Sunday, June 12, 2011

गजल - 'नेपाल आमा'

नेपाल आमा बोल्छिन् उठी मेरो रचनामा ।
सन्ततीलाई बन्छिन् गुठी मेरो रचनामा ।

भोक लाग्दा माटो दिन्छिन् गरि खानलाई
नेपाली माझ आँफै जुटी मेरो रचनामा ।

निरङ्कुशको पक्षपाती पोल्ने राँको बल्दा
शीतल दिन्छिन् वैरी भुटी मेरो रचनामा ।

पानी नपाई धाँजा फाट्दा चैते खडेरिमा
बग्दै आउँछिन् मूल फुटी मेरो रचनामा ।

"गाउँले"माझ मात्रित्वको स्नेह फैलाउन
नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा ।

आनन्द भट्टराई "गाउँले"
खोटाङ
 
नोट:- घायलको तरही मुसायरा श्रिङ्खला भाग १४ को आधारमा रचित गजल ।

Monday, June 6, 2011

गजल - "गोधूलि"

जवानीको वहार बोकी आउँछ गोधूलि ।
शुन्यतामा प्रेमको गीत गाउँछ गोधूलि ।
 
दु:खी दिन विदाइ गरि क्षितिज नाघेर
उमङ्ग यो साथमा लीइ छाउँछ गोधूलि ।
 
हाँसी हाँसी अप्सरा आइ अङ्गाले जसरी
प्रेम रोप्न यो दिल भित्रै साउँछ गोधूलि ।

मधुमय पवन छरी धर्तीका प्राणीमा
चुमी चुमी पिरती सधैं लाउँछ गोधूलि ।

लखेटे'नी रातले सधैं नखाइ हरेस
हाँस्दै फेरि हरेक दिन धाउँछ गोधूलि ।


आनन्द भट्टराई "गाउँले"

Sunday, June 5, 2011

गजल - "फल्दै गा'को"

फल्दै गा'को जनताको क्रान्तिलाई गलाउनु हुन्न ।
सपुतको नेत्रित्वले राष्ट्रियता जलाउनु हुन्न ।
 
देशवासी हेर्दैछन सुशासन उन्नतीको बाटो
स्वाभिमानी नेत्रित्वको आस्थालाई ढलाउनु हुन्न ।
 
पुण्य भूमी हाम्रो देश फले यहाँ सीता बुद्ध धेरै
लत्याएर यस्तो भूमी व्यभिचार फलाउनु हुन्न ।
 
रोपौँ मिली दिगो शान्ति यो राष्ट्रमा रिस राग त्यागी
वन्दुकको खेल खेली रक्त राँको बलाउनु हुन्न ।
 
घर हो यो डाँफे चरी गुराँस र सगरमाथाको
सुन्दरता, वैभवता चिनारी यो छलाउनु हुन्न ।
 
 
आनन्द भट्टराई "गाउँले"
खोटाङ,
 
नोट:- 'घायल'को तरही मुसायरा श्रिङ्खला भाग १३ को आधारमा रचित गजल । 

Thursday, June 2, 2011

गजल - "फूल देख्दा"

फूल देख्दा वगैंचामा भमरा'नि भुल्दो रै'छ ।
प्रियसीको नजरमा जवानी यो फुल्दो रै'छ ।

अविरल छहराझैँ झरिर'ने मायाप्रिती
पवन भै मायालुको वरिपरी डुल्दो रै'छ ।

चाह बोकी पिरतीको उनी आइ सामिप्यमा
चिहाउन खोज्दा पनि दिलको ढोका खुल्दो रै'छ ।

टुसाएका इक्ष्छाहरु उनी सामु पर्‍यो की त
धपक्कै त्यो चन्द्रमुखी अधरमा घुल्दो रै'छ ।

कस्तो हो यो माया भन्ने? वेमौसमी बाली जस्तो
बार्हैमास पाकेसरी लहलह झुल्दो रै'छ ।


आनन्द भट्टराई "गाउँले"