ जिन्दगी ।

के सकिन्थ्यो भेट्न यो हत्तपत्त सक्कली रुपमा
धेरै माथी टालेको आकाशमा रहेछ जिन्दगी ।
तरे पनि सागर गरेपनी नौ लाख उन्नति
अन्तत: छोडी जाने निराशमा रहेछ जिन्दगी ।

दौडी दौडी खोजियो बिना गाँस विश्व भुमरिमा
आखिर फुत्त जाने यो सासमा रहेछ जिन्दगी ।


आनन्द भट्टराई "गाउँले"
खोटाङ

गजल - "दशैंमा...."

परदेशी छोरो आओस दशैंमा ।
मालश्री भाका गाओस दशैंमा ।
बर्षौं दिन सम्म रोएको मनले
शान्तिको आभास् पाओस दशैंमा ।
आफन्त जनमा खुलेको कान्तीले
युगौंलाई लाली छाओस दशैंमा ।
यो सन्नाटा चिर्दै सिर्सिरे वतास
सुसेली बनेर धाओस दशैंमा ।
टिका र जमरा सजीइ शिरैमा
अनुरागी नाता लाओस दशैंमा ।
आनन्द भट्टराई "गाउँले"
खोटाङ

Saturday, October 13, 2012

गजल - "घाम जस्तै..."

घाम जस्तै चर्की दिने बानी तिम्रो गजबको ।
पानी जस्तै दर्की दिने बानी तिम्रो गजबको ।

त्यो मनमा मेरो चन्द्र झलमल्ल लाग्दा पनि
बोलाउँदा झर्की दिने बानी तिम्रो गजबको ।

गोधूली र प्रभातमा भेट हुँदा दोबाटोमा
लजाएर लर्की दिने बानी तिम्रो गजबको ।

जल्दा जल्दै आँत मेरो तड्पाएर तिमिलेनै
फेरि जल छर्की दिने बानी तिम्रो गजबको ।

आवेगमा हुरी जस्तै बही जाँदा पत्थरमा
ठोक्किएर फर्की दिने बानी तिम्रो गजबको ।


आनन्द भट्टराई "गाउँले"